Tue, 21st Nov 2017

कर्म गरेपछि भाग्य आफै हुन्छ

नारीको एक्लो प्रयासले संसार चल्दैन । संस्कार चल्दैन । समाजको सोच र व्यवहारले व्यक्तिको जीवनमा फरक पार्छ ।

Published on 2016-12-16 |

भनिन्छ, काठमाडौं सपनाको शहर हो । यथार्थमा यो सपनाहरु फुल्ने शहर मात्रै होइन । काठमाडौंले सबैलाई खुसी र सुखी पार्न सकेको छैन । यो शहरको छातीभित्र असंङ्ख्य सपनाहरु ओइलिएर झरेका छन् ।

रहरहरू कहरजस्तै बनेका छन् । थोरै सम्पन्नता र धेरै अभाव बोकेर बाँचेको छ, काठमाडौं । थोरै सन्तुष्टि, धेरै असन्तोष, गुनासाछन्काठमाडौंमा । यो विचित्रको सहरलाई नियाल्दा मान्छेहरु भीडभित्रै भएर पनि एक्ला भेटिन्छन् । पारिलो ठाउँमै पनि सपनाहरुमाथि ओझेल परेको छ । सहरको मुटुमै बसेर पनि ओझेलमा परेका धेरै जीवन भेटिन्छन् ।

                सहरमा सानो काम गरेर कष्टसाथ जीवन गुजारा गर्ने असंङ्ख्य पात्रहरु ओझेलमा छन् । दैनिक हजारौं मान्छेको ओहोरदोहोर हुने मूलबाटोमा सधैं भेटिने ती पात्रका विषयमा कसैलाई चासो नै छैन जस्तो लाग्छ  ।

                हामीले यस्तै एकजना व्यक्तिसँग कुरा गरेका छौं । भलाकुसारी डटकमका लागि सबिना थापाले लक्ष्मी तण्डुकारसँग गरेको कुराकानी:

                लक्ष्मी तण्डुकारको जन्म वि.सं. २०२६ सालमा चौतारा, वडा नं. ११ सिन्धुपाल्चोकमा भएको हो । जिन्दगीलाई रसिक बनाउनुपर्ने उनको मत छ । लक्ष्मीले अन्तरजातीय विवाह गरिन् । त्यससँगै जीवनले नयाँ मोड लियो । समयसँगै पतिको स्त्रीसुन्दरतामा लठ्ठ् पर्ने स्वभावबाट पीडित भइन् उनी । एउटै छानामुनि बसेर पनि बोलचाल हुन छोड्यो । श्रीमानसँग बोलचाल नभएको करिब डेढ दशक भयो । यसो भनिरहँदा उनका आँखाभरि निराशा छायो । मुहारमा उदासीका रेखाहरु प्रशस्त देखिए । मकै पोल्दै गरेकी उनका आँखा रसाए । त्यसो हुनुमा धुवाँको मात्रै भूमिका थिएन । आँसु तप्प चुहिन्छ कि जस्तो भयो ।

सामान्यतया समयको बहावसँगै मानिसका मुल्य र मान्यता पनि परिवर्तन हुँदै जान्छन् । कर्म गरे भाग्य आँफै हुन्छ यो कुरामा लक्ष्मी तण्डुकारको दृढ विश्वास छ ।

'छोराछोरीले यो काम नगर भन्छन् ।मैले काम गरेको ठाउँमा आउन लाज लाग्छ रे ! यही कामले घर धानेकी छु । अब त हामी पालिहाल्छौँ नि भन्छन् । तर, म चुपचाप बस्न सक्दिनँ । काम गर्नु राम्रो हो । खराब काम नगरे कसैसँग डराउनु पर्दैन । झुक्नु पर्दैन ।  राम्रो काम गर्नेलाई सबैले पत्याउँछन् । त्यसैले मलाई दुःख लाग्दैन ।' उनले एकै सासमा आफ्नो अवस्था, समस्या र मान्यताहरु खुलाइन् । कुरिया गाउँ, थापाथलीमा बस्ने लक्ष्मीका पति, एक छोरा र दुई छोरी छन् । उनका पति एउटै छानामुनि रहे पनि अनजान मानिसझैँ बस्छन् ।

जीवनमा अन्तरजातीय विवाह गरेकोमा पछुताउँदै भन्छिन्, “सकेसम्म विवाह नै नगर्नू । गरेपनि अन्तरजातीय नगर्नु ।”फेरि मुस्कुराउँदै आफ्ना छोरा र दुई छोरी अत्यन्तै राम्रा भएकोमा गर्व गर्छिन् । यस्तो लाग्छ, आफ्ना छोराछोरीलाई सम्झिँदा जीवनमा उनले भोगेको दु:खको पहाड केहीपनि होइन ।

