Thu, 27th Jul 2017

आउनुहोस्, भलाकुसारी गरौं

भलाकुसारी | Published on 2016-12-26 |

भलाकुसारी डटकम पिपुल टु पिपुल मिडियाद्धारा सञ्चालित वेब पोर्टल हो । यो पोर्टल अनलाइन पत्रकारिताका माध्यमबाट विचारको मन्थनका लागि सक्रिय रहेको छ ।

व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका सवालहरुमा दैनिकरुपमा हुने अन्तरक्रियालाई अझै व्यवस्थित र एकीकृत बनाउनु हाम्रो प्रमुख उदेश्य हो । सामान्यजनदेखि राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्ति/व्यक्तित्वहरुको सोच, विचार र व्यवहारका विविध पक्षलाई उजागर गर्दै सूचना प्रवाह गर्नु हाम्रो अभिप्राय हो । यसका अतिरिक्त हामी समाजमा उत्प्रेरणा र सकारात्मक सोचको विकासका लागि प्रयत्न गर्नेछौं ।

वर्तमान परिवेशमा नेपालमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य विकास भए तापनि त्यसले समस्याको पहिचान र समाधानतर्फ पर्याप्त योगदान गर्न नसकेको यथार्थ सर्वविदितै छ । सामान्यतया सञ्चारमाध्यमले सकारात्मक सूचना, विचार र जानकारीको प्रस्तुतिलाई प्राथमिकता दिएको पाइँदैन । पाठक/श्रोताहरुको अपेक्षा, रुचि र सामाजिक हितका विषयवस्तुको उठान हाम्रो प्राथमिक कार्य हुनेछ । समसामयिक परिवेशमा देखिएका समस्याको समाधानका लागि सकारात्मक कोणबाट विचार-विमर्श गर्ने कार्यमा भलाकुसारी टिम प्रतिबद्ध छ ।

मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी हुनुको नाताले दैनिक रुपमा विभिन्न विषयमा अन्तरक्रिया गर्नु मानिसको आधारभुत काम हो । परिस्थिति अनुरुप केवल पात्र, विषय र सन्दर्भमा भिन्नता हुनसक्छ। परम्परागत रुपमा हामीले गर्ने अन्तरक्रियाहरु छलफल, कुराकानी, कानेखुसी, साउती, भाषण, वार्ता, अन्तरवार्ता आदि तरिकाले हुने गर्छ । अनलाइन सञ्चारको विकाससँगै सामाजिक अन्तरक्रियाको दायरा अझै फराकिलो हुँदै गएको छ । यसरी विभिन्न माध्यमबाट सम्प्रेषण हुने विचारको संयोजन गर्दै लोकतान्त्रिक मूल्य-मान्यता, सामाजिक परिवर्तन, पारदर्शिता, सुशासन र स्वाभिमानको पक्षधरताका लागि भलाकुसारी टिमको प्रयास रहेनछ।

हामी सम्पूर्ण आदरणीय पाठकको साथ-सहयोग, सहभागिता र सुझावको अपेक्षा गर्दछौं । आउनुहोस्, भलाकुसारी गरौं ।


 

***


© People to People Media 2016. All rights reserved.