Mon, 25th Sep 2017

ज्यापु संस्कृति र ज्यापु दिवस

ज्यापु नेपालका आदिवासी जनजाति हुन् । उनीहरुले मूलतः खेतीकिसानीको काम गर्दै आएको पाइन्छ ।

चाहना डंगोल | Published on 2016-12-23 |

नेपाल विविध जातजाति, रीतिरिवाज, संस्कार र संस्कृतिले भरिपूर्ण मुलुक हो । नेपाल एकीकरणपछि पृथ्वी नारायण शाहले नेपाललाई चार वर्ण र छत्तीस जातको संज्ञा दिएका थिए । ती सबै जातजाति मध्ये नेवार जातिको संस्कार र संस्कृतिले पनि नेपाललाई सांस्कृतिक मुलुकको परिचय दिन सहयोग पुर्‍याएको छ । नेवार जातिभित्र विभिन्न संस्कार र संस्कृतिको परिचय दिएर यस जातिको जगेर्ना गर्ने काम ज्यापु समुदायबाट भइरहेको छ ।

ज्यापु पवित्रताको नमुना हो । नेवार भित्र पर्ने विभिन्न जाति र वर्गमध्ये ज्यापु चोखो जातको रुपमा पनि परिचित छ । यसैकारण पनि नेवार समुदायको हरेक जात्रामा ज्यापु जातिको उपस्थिति हुन्छ । धिमे बाजाको तालमा जात्राको रौनक नै बेग्लै हुन्छ । त्यसमाथि हाकु पतासि र ज्यापु लं (ज्यापु लुगा) ले नेवारीपनमा अझ सुनमा सुगन्ध महसुस गराउँछ ।

ज्यापु जातिको इतिहास खोतल्ने हो भने उनीहरु नेपालको आदिवासी जनजाति हुन् । नेपाल मण्डलमा आदिवासी ज्यापुहरुले मूलतः खेतीकिसानीको काम गर्दै आइरहेको पाइन्छ । नेपाल राज्यमा परम्परागत रुपमा खेतीकिसानी गर्ने ज्यापुहरु किराँतकालीन वंशज हो भन्ने कथन पनि छ । परापूर्वकालदेखि किसानको रुपमा परिचित ज्यापुहरु जङ्गली जनावरहरुबाट सुरक्षित हुनको लागि धिमे बाजा बजाएर ओहोरदोहोर गर्ने गर्दथे भन्ने जनश्रुति पाइन्छ । ज्यापु संस्कृति र धिमेबाजा एकअर्काको परिपूरकको रुपमा रहेका छन् । धिमे बाजा ज्यापुहरुको विशेष बाजाको रुपमा विभिन्न चाडपर्व र जात्राहरुमा प्रयोग हुने गर्दछ । आदिकालको किराँती राजा आकाश भैरव हो भनी आजसम्म पनि ज्यापुहरुले कुल देवताका रुपमा पुज्ने

गर्दछन् । काठमाडौँ उपत्यकामा नेवार समुदायभित्र करिब ५० प्रतिशत जनसंख्या ज्यापुहरुको रहेको पाइन्छ । ज्यापु संस्कृति आफैमा एक सम्पन्न र विशिष्ट संस्कृतिको रुपमा रहेको छ । नेवार समुदायभित्र आफ्नो अलग्गै परम्परा र पहिचानको संरक्षणमाज्यापु समुदायको नाम अग्रस्थानमा आउँछ ।

नेवार जातिले मनाउने विभिन्न चाडपर्व छन् । प्रत्येक चाडको आफ्नै महत्व र विशेषता छ । हरेक महिना कुनै न कुनै चाडपर्व परिरहन्छन् । तीमध्ये ज्यापु समुदायले यःमरि पुन्हि (धान्य पूर्णिमा) विशेष रुपमा मनाउने गर्दछन् । यस दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवसको रुपमा मान्यता दिइसकेको छ । वि.सं २०६० सालदेखि ज्यापु संस्कृति विकास कोषको अग्रसरतामा ज्यापु दिवस भव्य रुपमा मनाउने गरिएको छ । नेपाल सरकारले वि.सं २०६५ सालमा यसलाई मान्यता प्रदान गरेको हो । ज्यापु दिवसको दिनमा बाजागाजा सहित सहर परिक्रमा गर्नुका साथै सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिन्छ । ज्यापु दिवस परापूर्वकालदेखि कृषि कर्ममा समर्पित ज्यापु समुदायको कला, संस्कृति प्रवद्र्धनको लागि महत्वपूर्ण दिनको रुपमा रहेको छ ।

ज्यापु संस्कृतिको प्रवर्धन र संरक्षणमा ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुठी, ज्यापु समाज आदि संस्थाहरुले धेरै कार्यक्रमहरुको आयोजना गर्ने गर्दछन् । स्थानीय स्तरमा रहेका धिमे बाजा खलः, बाँसुरी खलः, विभिन्न क्लब, गुठी र टोल विकास संस्थाहरुले पनि ज्यापु संस्कृतिको विकासमा योगदान गरिरहका छन् । (फोटो: ज्यापु संस्कृति विकास कोष)

(डंगोल रेडियोकर्मी हुन् ।)

***


© People to People Media 2016. All rights reserved.