एकैछिनको पारिवारिक गन्थन-मन्थनपछि किन अन्तरजातीय विवाह बेठीक ? भन्ने प्रश्नको उत्तरमा सपना देख्दादेख्दै बिउँझिएझैँ आँखा मिच्दै भनिन्, “मलाई नै हेर्नुस् न । १७/१८ वर्षदेखि यसैगरी मकै पोल्दै, बदाम बेच्दै छोराछोरी हुर्काएँ । अहिलेसम्म पनि यसैगरी गुजारा चलाउँदै आएकी छु । यो सबैथोकको पछाडि बिहे नै थियो ।"

हाम्रो समाजमा अन्तरजातीय विवाहप्रतिको नकारात्मक सोचले उब्जाएका समस्या उनले थोरै शब्दमा नै स्पष्ट खुलाइन् । र, भनिन्, 'अब त यसरी सकिन्न जस्तो लाग्छ तर आफ्नो पसिनाले खाएको कमाइमा छुट्टै मिठास हुन्छ ।' जीवनका निराशाहरुलाई एकातिर पन्छाएर लक्ष्मीले पुन: कर्मको महत्व बताइन् । उनीआजसम्म निरोगी भएर बाँच्न पाएको, अरूको मुख ताकेर बस्नु नपरेकोमा भगवानप्रति कृतज्ञ छिन् ।

नारी भनेको भूमि हो । जसरी भूमिमा जस्तोसुकै बीज रोपेर फल राम्रो पाउने आशा गर्न सकिन्न । राम्रो फसलको लागि मल, पानी, रेखदेख, लगाव, त्यसप्रति सकारात्मक सोच सबैथोक मिल्नुपर्छ । ठीक त्यसैगरी समाजको सोच र व्यवहारले व्यक्तिको जीवनमा फरक पार्छ । नारीको एक्लो प्रयासले संसार चल्दैन । संस्कार चल्दैन । लक्ष्मीको यो निष्कर्ष कुनै विषयविज्ञ विद्वानको भन्दा फरक छैन । उनको बुझाइमा कसैलाई घामै–घामै त कसैलाई पानीपानी हुन्छ जिन्दगीमा।

दैनिकी कस्तो छ ?

- प्रत्येक दिन बिहान ५ बजे उठ्छु ।चिया खाएर सामान लिन कालिमाटी पुग्छु ।खाना खाएपछि १० बजेतिर त म यही बबरमहलको छेउछाउ आइपुगिहाल्छु ।

जीवनका बाटा धेरै थिए, किन यही नै रोज्नु भयो ?

- धेरै काम गरियो ।ज्यामी काम, लुगा धुने, अरुको घरको भाँडा माझ्नेदेखि लिएर अहिले १७/१८ वर्ष भयो यही काम गरिरहेकी छु ।

यसरी व्यवहार चलाउन सकिन्छ त ?

- अहिलेसम्म सकिएकै छ । तर, आजभोलि हरदिन झन्झन् गाह्रो हुँदै गईरहेको छ । अब सकिन्न कि झैँ

लाग्छ । सबैतिर महँगी छ, केही छुनै नसकिने ।

दिनमा कति आम्दानी गर्नुहुन्छ ?

-२०० देखि ५०० सम्म । कहिलेकाहीँ त ५ घोँगा मकै मात्र बिक्छ । मकैको सिजन सकिएपछि बदाम बेच्छु । बदामबाट भने खासै आम्दानी हुन्न ।

तपाईँलाई पढ्न पाएको भए हुन्थ्यो जस्तो लाग्दैन ?

- लाग्छ नि ।बाउले ३ कक्षा पढ्दा–पढ्दै गाई–भैंसीको राम्रो हेरचाह गर्नुपर्छ । वस्तुभाउलाई राम्ररी घाँस हाल्यो भने धेरै दुध दिन्छ ।  दुध-घ्यू खान पाए त्यसै ठूलो भइहालिन्छ नि भन्नु हुन्थ्यो । उतिखेर खासै पढ्ने चलन थिएन । अनि पढाई छोडियो । तर, मैंले मेरा छोरा–छोरीलाई पढाएकी छु ।

जिन्दगी के हो जस्तो लाग्छ ?

- जिन्दगी यस्तै हो, परिश्रम नगरी केही पाइन्न । कसैलाई घामैघाम, कसैलाई पानी । कर्म गर्नुपर्छ । कर्म गरेपछि भाग्य आफै हुन्छ । जिन्दगी भाग्यले हैन, कर्मले चल्दोरैछ ।

सधैं यहीँ बस्नुहुन्छ ? कसैले केही भन्दैन ?

- राम्रो काम गरेर खान्छु भन्नेलाई कसैले नि केही गर्न सक्दैन । यो मेरो कर्म गर्ने ठाउँ हो । नबस भन्नेलाई म आँफै झपारीदिन्छु ।

***


© People to People Media 2016. All rights reserved.