Mon, 10th Dec 2018

'जीवनको सुगन्ध कर्म गर्दै जाँदा चिनिन्छ'

लेखक आफ्ना पात्रको एम्पाएर हो । पात्रलाई उपन्यासको मैदानमा अनुशासित बनाएर खेलाउनु लेखकको कर्तव्य हो ।

अमर न्यौपाने, आख्यानकार | Published on 2016-12-21 |

नेपाल अहिले बेरोजगारको मारमा परेको छ । डिग्री हासिल गरेका हजारौँ युवा विदेशमा अदक्ष कामदार हुनुपरेको छ । यसको कारण नेपालको शिक्षा प्रणाली व्यावहारिक नहुनु नै हो । जसले हामीलाई कक्षामा मात्रै पास हुन सिकाइरहेको छ, हामी जीवनमा नै फेल भइरहेका छौँ । विद्यालयी शिक्षा प्राप्त गर्ने हजारौ युवामध्ये केही मात्रै दक्ष भएर निस्कन्छन्,जसले आफ्नो क्षमता समयमै चिन्छन् । थोरैले मात्रै आफुलाई आफ्नो बिना चिन्ने कस्तुरीको श्रेणीमा राख्न सफल हुन्छन् । हामीले यस्तै एक कस्तूरीसँग कुरा गरेका छौँ । जसले समयमै आफ्नो बिना चिने।आफ्नो सिर्जना र सोचले नेपाली साहित्यमा स्थापित भए । मदन पुरस्कार विजेता अमर न्यौपानेको 'करोडौँ कस्तुरी'तेस्रो उपन्यास हो । ‘सेतो धरती’ (२०६८), ‘पानीको घाम’ (२०६६ उपन्यास) र ‘कलिलो मन’ (२०६७ बालकथासङ्ग्रह) उनका प्रकाशित कृतिहरु हुन् । 

प्रस्तुत छ, यसै उपन्यासमा केन्द्रित भएर हाम्रा सहकर्मीले गरेको कुराकानीको सम्पादित अंश:

करोडौँ कस्तूरी लेख्ने सोच कसरी आयो?

आफू विद्यार्थी हुँदा मैले आफूलाई ध्यान नै दिएको थिइनँ  । जब म शिक्षक भएँ तब मैले विद्यार्थीहरूलाई खुब ध्यान दिन थालेँ ।मनमा अनेक प्रश्न उठ्न थाले । स्कुल जाँदै गर्दा विद्यार्थीका पैताला किन गह्रुँगा हुन्छन् ? स्कुलबाट फर्कंदा किन हलुका हुन्छन् ? छुट्टी भएपछि स्कुलको गेटबाट निस्कँदा किन विद्यार्थीहरू भेडाबाख्रा खोरबाट निस्केझैँ खुसीले हतारिँदै निस्कन्छन् ? जेलबाट मुक्त भएको कैदी झैँ किन खुसी देखिन्छन् ?

विद्यार्थीको मात्र हैन स्कुल जाँदै गरेका शिक्षकको पनि लगभग यस्तै अवस्था देखेँ । किन शिक्षक स्कुल जाने दिन हैन, नजाने दिन गनेर बस्छन्, क्यालेन्डरमा ? जाँगरले नभई जागिरले मात्र स्कुलतर्फ डोरिन किन बाध्य छन् शिक्षकका पाइला ? फरकफरक अनुहार र औँठाछाप भएका विद्यार्थीहरूलाई एउटै साँचोमा हालेर किन मूल्याङ्कन गरिन्छ ? यी र यस्तै अनेकौँ प्रश्नको उत्तर खोज्न थालेँ । यही सिलसिलामा करोडौँ कस्तूरी लेख्ने सोच आयो ।

करोडौं कस्तूरी भनेर कसलाई सम्बोधन गर्नुभएको हो र किन ?

वनको कस्तूरी, जो आफ्नै नाभीमा भएको बिनाको सुगन्ध पनि कहाँबाट आयो भन्ने थाहा नपाएर फूलबाट आयो कि पातबाट आयो, माटोबाट आयो कि पानीबाट आयो भनेर खोज्दै भौँतारिइरहन्छ । कहाँबाट सुगन्ध आएको हो भन्ने थाहा नपाएरै कस्तूरी मर्छ । तर, मानिस त्यस्तो कस्तूरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्दछ । क्षमता राख्राराख्दै पनि करोडौं कस्तूरी आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मरे । करोडौँ कस्तूरी, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर बाँचिरहेछन् । करोडौँ कस्तूरी, जो आफ्नो जीवनको सुगन्ध थाहा पाएर पनि निष्कृय जीवन बाँचिरहेछन् । केही कस्तूरी, जसले आफ्नो जीवनको सुगन्ध बेलैमा थाहा पाए र त्यसलाई व्यवहारमा ल्याए । तिनकै सोच र सिर्जना, विचार र आविष्कारले संसार र संसारका मानिसहरूलाई चलाइरहेछ । त्यसैले आफ्नो जीवनको सुगन्ध थाहा नपाउने र पाए पनि निष्कृय जीवन बिताउनेहरू करोडौं कस्तूरी हुन् । आफ्नो जीवनको सुगन्ध थाहा पाएर त्यसलाई व्यवहारमा ल्याउनेहरू केही कस्तूरी हुन् । तिनै आफ्नो जीवनको सुगन्ध थाहा नपाएका र थाहा पाए पनि निष्कृय जीवन बिताइरहेकाहरूलाई नै करोडौं कस्तूरी भनेर सम्बोधन गरेको हुँ । करोडौं कस्तूरीले आफ्नो जीवनको सुगन्ध थाहा पाउन सघाउला कि भनेर । विशेषगरी विद्यार्थीहरूलाई ।

यस्ता करोडौँ कस्तूरीलाई आफनो बिना चिनाउन के गर्न सकिन्छ ? बिना चिन्न नसक्नु उनीहरु स्वयंको कमजोरी हो कि ?

