Mon, 25th Sep 2017

नेपाली मिडिया र 'पोजिटिभिटी'

सत्यता, सहनशीलता जस्ता कुरालाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्ता स्थापित गर्न सकिन्छ ।

ईश्वर अर्याल | Published on 2016-12-28 |

नेपालको वर्तमान सन्दर्भमा तीव्र विकास भएका सञ्चार माध्यमहरु धेरै हदसम्म सजिलो सूचनाका श्रोत बनेका छन् । वास्तवमा अहिले सामाजिक सञ्जालको लहर चलेको छ । र, हरेक व्यक्ति आफैंमा सूचनाको श्रोत बनेको छ । यसका धेरै सकारात्मक पक्षहरु छन् । तर,जानी/नजानी कसैले गर्ने गल्ती या गलत नियतले गर्दा समाज नै तरङ्गित हुने गरी बहस समेत हुने गरेको यथार्थ छ । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नकै लागि सञ्चारमाध्यमको प्रयोग गर्ने गरेका उदाहरण समेत हामीसामु छन् ।

व्यक्तिगत फाइदा र स्वार्थको लागि समाचार बनाएर समाजमा भ्रम फैलाउनेहरुको पहिचान गरेर सभ्य समाज निर्माणको जिम्मा कसले लिने ? भन्ने प्रश्नको सोझो उत्तर पाउन कठिन छ । 

एक्युरेसी, ब्यालेन्स र क्रेडिटिबिलिटी सञ्चार माध्यमका मूल मन्त्र हुन् । ती महत्वपूर्ण मान्यताहरु हुन्, एक्युरेसी अर्थात वास्तविक सत्य, ब्यालेन्स अर्थात सन्तुलन र क्रेडिटिबिलिटी अर्थात विश्वसनीयता । सञ्चारमाध्यमले आफुले सम्प्रेषण गरेका समाचारलाई यिनै तीनवटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । तर, अहिलेको वास्तविकता त्यस्तो छैन ।

नेपाली समाज बहुलवादी छ । संविधानले हरेक नागरिकको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । देशमा प्रेस स्वतन्त्रता छ । तर, कहिलेकाहीँ यस्तो स्वतन्त्रताको गलत प्रयोग भैदिन्छ । एउटा सानो गलत सुचनाले एकैछिनमा महामारीको रुप लिएर जताततै फैलिन सक्छ । त्यसले कसैको व्यक्तिगत या संस्थागत जीवन समाप्त पारिदिन पनि सक्छ ।

नैतिकता र वास्तविकतालाई आधार बनाएर समाचार सम्प्रेषण गर्नुपर्नेमा व्यक्तिगत फाइदा र स्वार्थको लागि समाचार बनाएर समाजमा भ्रम फैलाउनेहरुको पहिचान गरेर सभ्य समाज निर्माणको जिम्मा कसले लिने ? भन्ने प्रश्नको सोझो उत्तर पाउन कठिन छ । समकालीन समाजमा यो विषय सोचनीय बनेको छ । लम्बिइरहेको राज्यको राजनीतिक तरलतालाई आधार बनाउँदै, धमिलो पानीमा माछ मार्ने काम मिडियाका हस्ती भनिने कतिपय संस्थाहरुबाटै भएको देखिन्छ ।

मिडियामा नकारात्मक कुराहरु फैलाउने प्रक्रिया रोक्नको लागी सर्वप्रथम हामीले उनीहरुको वर्गीकरण गर्न सक्नुपर्छ । स्थानीय, क्षेत्रीय र राष्ट्रिय मिडियाको पहिचान गर्नुपर्छ । प्रतिस्पर्धाले निश्चय नै सबै सञ्चारमाध्यमलाई अघि जाने छुट दिएको छ । जसरी मान्छेको अनुहार हेरेर उसको आनीबानीको बारेमा सत्यताको नजिक पुग्ने गरी थाहा पाउन सकिन्छ । ठीक त्यसैगरी कुनै पनि समाचारको शीर्षक हेरेर त्यसले भ्रम फैलाउन खोजेको हो या विश्वसनीय समाचार दिन खोजेको हो भन्ने थाहा हुन्छ । विश्वसनीय समाचार दिने मिडियाहरु र भ्रम छर्ने मिडिया अलग्गै चिन्न सकिन्छ ।

