Fri, 17th Aug 2018

पीएसटीडी (PTSD) को बारेमा जानिराखौं

पीएसटीडी विपतपछि मानिसमा देखिने उक्त घटनासँग सम्बन्धित समस्या हो ।

आशीष काफ्ले | Published on 2016-12-21 |

मानिस एक सामाजिक प्राणी हो । त्यसैले मानिसको मन र समाजबीच गहिरो अन्तर सम्बन्ध हुन्छ । समाजमा घट्ने विभिन्न प्रकारका नकारात्मक घटनाहरु जस्तैः चोरी, लुटपाट, हत्या, बलात्कार जस्ता आपराधिक क्रियाकलाप र बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपतले मानिसको मनमा नकरात्मक असरहरु पार्दछ । त्यस्ता असरहरु मध्ये Post-traumatic Stress Disorder (PTSD) पनि एक हो ।

नेपालमा विक्रम संवत् २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले धेरै धनजनको क्षती गर्‍यो । यस्तै साझा वा अरु निजी विपतपछि मानिसमा देखिने उक्त घटनासँग सम्बन्धित समस्यालाई PTSD भन्न सकिन्छ । मानिसलाई विपतको बेलामा प्रत्यक्ष असर परेको छ वा सो बारेमा विभिन्न माध्यमबाट देखेको वा सुनेको छ भने PTSD सम्बन्धि लक्षणहरु देख्न सकिन्छ ।

PTSD का लक्षणहरुः

PTSD का लक्षणहरुलाई तीन भागमा विभाजन गर्न सकिन्छ, जस्तैः पुनः भोगाइका लक्षणहरु, घटनाका बारेमा बिर्सन चाहने (Avoidance) का लक्षणहरु र घटना फेरि घट्छ कि भन्ने डरले देखिने शारीरिक वा व्यवहारिक लक्षणहरु ।

१) पुनः भोगाइका लक्षणहरु – (घटना फेरी भइरहेको अनभूति)

  • सचेत अवस्थामा (ननिदाएको बेला) आँखा अगाडी झलझली आघातपूर्ण घटना आउनु ।  जसलाई Flashback भनिन्छ ।
  • डरलाग्दो सपना देख्नु जसले गर्दा निन्द्रामा गडबडी हुनु, जसलाई Nightmare भनिन्छ ।
  • आघातपूर्ण घटनासँग सम्बन्धित नकारात्मक सोचहरु बारम्बार आइरहनु

२) घटनाको बारेमा बिर्सन चाहने, (Avoidance)सम्बन्धी लक्षणहरुः

  • घटनाको बारेमा वा घटनाको कुनै निश्चित पक्षको बारेमा सम्झन गाह्रो हुनु वा नसक्नु
  • घटना भएको ठाउँ वा घटनाको सम्झना गराउने ठाउँहरुमा जान डराउनु र जान छोड्नु
  • घटनाको विषयमा कुरा गर्दा गाह्रो हुने भएकाले घटना सम्बन्धी कुरा गर्न नचाहनु
  • घटना सम्बन्धी सम्झना दिलाउने कुराको सामना गर्न नपरोस् भनेर आफ्नो दैनिक क्रियाकलापमा परिवर्तन गर्नु
  • दैनिक क्रियाकलाप वा घटनापूर्व मनोरञ्जन प्रदान गर्ने कुरामा रुचि कम हुँदै आउनु

३) शारीरिक वा व्यवहारिक लक्षणहरुः (घटना फेरी घट्छ कि भन्ने डरले देखिने लक्षणहरु)

  • बेलाबेलामा सानो कुराले पनि झस्कने वा तर्सने
  • घटना फेरी घट्छ कि भनी धेरै र अनावश्यक रुपमा चनाखो हुने
  • एकाग्रतामा कमी आउनु र स्मरण शक्तिमा पनि ह्रास आउँदै जानु
  • बिना कारण छटपटी भईरहनु

माथी उल्लेखित लक्षणहरु मध्ये आघातपूर्ण घटना पछिको १ वा २ महिना सम्म केही लक्षणहरु देखिनु मानिसको आघात र विपत प्रतिको सामान्य प्रतिक्रिया हो । यसमा चिन्ता लिनुपर्ने र आत्तिनु पर्ने कुरा छैन । तर, यदि माथि उल्लिखित पुनः भोगाइका लक्षणहरु मध्ये कुनै एक लक्षण, घटनाको बारेमा बिर्सन चाहने लक्षणहरु मध्ये कुनै तीन लक्षण र शारीरिक वा व्यावहारिक लक्षणहरु मध्ये कुनै २ लक्षण एक महिनाको अवधि भन्दा बढी समय सम्म देखा परिरह्यो र यसले दैनिक जीवन र क्रियाकलापमा असर पारेको छ भने सजग हुनु जरुरी छ । यस्तो अवस्थामा PTSD भएको हुन सक्छ ।