आफ्नो जीवनको सुगन्ध कर्म गर्दै जाँदा आफै चिनिन्छ । आफूमा सबैभन्दा चरम इच्छा केमा छ ? त्यो इच्छा मौसमी हो या सदाबहार छ ? यदि आफूमा रहेको इच्छा मौसमी या क्षणिक होइन भने त्यो चरम इच्छा बिना हो, कस्तूरी हो, आफ्नो जीवनको सुगन्ध हो । चिन्न नसक्नु या चिनेर पनि निष्कृय रहनु स्वयम् आफ्नै कमजोरी हो ।

हरिवंश आचार्यलाई नै उपन्यासको पात्र बनाउनुको कारण ?

कलाकार हरिवंश आचार्य करोडौँ कस्तूरीका पात्र होइनन्, छायाँ पात्र हुन् । छायाँको कुनै रङ्ग हुँदैन । जस्तो रङ्गको फूलको छाया पनि कालै हुन्छ । गोरो मानिसको छाया गोरो र कालो मानिसको छाया कालो हुँदैन । करोडौँ कस्तूरी छायाँ हरिवंशको कथा हो । कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएको भए के हुन्थे होलान् भनेर गरिएको एउटा स्वैरकल्पना । कलाकार हरिवंश आचार्य पढाइमा सफल भएनन् तर जीवनमा सफल भए । कक्षामा सफल हुनु असल कुरा हो तर कक्षामा सफल हुनुभन्दा जीवनमा सफल हुनु ठूलो कुरा हो । अरूले दिइसकेका उत्तर दिएर कक्षामा पास भइन्छ ।कसैले दिन नसकेको उत्तर दिए जीवनमा पास भइन्छ । यसैलाई भनिन्छ सिर्जनशीलता । शिक्षाभन्दा सिर्जनशीलता ठूलो कुरा हो भनेर देखाउन कलाकार हरिवंश आचार्य नै सबै भन्दा उपयुक्त पात्रविम्व लाग्यो ।

नेपालको शैक्षिक प्रणालीलाई व्यावहारिक बनाउन के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई ?

यो प्रश्नको उत्तरमा त एउटा किताबै बन्छ । व्यावहारिक शिक्षाका लागि व्यावहारिक शैक्षिक प्रणाली नै चाहिन्छ । शिक्षा जबर्जस्ती लादिनु हुँदैन । आवश्यकता अनुसारको शिक्षा हुनुपर्छ । संसारमा जतिपनि मानिस सफल भएका छन्, आफ्नै इच्छाका कारण भएका छन् । तर, यसमा महत्वपूर्ण भूमिका शैक्षिक योजना बनाउनेको हुन्छ । त्यसपछि शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीको ।

यस उपन्यासमा पात्रमाथि अति नियन्त्रण गरियो, धेरै सिनेमाटिक भयो भन्नेहरुलाईके भन्नुहुन्छ ?

पात्रलाई नियन्त्रण त गर्नु नै पर्‍यो नि । लेखक आफ्ना पात्रको एम्पाएर हो । पात्रलाई उपन्यासको मैदानमा अनुशासित बनाएर खेलाउनु लेखकको कर्तव्य हो । केही सिनेमाटिक पनि छ । यसको कारण, मैले रोजेको मुख्य पात्र नै सिनेमाको भएर पनि होला ।

तपार्इँ आफुलाई चाहिँ केही कस्तूरीमा राख्नुहुन्छ कि करोडौँमा ?

केही कस्तूरी हुने प्रयासमा लागेको करोडौँ कस्तूरी हुँ म ।

वास्तवमा तपाईँले उठाएको विषय हाम्रो वर्तमान शैक्षिक प्रणाली र यसले उब्जाएका सामाजिक संस्कारको नकारात्मक असर सम्बन्धी छन् । परिवर्तनको सुरुवात कसले गर्ने ?

सुरुवात नीतिबाटै हुनुपर्छ । केही शैक्षिक संस्थाले प्रयासको थालनी गरेका पनि छन् ।

किताबी ज्ञान नभए पनि हुनेजस्तो कुरा गर्नुभयो । आफ्नो क्षमता चिन्नेले त्यही अनुरुप काम गर्न थाले भैहाल्यो नि हैन ?

मैले इच्छा र आवश्यकता अनुसारको शिक्षा मात्र भनेको हो । करोडौँ कस्तूरीभन्दा फरक केही कस्तूरी बन्न झन् धेरै किताब पढ्नुपर्छ । किता भन्दा धेरै जीवन र जगत पढ्नुपर्छ । जीवन र जगत् भन्दा धेरै आफूलाई पढ्नुपर्छ । यति मात्र भनेको हुँ — कक्षाकोठाको आकाशमा सय या दुई सय वाटका बल्ब हुन्छन्, बाहिरको आकाशमा सूर्य । करोडौँ कस्तूरीको उद्देश्य नपढ्नु भन्ने होइन, पढनु खुब पढ्नू । आफ्नो जीवनको सुगन्ध चिनेर पढ्नु । आफुभित्रको कस्तूरी चिनेर पढ्नु ।

***


© People to People Media 2016. All rights reserved.