Tue, 21st Nov 2017

खै अभिभावक?

हाम्रा शासक जनमुखी र राष्ट्रमुखी बन्न सकिरहेका छैनन् । नागरिकहरु यतिबेला एक कुशल, कर्मठ अनि आँटिलो अभिभावक खोजिरहेका छन् ।

श्रीकृष्ण सुवेदी | Published on 2016-12-19 |

नेपाल विश्वको एउटा आकर्षणको केन्द्र । हिमशृङ्खलाहरुको देश, जलस्रोत र प्राकृतिक स्रोतले भरिभराउ देश । सर्वोच्च शिखर सगरमाथासँगै शान्तिदूत गौतम बुद्ध जन्मिएको देश । सीता, भृकुटी, अंशुवर्मा जस्ता अनेकन विभूतिहरु जन्माउने देश । आफ्नो ईतिहास लेख्ने सपुतसँगै अरुको ईतिहास लेख्ने र मेटाउने वीर, विराङ्गनाहरुको गाथा बोकेको देश । बलभद्र कुँवर, भक्ति थापा, कालु पाँडे जस्ता हजारौँ योद्धाको परिश्रम, रगतबाट अविभाज्य र सार्वभौम कहलिएको एउटा सुन्दर र शान्त देश । तर विडम्बना मान्नुपर्छ, हिजोका ती उपमा अहिले नासिन थालेका छन् ।

बेतिथि, अराजकता, भ्रष्टाचार र समस्यै समस्या बढीरहेका छन् । आम नागरिकहरुमा निराशा, महङ्गी, अभाव जस्ता समस्या सामान्य बन्न थालेका छन् । लाग्छ देशले अभिभावक पाएको छैन वा देशको अभिभावक नै नागरिक मैत्री छैन । आम जनमानसमा अभिभावकको अभाव खड्केको छ ।

देशमा समस्याको चाङ दिन प्रतिदिन बढिरहेको छ । खानेपानीको हाहाकार बढ्दो छ  । देशको आधा भू–भागमा बिजुली बत्तीको पोल र तार नै पुगेको छैन । बिजुलीको पहुँच पाएकाहरु पनि बर्षेनी बढ्ने लोडसेडिङका कारण समस्यामा छन् । उद्योग, कलकारखानाको उत्पादनमा ह्रास देखिँदा देशको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । कलकारखाना विकास र विस्तार हुनुपर्ने समयमा यो क्रम उल्टो गतिमा छ । एकातिर लगानीका लागि सोचे जस्तो वातावरण नहुनु, अर्कोतिर राजनीतिक संगठनको अराजकताले उद्योग र लगानी पलयनको खतरा बढाएको छ । मजदुरको हक अधिकारका लागि भन्दै खडा भएका युनियनहरु सिमित स्वार्थमा केन्द्रित हुँदा मजदुरले भोग्दै आएको समस्या झन् विकराल छ । देशका सहरहरुमा बेरोजगार युवा भौँतारिने दर दिन प्रतिदिन बढ्दो छ ।

शान्तिको देश आफै आक्रान्त र अशान्त मात्रै छैन सुरक्षाको दृष्टिकोणमा पनि कमजोर अवस्थामा छ । चेलीहरु विदेशमा बेचिने क्रम रोकिएको छैन । यति मात्रै होईन वृद्ध महिला देखी बालिकाहरुसम्म असुरक्षित बनेका छन् । हिंसाका घटना बढ्दै गर्दा अभिभावक कहाँ छ ? भनेर प्रश्न गरिरहेका छन् आम नागरिकले । कस्तो विडम्बना, दिन दहाडै देशको राजधानीमा किशोरीमाथि एसिड फालिन्छ, व्यवसायी माथि गोली प्रहार हुन्छ । राहत र आधारभूत सुविधा समेत नपाएका भूकम्प पीडितलाई अस्थायी बासको आश्वासन फालिन्छ । अनि गुमनाम बन्छ अभिभावक । यस्तै यस्तै छ देश ।

