Sat, 27th May 2017

विद्युतीय जोखिमबाट बचौं!

सामान्य परिस्थतिमा समेत विद्युतीय जोखिमप्रति सावधानी अपनाउनु पर्दछ ।

भलाकुसारी | Published on 2017-01-11 |

नेपाली जनजीवन विनाशकारी भुइँचालोले निम्त्याएको विपतबाट क्रमश: सामान्य हुने क्रममा छ । भुइँचालो प्राकृतिक विपत्ति हो । यसप्रकारको विपतको पूर्वानुमान गर्न सकिँदैन । यसबाहेक हाम्रो जीवनमा अन्य धेरै प्रकारका जोखिम र दुर्घटनाका सम्भावनाहरु छन् ।

दैनिक जीवनमा आइपर्ने जोखिम अन्य जोखिममध्ये विद्युतीय जोखिमप्रति सावधानी अपनाउनु आवश्यक छ । प्राकृतिक विपत्तिका बेला र सामान्य परिस्थतिमा समेत विद्युतीय जोखिमबाट बच्ने उपायहरु अपनाउनु वाञ्छनीय हुन्छ । विद्युतीय सुरक्षाका सरल उपाय तथा सावधानी नै यसप्रकारको जोखिम न्युनीकरण गर्ने माध्यम हुन् ।

प्राकृतिक विपत्तिसँगै विद्युतीय जोखिम पनि बढ्छ । विद्युतीय उपकरणहरुको कारणले दुर्घटना हुनसक्छ । यस्तो अवस्थामा मानवीय सुरक्षामा बढी ध्यान पुर्‍याउनुपर्छ । यहाँ विद्युतीय जोखिमबाट बच्न अपनाउन सकिने सावधानी सावधानीका बारेमा उल्लेख गरिएको छ ।

  • विद्युत ट्रान्सफर्मर, टेलिफोन टावरको वरिपरि कम्तीमा ९ मिटर दुरीमा नजाने । चुँडिएको, लत्रिएको तारको नजिक नजाने । इलेक्ट्रिक इन्डक्सन भएर त्यसको कारणले हावामा पनि करेन्ट प्रवाह भएको हुनसक्छ । अर्थिङको पिटको कारणले पनि प्रभाव पर्न सक्छ । यदि त्यस्तो स्थानमा जानैपर्ने भएमा रबरको चप्पल लगाएर जाने । छालाका जुत्ताहरु लगाउनु उपयुक्त हुँदैन । यदि तारहरु छिनेका छन् भने त्यसलाई सुकेको काठ वा बाँसले साइड लगाउने । विद्युत अफिसको कर्मचारीलाई तुरुन्त खबर गर्ने र त्यसलाई काट्न लगाउने वा लाइन सर्ट नहुने गरी बाँधेर राख्ने ।

  • शहरी क्षेत्रमा प्रायः घरहरु तारले घेरिएका छन् । कतिपय ठाउँमा घर नजिकै नाङ्गो तार भेटिन्छ । हाइटेन्सन तारहरुको तल घर बनेको पनि देखिन्छ । यसलाई व्यवस्थापन गरेर जोखिम कम गर्न सकिन्छ । हामीले बिजुलीको पोल गाड्ने र सर्वेक्षण गर्ने कामको लागि आउने मान्छेलाई यहाँ पोल गाड, त्यहाँ नगाड, यसरी गाड, उसरी गाड भनेर दवाव दिन्छौं । यसले हाम्रै सुरक्षामा चुनौती थपिन्छ । आफ्नो टोलमा विद्युतको लाइनको काम हुँदैछ भने टोलबासीहरु पनि सक्रिय हुनुपर्छ । सबैजना मिलेर सबैभन्दा सुरक्षित स्थानमा पोल गाड्ने, तार तान्ने काम गर्नुपर्छ । गाँसेको तारहरु नहाल्ने, हुरीबतास आउँदा हल्लिएर तार नजोडिने गरी राख्न लगाउने गर्नुपर्छ ।

  • घरायसी प्रयोजनको लागि विद्युत जडान गर्दा, उपकरण राख्दा, पावर सकेट लगाउँदा विशेष ध्यान पुर्‍याउनुपर्छ । जति धेरै प्वाइन्ट प्रयोग गर्‍यो उति धेरै विद्युत खपत हुन्छ । घरमा दुईओटा अर्थिङ राख्दा बढी सुरक्षित हुन्छ । सुरुमा लाग्ने थोरै खर्च जोगाउन खोज्दा जोखिम बढ्न सक्छ । त्यसतर्फ ख्याल गर्नुपर्छ ।

