Tue, 21st Nov 2017

विद्यार्थी राजनीतिमा नयाँ अध्यायको थालनी

त्रिविविले स्ववियु निर्वाचनमा पहिलो पटक उमेदवारको उमेर हदबन्दी तोकेर ऐतिहासिक निर्णय गरेको छ ।

समिर गिरी | Published on 2017-01-11 |

त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन मिति घोषणा गरेको छ । मिनि संसदको रुपमा हेरिने स्ववियु निर्वाचनको मिति घोषणासँगै निर्वाचनको सरगर्मीसुरु भएको छ । क्याम्पस तथा विश्वविद्यालयहरु विद्यार्थी राजनीतिले तात्न थालेका छन् ।यसले देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ तरङ्ग ल्याएको छ । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक स्ववियु निर्वाचनमा उमेदवारका लागि उमेर हदबन्दी तोकेकाले पनि अघिल्ला निर्वाचनको तुलनामा यसपालिको निर्वाचन बढी चर्चाको विषय बन्न पुगेको छ । उमेरको हदबन्दी कार्यान्वयन भएको खण्डमा नेपाली विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिमा नयाँ अध्यायको थालनी हुनेछ । समग्र विद्यार्थी राजनीतिले नै नयाँ उचाई लिने छ । 

नेपाली राजनीतिको इतिहास पल्टाउने हो भने देशमा भएका प्राय:सबै राजनीतिक परिवर्तनमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनको निर्णायक भूमिका रहेको पाइन्छ । राणाशासनका विरुद्ध भएको आन्दोलनमा होस् या पञ्चायत विरुद्धको आन्दोलन,चाहे ६२÷६३ को जनआन्दोलनमा नै किन नहोस् विद्यार्थी संगठनहरुको महत्वपूर्ण योगदान रहेको छ । तर,पछिल्लो समय विद्यार्थी संगठनहरुको आआफ्नो स्वार्थ र अडानका कारण लामो समयदेखि विद्यार्थीको हकहित र अधिकार प्राप्तिको साझा मञ्चको रुपमा स्थापित स्ववियु निष्कृय जस्तै बन्न पुगेको छ । यसले सिंगो विद्यार्थी आन्दोलनलाई नै प्रभावहीन र निस्क्रिय बनाइरहेको छ । विश्वविद्यालय तथा क्याम्पसहरुमा भ्रष्टचार मौलाइरहेको छ । पटक पटक स्ववियू निर्वाचन जितेका संगठनहरुले आजसम्म शैक्षिक गुणस्तर र समानताका लागि सिन्को भाँचेका छैनन् । यस्तो अवस्थामा त्रिभुवन विश्वविद्यालयले ढिलै भएपनि स्ववियू निर्वाचनको मिति घोषणा गरेर सकारात्मक सन्देश दिएको छ । त्योभन्दा महत्वपूर्ण कुरा स्ववियु निर्वाचनमा पहिलो पटक उमेदवारको उमेर हदबन्दी तोकेर ऐतिहासिक तथा स्वागतयोग्य निर्णय गरेको छ ।

स्ववियु भनेको विद्यार्थीहरुको साझा संस्था हो । यसको प्राप्ति पछाडि बलिदानको एउटा गर्विलो इतिहास  छ । तसर्थ यसको ऐतिहासिक गरिमालाई जोगाउन पनि स्ववियुको निर्वाचनलाई मर्यादित बनाउनु अति आवश्यक छ।र,त्यसका लागि पनि उमेर हदबन्दी एउटा दरिलो हतियार हो । ४०/४५ बर्षसम्म बिरालोले मुसा ढुकेझैँ स्ववियु ढुकेर बस्ने, एउटै निर्वाचनमा बाउ एउटा क्याम्पसबाट र छोरो अर्को क्याम्पसबाट चुनाव लड्ने अनि वास्तविक विद्यार्थीहरु सधै छाँयामा पर्ने गरेको तितो यथार्थ हाम्रोसामु छ । त्यसैले विद्यार्थीको नाममा विद्यार्थीका अंकलहरु चुनाव लडने र त्यसबाट नियमित र वास्तविक विद्यार्थीहरु सधैं ओझेलमा पर्ने परिपाटीको अन्त्य गर्नु जरुरी छ ।

नियमित र वास्तविक विद्यार्थीहरुको बीचबाट सबल, सक्षम, कुशल र योग्य व्यक्ति निर्वाचित गरी सही र वास्तविक विद्यार्थीलाई नेतृत्वमा ल्याउनका लागि पनि उमेर हदबन्दी एउटा उपयुक्त र प्रभावकारी माध्यम हो । स्ववियुमा २८ वर्षे उमेर हदबन्दी र समानुपातिक प्रणाली भएन भने जोस र जाँगर हराइसकेको निराशाले भरिपूर्ण व्यक्तिहरुले अवसरको फाइदा लिनेछन् । जो देखावटी भर्ना भएका हुन्छन् विद्यार्थीमाझ कहिल्यै पुगेका हुदैनन् । क्याम्पसमा के भइरहेको छ? विद्यार्थीहरुको चाहना र आवश्यकता के हो ? भन्ने नबुझेका व्यक्ति नेतृत्वमा पुग्ने र नयाँ जोश जाँगर भएका वास्तविक र नियमित अध्ययनरत विद्यार्थीहरु नेतृत्वदायी भुमिकाबाट वञ्चित हुने अवस्था आउन दिनुहुँदैन । विद्यार्थी आन्दोलन शिथिल भएर जाने,विगतका विद्यार्थी आन्दोलन र योगदानको गौरवमय इतिहास समेत ओझेलमा पर्ने भएकाले पनि विगतका उपलब्धिहरुको रक्षा गर्नका लागि पनि उमेरको हदबन्दी अति सान्दर्भिक र आवश्यक छ ।