प्रकोप आइपर्दा सामान्य खाना र बासस्थान समेत पाउन सक्दैनन् नागरिकले अनि सरकार भन्छ– उल्टै पीडितले सहयोग नै गरेनन् । के यहि हो अभिभावकले दिने अभिभावकत्व ? एउटा कुशल अभिभावक त्यो हुन्छ, जसले आफ्ना सन्तानको लालन पालन गर्छ । अनि उनीहरुलाई सुखसुविधा दिन्छ । यो भयो परिवारको कुरा । ठीक त्यस्तै हो सरकार र उसको काम पनि । देश र जनताको एउटा कुशल अभिभावक हुनुपर्छ सरकार । तर हाम्रो अभिभावक अभिभावक जस्तो छैन । उसलाई आफ्ना सन्तान भनौँ वा जनताको कुनै मतलब नै छैन । जनताका लागि राहत र सहुलियत दिने कसम खाएर सिंहदरबारको कुर्सीमा विराजमान भएको सरकारले अभिभावकत्व निभाउन चाहेन वा जरुरी ठानेन । यसैकारण अहिले देशभर बेथिति मौलाएको छ । गरिबभित्र चरम गरिबी बढ्दो छ । गरिखाने वर्ग महङ्गी र अभावका कारण पेट खाली राखेर वा छाक कटाएर ज्यान बचाउनुपर्ने अवस्थामा छ । कुलिन र सामन्त वर्गको रजाईँको सीमा छैन । उनीहरु सर्वहारा वर्गको श्रम शोषण गरेर शासकलाई आफु अनुकुल बनाउने काममा तल्लीन छन् ।

देशभर सरकारी पदको दुरुपयोग गरेर, भ्रष्टाचार गरेर अकुत कमाउनेहरुको सङ्ख्या बढ्दो छ । देशका कर्णधार मानिने लाखौँ युवा निराशाको भारी बोकेर विदेशमा श्रम बेच्न बाध्य छन् । उत्पादनशील श्रम विदेशीने क्रम रोकिएको छैन । शिक्षा लिने नाममा होस् वा केही पैसा कमाउने लालचामा दिनहुँ करिब १५ सय नेपाली बाहिरिँदैछन् ।

हुन त, सरकार आफै पनि स्वीकार गरिरहेको छ देशमा भ्रष्टाचार बढ्यो, जनताले राहत र सहुलियत पाउन सकेनन्, भूकम्पले पुर्‍याएको पीडामा मल्हम लगाउन सकिएन । यो कस्तो बिडम्बना ? देश र जनताको अभिभावक, उसैको हातमा कानुन कार्यान्वयनको डाडु-पन्यू छ । उसले आवश्यकता ठानेको जुनसुकै गलत मान्छेलाई कानुनी दायरामा ल्याउन सक्छ । तर ऊ कानुनी राज्य र विधिको शासन कार्यान्वयन गर्न खुट्टा कमाइरहेको छ । देश र जनतालाई नेतृत्व दिन्छु भनेको अभिभावक आफै कमजोर हुँदाको पीडा आम नागरिकले भोगिरहेका छन् । देशको अभिभावकत्व पाएका व्यक्तिलाई नागरिक र सिंगो देशको पीडा थाहा हुनु नै पर्ने हो । तर जनस्तरको पीडा सुन्न चाहेजस्तो देखिएको छैन ।

बेलाबखत सिंहदरबार र बालुवाटारबाट बाहिर निस्कँदा नागरिकले भोगेको पीडा देखेर हो वा बोलीमै सही नागरिकलाई सेवा र सुविधा दिने कुरामा प्रतिबद्ध छौं भन्ने आश्वासन आउँछ । देशलाई शान्ति, स्थायित्व र विकासको गति दिनु प्राथमिकताको विषय भएको भन्ने सुन्न पाइन्छ । तर व्यवहारमा निकास र विकास दिन उद्धत देखिएको छैन । त्यसको बदलामा समस्या र अभाव बढिरहेको छ । के यही हो नागरिक र देशले चाहेको अभिभावक ?

