Fri, 17th Aug 2018

छाउपडीको कुप्रथा हटाउन गाह्रो छैन

स्थानीयस्तरमा जनचेतना अभिवृद्धिसँगै राज्यले कडा कदम चालेमा यो कुप्रथा हटाउन गाह्रो छैन ।

भलाकुसारी | Published on 2016-12-24 |

अछाम जिल्लामा छाउगोठमा सुतेकी एक किशोरीको ज्यान गएको छ । गतहप्ताको यो घटनासँगै फेरि एकपटक छाउपडी प्रथाको विषयमा बहस सुरु भएको छ ।

छाउपडी कुप्रथा हो भन्ने विषयमा कुनै द्विविधा छैन । सरकारी र गैरसरकारी क्षेत्रबाट यस कुप्रथाको विरुद्ध गतिविधि नभएका पनि होइनन् । यद्यपि समस्या ज्युँ का त्युँ छ । सरकारले छाउपडी उन्मुलन निर्देशिका, २०६४ जारी गरेको छ । विभिन्न सामाजिक संस्थाले छाउपडी उन्मुलनका लागि कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । फेरिपनि अवस्थामा सुधार आउन सकेको छैन । हरेक वर्ष सुदूरपश्चिमका किशोरीहरु यस कुप्रथाको शिकार हुन बाध्य छन् ।

के हो छाउपडी प्रथा ?

छाउपडी शतप्रतिशत अन्धविश्वास हो । सामाजिक कुरीति हो । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरालगायत विभिन्न जिल्लाका ग्रामीण भेगमा यो अन्धविश्वास सदियौँदेखि कायम छ । सुत्केरी वा महिनावारी भएकी महिलालाई घरभन्दा पर बनाएको झुपडीमा राख्ने चलन नै छाउपडी हो । यस्तो झुपडीलाई छाउगोठ वा छाउपडी कुडी भन्ने गरिन्छ । सामान्यतया सुत्केरी महिला २२ दिन र महिनावारी भएका बखत नौ दिन छाउगोठमा बस्नुपर्ने सामाजिक नियम छ । परिवारदेखि टाढा सानो गोठमा रात बिताउनुपर्ने, चिसो सहनुपर्ने, एकसरो कपडा ओढेर सुत्नुपर्ने र दैनिक लुगा धुनुपर्ने भएकाले छाउपडी प्रथाले महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।

महिला सुत्केरी वा महिनावारी  भएको बेलामा कसैले छुन नहुने, घरपरिवारदेखि अलग्गै बस्नुपर्ने भएकाले यो प्रथा विभिन्न अप्रिय घटनाको कारक बनेको छ । छाउपडीका कारण कतिपय महिला मृत्युको शिकार हुन पुग्दछन् त कति बलात्कार वा यौनशोषणमा पर्ने गरेका छन् । त्यसबाहेक चिसोले कठाङ्ग्रिने, सर्पले डस्ने, बढी रक्तस्राव हुनेजस्ता समस्यासँग जुध्नुपर्ने हुन्छ ।

छाउपडी बस्ने महिलाले घर, भाँडाकुँडा छुनु हुँदैन । दही, दूध खानसमेत प्रतिबन्ध छ । भाँडाकुँडा छोएमा देउता रिसाउने र दूध, दही खाए गाई-भैँसीले दूध दिन छोड्ने, परिवारमा नराम्रो हुनेजस्ता अन्धविश्वास रहिआएको छ ।  

स्थिति सुधार कसरी हुन्छ ?

छाउपडी प्रथा उन्मुलनका लागि नीतिगत समस्या केही छैन । त्यसको कार्यान्वयनमा समस्या छ । सरकारले निर्देशिका समेत जारी गरिसकेको अवस्थामा किशोरी र महिलाहरु छाउगोठमा बस्नुपर्ने बाध्यता नहट्नु दु:खद विषय हो ।

अधिकारकर्मी, पशुपति कुँवरको भनाइमा छाउपडी प्रथा समाजले महिलामाथि गरेको हिंसा हो । संस्कृति र धर्मसँग जोडिएको अन्धविश्वास भएकाले सामाजिक कानुन देशको संविधानभन्दा पनि बलियोजस्तो बनेको हो । स्थानीयस्तरमा जनचेतना अभिवृद्धिसँगै राज्यले कडा कदम चालेमा यो कुप्रथा हटाउन गाह्रो छैन । राज्यस्तरबाट प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेमा छाउपडी प्रथाकै कारण वर्षेनि ज्यान गुम्ने अवस्थाबाट मुक्ति मिल्छ ।

***


© People to People Media 2016. All rights reserved.