  • लोडसेडिङ नेपालको अर्को मुख्य समस्या हो । कतिपय अवस्थामा लोडसेडिङ नै जोखिम बढाउने कारण बन्ने गरेको पाइएको छ । बत्ती आएको बेलामा ओभरलोड हुने गरी चार्जर र उपकरणहरु प्रयोग गर्नु हुँदैन । वैकल्पिक स्रोतको व्यवस्था गर्नुपर्दछ । घरायसी प्रयोजनका लागि सोलार सबैभन्दा उत्तम विकल्प हो । घरको कौशीमा सोलार जडान गरेर पनि लोडसेडिङको समस्याबाट मुक्ति पाउन सकिन्छ । सोलारको लागि लगानी गर्न नसक्नेहरुका लागि युपीएस, इन्भर्टर उपयुक्त हुन्छ । लामो समयको लागि केही ठूलो लगानी गर्नसक्ने उद्योग वा संस्थाहरुले जेनेरेटर तथा वायुउर्जामा लगानी गर्नु उपयुक्त हुन्छ । विकल्पहरु सहजरुपमा उपलब्ध भएको खण्डमा ओभरलोडको समस्या आफै समाधान हुन्छ ।

  • लामो समय र ठूला परियोजनाहरुको सन्दर्भमा कुरा गर्दा तार, ट्रान्सफर्मर र संरचनामा विचार पुर्‍याउनु पर्दछ । यी तीनै कुरामा उचित ध्यान पुर्‍याउन सकेमा विद्युतीय जोखिम कम गर्न सकिन्छ । कतिपय अवस्थामा उपकरण बेच्नेहरुको सिन्डिकेटका कारण जोखिम बढ्ने गरेको छ । यसतर्फ ध्यान पुर्‍याउनु पर्छ । कुनै उपकरणको ब्रान्ड भन्दा पनि त्यसको गुणस्तर महत्वपूर्ण कुरा हो ।

  • नेपाली बजारमा दक्ष जनशक्तिको अभाव छैन । आफ्नो सजिलो र फाइदाको लागि काम गर्दा कहिलेकाहीं जनशक्तिको कारणले जोखिममा वृद्धि हुन जान्छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । कतिपय कम्पनीहरुले टेण्डर र सहमतिपत्रमा दक्ष जनशक्ति देखाउने तर काम गर्ने बेलामा सिकारु जनशक्तिबाट गराउने गरेको पाइन्छ । यसले गर्दा कामको गुणस्तरमा फरक आउँछ । अफिसमा हुने सहमति र फिल्डमा हुने काममा धेरै फरक पर्न दिनुहुँदैन । समय समयमा निरीक्षण गर्नुपर्दछ । यसो गर्दा कामको गुणस्तर कायम गर्न तथा जोखिम न्युनीकरण गर्न सहयोग पुग्दछ ।

  • हामी हरेक विषयमा समस्या परेपछि मात्रै छलफल, बहस गर्ने गर्छौं । समय छदै त्यसमा ध्यान दिँदैनौं । भूकम्पजस्तै बाढी, पहिरो, चट्याङ आदि प्राकृतिक विपत्तिका बेला र सामान्य अवस्थामा समेत विद्युतीय जोखिम न्युनीकरणमा ध्यान दिनु अति आवश्यक छ । स्कुले बालबालिकाको माध्यमबाट सचेतनाको विकास गर्न सकिन्छ । चेतनामूलक कार्यक्रम, तालिमको सञ्चालन गरी विद्यार्थीको माध्यमबाट हरेक घरघरमा सन्देश पुर्‍याउन सकिन्छ । पाठ्यक्रममा नै त्यस विषयमा पढाइ हुने व्यवस्था गर्न सके झनै प्रभावकारी हुन्छ ।

  • विद्युतीय जोखिम न्युनीकरणको सवालमा पर्याप्त मात्रामा कार्यक्रमहरु हुन सकेका छैनन् । जुनसुकै माध्यम वा विधिको प्रयोग गरे तापनि प्रभावकारी कार्य गर्नु जरुरी भइसकेको छ ।

(सार्क राष्ट्रहरुमा एक दशकभन्दा बढी समयदेखि उर्जाक्षेत्रमा कार्यरत भारतीय इलेक्ट्रिकल इन्जिनियर पाटिलसँगको कुराकानीमा आधारित)

***


© People to People Media 2016. All rights reserved.