राजनीतिक संकीर्णता, अस्तव्यस्तता, अराजकता, निहित स्वार्थजस्ता धेरै कारणले मिडिया क्षेत्रलाई नराम्ररी गाँजेको छ । सही सूचना पाउने व्यक्तिको हक अधिकारको हनन भएको छ । देशको समग्र सूचना प्रणाली केहि मिडियाबाजी गर्नेहरुको हातमा आउनु पक्कै राम्रो कुरा होइन । जातिवाद, क्षेत्रीयतावाद जस्ता कुराहरुले प्रश्रय पाईरहेको छ । यी सबै चुनौतीको बीचमा सही र वास्तविक सूचना हराईरहेका छन् अथवा भनौं, कुहिरोको कागजस्तै बनिरहेका छन् ।

सकारात्मक समाचारलाई प्राथमिकता दिएमात्र सभ्य समाजको निर्माणमा सञ्चार माध्यमले टेवा पुर्‍याउन सक्छ । अन्यथा जतिसुकै ठूलो र राम्रो सञ्चार माध्यम भए तापनि त्यसबाट समाजले केही पाउँदैन ।

यी चुनौतीको सामना गर्नको लागि न्युनतम नैतिक आचरणको पालना गर्नु आवश्यक छ । हरेक सक्षम नागरिक जसको ईन्टरनेट र सामाजिक सञ्जालमा पहुँच छ, यस्ता समाचारहरु सेयर गर्नु भन्दा पहिला धेरै आयामबाट सोच्न जरुरी छ । पहिलो कुरा त समाचारमा सत्यता हुँदाहुँदै 'इम्पार्सियालिटी' छ की नाईं ? त्यो विचार गर्नुपर्छ । दोश्रो समाचारको उद्देश्य सामाजिक मेलमिलापमा आधारित छ या सामाजिक बेमेलमा आधारित छ भन्ने सोचेर सेयर वा 'रिकमेन्ड' गर्ने निर्णय गर्नुपर्छ ।

एउटाले अर्काको अस्तित्व स्विकार्न नसक्ने हो भने परिवार, समाज र देश नै बिखण्डनको चपेटामा पर्दछ । हरेक मिडिया हाउसले यो कुरा बुझ्न जरुरी छ की राज्यको चौथो अंग हो भन्दैमा लापरबाही गर्ने छुट कसैलाई छैन । सकारात्मक समाचारलाई प्राथमिकता दिएमात्र सभ्य समाजको निर्माणमा सञ्चार माध्यमले टेवा पुर्‍याउन सक्छ । अन्यथा जतिसुकै ठूलो र राम्रो सञ्चार माध्यम भए तापनि त्यसबाट समाजले केही पाउँदैन ।

हाम्रो समाजमा धेरै विचारहरुको घुलमिल छ । सबैलाई आफ्नो विचारको, अस्तित्वको रक्षा गर्ने व्यक्तिगत चुनौती पनि होला । तर, आफ्नो विचारको अस्तित्व कायम राख्नको लागि नकारात्मक कुराहरु भ्रम, संकीर्णता आदिको साहारा लिनु राम्रो होइन । सत्यता, सहनशीलता जस्ता कुरालाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्ता स्थापित गर्न सकिन्छ । सकारात्मक विषय र सकारात्मक प्रस्तुतिले समस्याको पहिचान र समाधानमा समेत सहयोग पुग्दछ ।

***


© People to People Media 2016. All rights reserved.