PTSD भएकोमा वा भएको शङ्का लागेमा अत्तालिनु पर्दैन । यो उपचार सम्भव भएको र निको हुने मनोसामाजिक समस्या हो । यसका लागि तुरुन्त औषधि सेवन गरिहाल्न पनि आवश्यक छैन । यदि समयमै यसबारे सजग हुन सकेमा र समयमै मनोसामाजिक मनोविमर्शकर्तालाई देखाएमा यो समस्या निको हुन्छ ।

मनोसामाजिक मनोविमर्शकर्तासँग गरेका सबै कुरा एकदम गोपनीय हुने भएकाले, तपाईँले ढुक्कसँग मनोसामाजिक मनोविमर्शकर्ताको सेवा लिन सक्नु हुन्छ । यदि तपाईँको परिवारमा, साथीभाइ वा समाजमा यस्तो समस्या छ वा अरु कुनै मानसिक समस्या देखा परेमा मनोसामाजिक मनोविमर्शकर्तालाई सम्पर्क गर्न सक्नु हुनेछ ।

प्राकृतिक प्रकोपले जन धनको ठूलो क्षति त गर्दछ नै त्यसको साथसाथै धेरै मानसिक क्षति पनि गर्दछ । दैवीक प्रकोपको वेलामा जनधनको क्षति भएका मानिसलाई मात्र नभई जनधनको क्षति नभएका मानिसहरुमा पनि विभिन्न प्रकारका मानसिक समस्या उत्पन्न हुन सक्दछन् । सन् २००४ मा टर्कीमा गरिएको भूकम्प पश्चात् देखिने एत्क्म्  र डिप्रेशन सम्बन्धी समस्याको सर्वेक्षण, सन् २००५ मा कटरिना समुन्द्री आँधीपछि अमेरिकामा गरिएको सर्वेक्षण जस्ता विभिन्न देशमा गरिएका अन्य सर्वेक्षणले पनि यो कुराको पुष्टि गर्दछन् । त्यसकारण नेपालका सरकारी तथा गैर सरकारी निकायहरुले भौतिक सहयोगका साथ साथै मानसिक सहयोग र मनोविमर्श सेवा उपलब्ध गराउनु निकै जरुरी देखिन्छ ।

भूकम्पबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पीडित व्यक्तिहरुका लागि सरल र सुलभ रुपमा मानसिक स्वास्थ्य सेवा उपलबध गराउनु अहिलेको आवश्यकता रहेको छ । नेपाली समाजमा रहेको मानसिक रोगप्रतिको नकारात्मक दृष्टिकोण परिवर्तन गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरी मानिसहरुलाई सहज ढङ्गबाट मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउनमा सरकारी तथा गैर सरकारी संस्थाहरुले सक्रिय रुपमा कार्यक्रम सञ्चालन गर्नु पर्दछ । यसैगरी स्वयं समस्यामा परेका व्यक्तिहरु पनि नहिचकिचाइसेवा लिन तत्पर हुनु जरुरी छ ।

यदि अहिलेको विपत पछिको घडीमा मानसिक स्वास्थ्यप्रति सजग हुन सकिएन भने आउने दिनहरुमा मानसिक समस्याले विकराल रुप लिन सक्दछ । यसले व्यक्ति विशेषलाइ मात्र नभई सिङ्गो राष्ट्रलाई नै असर पार्न सक्दछ । स्वस्थ नागरिक नै देश विकासको मूल आधार हुन् र पूर्ण स्वस्थ्यको लागी मानसिक स्वास्थ्यलाई कुनै हालतमा पनि अवहेलना गर्न मिल्दैन । भूकम्पपछि भौतिक र शारीरिक पुनः निर्माणका साथै मनोसामाजिक पुनः निर्माण गर्नु पर्ने आवश्यकता आईपरेको छ । हामी सबै मिली यस विषयमा सचेतना फैलाई कार्य गर्नुपर्ने अहिलेको समयको माग रहेको छ ।

(मनोसामाजिक मनोविमर्शकर्ता काफ्ले दुःख निवारण गुठी (The Relief Trust) मा आबद्ध छन्)

***


© People to People Media 2016. All rights reserved.