चुनाव भनेको एउटा परीक्षा हो र चुनावमा हारजित हुनु स्वभाविक छ । त्योभन्दा महत्वपूर्ण कुरा एउटा प्रणालीको सुरुवात गर्नु हो।त्यसकारण अहिलेको उमेर हदबन्दीका कारण कुनै संगठन विशेषलाई नोक्सानी होला तर सिङ्गो विद्यार्थी आन्दोलनलाई यसले पुनर्जीवन दिनेछ । एकाध संगठनलाई बेफाइदा भएतापनि निर्वाचन र वास्तविक विद्यार्थीमाथि हुने गरेको अन्यायको अन्त्य हुनेछ । सिङ्गो विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिलाई फाइदा पुग्नेछ । र, यो नै हामी सबैको जित हो ।

नेपाली राजनीतिको मेरुदण्डको रुपमा रहेको विद्यार्थी राजनीति बिस्तारै शिथिल बन्दै गएको यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ । पछिल्लो समय स्ववियु सञ्चालन सम्बन्धी उपयुक्त नियमावली र आचार संहिताको अभावमा विद्यार्थी आन्दोलन सुस्ताएकै हो ।सुस्ताएको विद्यार्थी आन्दोलनलाई पुनः जागृत गराउनु आजको आवश्यकता र सम्पूर्ण विद्यार्थी संगठनहरुको गहन जिम्मेवारी हो । त्यो जिम्मेवारी पुरा गर्न र सुस्ताउँदै गएको नेपाली विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिने एउटै विकल्प अहिले घोषणा भएको उमेर हदबन्दी कार्यान्वयन गर्दै स्ववियु निर्वाचन गर्नु हो ।विद्यार्थी संगठनहरुको लागि यो एउटा राम्रो मौका पनि हो । यसलाई हामीले सदुपयोग गर्न सकेनौं भने ठूलो मुल्य चुकाउन पर्नेछ । नेपाली विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिको अहिलेसम्मका उपलब्धि बालुवामा पानी सरह हुनेछ ।

वास्तवमा स्ववियु विद्यार्थी हकहित र अधिकार प्राप्तिका लागि मात्रै नभई जनजीविकाका सवाल र राष्ट्रियताका सवालमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले स्ववियु निर्वाचनलाई पनि समय सापेक्ष बनाउँदै लानु आवश्यक छ । अनियमितता र भ्रष्टचारको अखडा बनेको स्ववियुलाई हामीले विद्यार्थी हकहितका लागि प्रयोग गर्नु आवश्यक छ । करोडौं पैसा खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरी गुन्डागर्दीको आडमा चुनाव जित्ने र जितेपछि कहिल्यै विद्यार्थीको माझमा नफर्कने,चुनावमा भएको खर्च असुल्नका लागि विद्यार्थी कल्याणकारी कोषको दुरुपयोग गर्ने परम्पराको अन्त्य गर्नु जरुरी छ । त्यसका लागि सुरुबाटै आचारसंहिता बनाएर जानु उपयुक्त हुन्छ ।

अन्तमा, स्ववियुलाई कस्तो बनाउने भन्ने कुरा सम्पूर्ण विद्यार्थी संगठनहरु,नियमित र वास्तविक विद्यार्थीहरुको हातमा रहेको छ । विगतमा हुने गरेका कमी कमजोरीहरुलाई सुधार गर्दै सभ्य र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्नेदेखि उपयुक्त उमेदवार चयन गर्नमा हामीसबैको महत्वपूर्ण भूमिका रहेको छ । विगतमा स्ववियुको नाममा कमाउ धन्दामा लाग्ने,चुनाव जितेपछि विद्यार्थीहरुको हक हितका लागि सिन्को नभाँच्ने प्रवृत्ति हाबी भएकै हो । निर्वाचनको मिति घोषणा भएपछि रातारात फर्जी विद्यार्थी भर्ना गरी पैसा र गुन्डागर्दीको आडमा चुनाव जितेर विद्यार्थी राजनीति र समग्र विद्यार्थी आन्दोलनलाई नै कुरुप बनाउनेहरुलेलाई गतिलो पाठ सिकाउँदै वास्तविक र नियमित विद्यार्थीहरुको माझबाट उपयुक्त इमान्दार, सक्षम सवल कुशल नेतृत्व चयन गरी शिथिल बन्दै गएको विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिने सुवर्ण अवसर हाम्रोसामु आएको छ । यसको उचित उपयोग गर्न हामी चुक्ने छैनौं ।         

***


© People to People Media 2016. All rights reserved.