नागरिकले त यस्तो अभिभावक चाहेका छन् जसले देशलाई सम्मृद्ध बनाओस्, जनतालाई राहत र सहुलियत दिलाओस्, अनि बढ्दो भ्रष्टाचार, अनियमितता, कालोबजारी रोक्न सफल होस् । दिगो शान्ति सहित समृद्ध बनाउन सकोस् तर यो चाहना अझसम्म पुरा भएको छैन । यो चाहना अहिले भर्खरै गरिएको चाहना पनि होइन । बारम्बार फरक–फरक दल र तीनका फरक नेताले पाएको पपुलर भोटबाट पनि यो प्रष्ट हुन्छ । पार्टी राजनीतिमा रहँदासम्म देश र जनताका लागि के–के न गर्छु भन्ने नेता सत्तामा पुगेपछि पार्टी घेराबन्दीमै हराउने गरेको दृष्टान्त हाम्रो अघि ताजै छ ।

पार्टीको नेता बन्दा कार्यकर्ता र पार्टी सदस्यको प्यारो बन्ने ध्याउन्नमा लाग्नु स्वभाविक पनि हो तर देशको नेता वा अभिभावक बन्दा पनि अधिकांश नेताहरु पार्टी, कार्यकर्ता र गुटको अभिभावक भन्दा माथि उठ्न सकेका छैनन् । पुरातन मानसिकताले उनीहरुलाई अल्मलाएको छ । आफन्तको नियुक्ति, कार्यकर्ताको भर्ती केन्द्र बनेको छ देश । मन्त्रीहरुले खुलेआम पदीय दुरुपयोग गरिरहेका छन् । मन्त्रि पदमा बहाल रहँदै जेपी गुप्ता जेलसम्म पुग्नु, मन्त्री हुँदा पदीय दुरुपयोग गरेको र अकुत कमाएका कारण श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, चिरञ्जिवी वाग्ले लगायतले जेलनेल भोग्नु पनि राजनीति भित्रको गलत प्रवृत्ति हो । यस्ता व्यक्ति र प्रवृत्तिले नागरिकलाई राजनीति प्रति सशङ्कित बनाएको छ ।

पदीय दुरुपयोग, राम्रा भन्दा हाम्रा छान्ने संस्कार र नातावाद तथा कृपावादमा रमाउनु शासकको प्रवृत्ति बनेको छ । यस्ता उदाहरण खोज्न कतै टाढा पनि जानु पर्दैन । राजदुत, संवैधानिक अंगका पदाधिकारी लगायतका नियुक्ति प्रक्रियामा हुने भागबण्डा नै पर्याप्त छन् । यस्ता नियुक्तिमा देखा पर्ने दलीय झगडा अनि तेरो र मेरो भन्दै गरिने व्यक्ति तानातानले नेताको व्यवहार प्रस्ट्याउँछ । शक्ति र पहुँचको पूजा गर्ने राजनीतिक संस्कार विकास हुदैछ । निष्ठा र जनमुखी राजनीति गर्नेहरु ओझेलमा परेका छन् ।

अहिले देखिएका घटनाक्रम, शासकका प्रवृत्ति र जनमानसमा बढ्दै गरेको निराशाबाट प्रष्ट हुन्छ, देशले गति गुमाएको छ । सन्तुलन गुमाउने क्रममा छ, देश । तर शासकलाई देश र जनताको चाहना र भावनाको सम्बोधन गर्ने फुर्सद छैन । शासकहरु कुर्सी, आफन्त र कार्यकर्ताको मोह जालमा फसेका छन् ।

एउटा असल नागरिकले आफ्नो अभिभावक प्रतिभावान र नेतृत्व गर्न सक्ने होस् भन्ने चाहन्छ । देशलाई स्थायित्व निकास र विकास दिने हैसियत र आँट भएको नेतृत्व चाहन्छ । तर यो जनचाहनाको सम्बोधन अहिलेसम्म हुन सकेको छैन । हाम्रा शासक जनमुखी र राष्ट्रमुखी बन्न सकिरहेका छैनन् ।

एक सार्वभौम देशका नागरिक भएर पनि हामी चाहेजस्तो अभिभावक नभएको देशमा छौँ । नागरिकहरु यतिबेला एक कुशल, कर्मठ अनि आँटिलो अभिभावक खोजिरहेका छन् । सबैको चाहना र भावना एउटै छ, स्थायी शान्ति कायम होस्, देशले विकासको गति चुमोस्, नागरिकमा अमनचयन र अभिभावकको न्यायो माया होस् !

***


© People to People Media 2016. All rights reserved.