Fri, 17th Aug 2018

ATM कार्डको डाटा तथा PIN नम्बर चोरिनबाट कसरी बच्ने?

अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेसँगै नेपालका बैंक सञ्चालक र ग्राहक दुवैमा तनाव पैदा गर्‍यो ।

भलाकुसारी | Published on 2017-01-10 |

नेपाल प्रहरीले गत कार्तिक महिनामा मात्रै अरुको एटीएम कार्डको डाटा र पिन चोरी गर्ने ६ जना विदेशी नागरिकलाई पक्रेको थियो । उनीहरुले एटीएम कार्डको डाटा र पिन (Personal Identification Number-PIN)चोरेर बैंक खाताबाट रकम निकाल्ने गर्दथे ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले कात्तिक महिनामा मात्रै बुल्गेरिया, रोमानिया र टर्किका ६ नागरिक पक्राउ गरेको थियो । अन्तत: प्रहरीले उनीहरु यौटै गिरोहका सदस्य भएको तथ्य पत्ता लाग्यो ।

यससँगै नेपालका एटीएम बुथहरु अन्तर्राष्ट्रिय गिरोहले निशाना बनाएको पुष्टि भयो । यस्तो गिरोहको सक्रियतासँगै नेपालमा बैंकिङ क्षेत्रको डाटा-सुरक्षा विषयमा बहस सुरु भयो । उक्त घटनाले बैंक सञ्चालक र ग्राहक दुवैमा तनाव पैदा गर्‍यो ।

अन्तर्राष्ट्रिय गिरोहले बैंकिङ सिस्टमको सुरक्षा प्रणाली ब्रेक गरेको होइन । एटीएम बुथबाट ग्राहकको एटीएम कार्डको डाटा चोर्नु उनीहरुको मुख्य धन्दा थियो । त्यसरी संकलित सुचनाको आधारमा एटीएमबाट पैसा निकाल्न गिरोह सक्रिय थियो । अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेसँगै एटीएमको डाटा सुरक्षाको विषय बहसमा आए तापनि आफ्नो एटीएम कार्ड र त्यसको पिनको सुरक्षाप्रति सदैव चनाखो रहनुपर्दछ ।

आफ्नो एटीएम कार्डको डाटा तथा पिन चोरिनबाट बच्नको लागि निम्न उपाय अपनाउनुहोस्:

  • एटीएम बुथमा साबिकमा रहेकाबाहेक अन्य उपकरण जडान भए/नभएको यकिन  गर्नुहोस् ।
  • एटीएम बुथमा कतै अस्वाभाविक उपकरणहरु जोडिएको शंका लागेमा उक्त बुथबाट कारोबार नगर्नुहोस् ।
  • एटीएम बुथभित्र किप्याड नजिकै प्वाल देखिएमा सो प्वालमा क्यामेरा जोडिएको हुनसक्छ । एटीएम बुथमा नक्कली कार्ड स्लट (कार्ड छिराउने भाग) पनि जोडिएको हुनसक्छ । एकभन्दा बढी कार्ड स्लट देखिएमा सो बुथबाट कारोबार नगर्नुहोस् ।
  • यदि नक्कली कार्ड स्लट प्रयोग भएको शंका लागेमा तुरुन्तै बैंकमा खबर गर्नुहोस् । नक्कली कार्ड स्लटमा कार्ड छिराएको थाहा पाएमा तुरुन्तै पिन परिवर्तन गर्नुहोस् ।
  • बैंकबाट एसएमएस बैङ्किङ सेवा लिनुहोस् । एसएमएस बैङ्किङ सेवा लिएमा तपाईंको खाताबाट भएको हरेक कारोबारको जानकारी मोबाइलमा आउँछ । आफुले गर्दै नगरेको कारोबारको बारेमा मोबाइलमा म्यासेज आएमा तत्काल सम्बन्धित बैंकमा खबर गर्नुहोस् ।
  • आफ्नो एटीएम  कार्ड सकभर अरुलाई प्रयोग गर्न नदिनुहोस् । समय समयमा पिन परिवर्तन गर्ने बानी बसाल्नुहोस् । 

***


© People to People Media 2016. All rights reserved.