Sat, 27th May 2017

हरिकङ्गालको देश

आफैसँग केही नहुने, आफ्नै परिवार पाल्न, आफ्नै घर-व्यवहार चलाउन धौधौ हुनेले के देलान् र हामी उँभो लाग्ने हो ?

भद्रगोल शर्मा | Published on 2016-12-28 |

गणतन्त्र स्थापना भएपछि जनताले केके न होला भन्ने आशा गरे । अनेक सपना देखे । जोसँग आशा गरेपनि उस्तै भयो । हैन गाँठे यसले त केही गर्छ कि भन्यो केइ न केइ । फेरि अर्को आउँछ, सपना देख्यो, उही चाल ।

योसँग त केही होला कि भन्यो, छैन । अर्कोसँग केही होला भन्यो,छैन । हुँदैन । आफैसँग केही नहुने, आफ्नै लागि केही गर्न नसक्नेसँग हामीले के आशा गर्नु ?

यसो जुँगा पालेको कोही दृश्यमा देखियो कि आशा गरिहाल्ने । दौरा-सुरुवाल लगाएको कोही आयो कि आशा गरिहाल्ने । कोट-पाइन्ट लगाएको कोही आयो कि आशा गरिहाल्ने । हामी जनता कति आशे भ'का ।

ढाका टोपी, बख्खु, हाकुपटासी, भाङ्ग्रो, घलेक, धोती-कछाडको पहिचान नचिन्नेले तिम्रो पहिचान जोगाइदिन्छु, तिमीलाई पहिचान दिन्छु भन्छ। हामी पत्याइहाल्ने । मख्ख परिहाल्ने । आफ्नै पहिचान नहुनेले कसलाई पहिचान देला ?

कोही आउँछ, विकास गरिदिन्छु, यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भन्छ हामी उसैको भजन गाउन थालिहाल्ने । ए गाँठे, हाम्रो मति सुध्रिने कहिले हो ?

आफैसँग केही नहुने, आफ्नै परिवार पाल्न, आफ्नै घर-व्यवहार चलाउन धौधौ हुनेले के देलान् र हामी उँभो लाग्ने हो ?

नेता हुन् त खाइलाग्दा, सम्पन्न, ज्ञानी-गुनी पो हुन् । बरा आफ्नै केही छैन । चन्दाले घर-व्यवहार चल्छ । पार्टीले आश्रय दिएर टिकेका छन् । यस्ता नेताबाट के आशा राख्नु ?

नेता त ट्रम्पजस्ता पो हुनु । बरु अम्बानी र मित्तल,शेष घले र विनोद चौधरीजस्ता नेता हुनु । ग्लोबलाइजेसनको जमानाछ । यस्तो महङ्गीको जमाना छ । यस्तो मुहुर्तमा एकतोले, एकलाखे र एकपाखे नेताका जनता हामी ।

त्यही भ'र पो हामी नेपालीलाई डिभी परे अमेरिका, पिआर पाए अस्ट्रेलिया/क्यानडा नभए कोरियासम्म त्यति पनि मेसो नमिले साउदी/कतार/मलेसिया/दिल्ली/बम्बई जता भएनि भासिने भूत चढ्दो रै'छ । ताक परे तिवारी नत्र गोतामे । एक सातापनि नपर्खी हतार गरेर विदेश जाने काइदा यो पो रैछ!

जनमानसमा यौटा उखान प्रचलित छ- जो पोइ होलाजस्तो उही जेठाजु । अचेल 'नयाँ नेपाल'मा ठीक त्यस्तै भइरहेको त हैन ? एकसे एक हरिकङ्गालहरुले भरिएको देश हाम्रो । कठैहामी!

***


© People to People Media 2016. All rights reserved.