Thu, 27th Jul 2017

जाडो मौसममा छालाको स्याहार

जाडो मौसममा विभिन्न घरेलु उपाय अपनाएर छाला सम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ ।

भलाकुसारी | Published on 2017-01-11 |

छाला मानव शरीरको बाहिरी आवरण हो । त्यसैले जाडो मौसममा छालामा प्रत्यक्ष असर पर्दछ र छालासम्बन्धी अनेक समस्या आउन सक्छ । मुख्यतया जाडो याममा प्राय: सबैमा छाला सुख्खा हुने र सेतो, फुस्रो देखिने हुन्छ । यसबाहेक चिलाउने, एलर्जी हुने आदि छाला सम्बन्धी समस्या आउन सक्छ ।

जाडो मौसममा विभिन्न घरेलु उपाय अपनाएर छाला सम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ । निम्न उपायहरु छालाको हेरचाहका लागि लाभदायक हुन्छन्:

जाडो मौसममा छालामा रुखोपन बढ्ने भएकाले यसबाट छुटकारा पाउन तेल तताएर लगाउने गर्नुपर्छ । तोरी, नरिवल, बदामको तेलको प्रयोग फाइदाजनक हुन्छ ।

महमा धेरै औषधीको गुण हुन्छ । जाडो याममा नियमितरुपमा मह सेवन गर्नाले शरीरको तापक्रम सन्तुलन गर्न समेत मदत पुग्दछ । मह छालामा लगाउनाले छाला कोमल बनाउँछ ।

जाडो मौसमा चिसो पानीको प्रयोग गर्न गाह्रो हुन्छ । त्यसैले हामीले प्राय: तातोपानीको प्रयोग गर्छौं । धेरै तातो पानीको प्रयोग गरी नुहाउनाले छाला सुख्खा हुन्छ । नुहाउनको लागि मन तातो पानी उपयुक्त हुन्छ ।

भिटामीन सी युक्त खानेकुराको खानुपर्दछ । नुहाउने, धुने काममा धेरै कडा साबुन प्रयोग गर्नुहुँदैन । लामो समयसम्म हिटरमा बस्नु छालाको स्वास्थ्यको लागि राम्रो हुँदैन । लामो समयसम्म कडा घाममा बस्नु हुँदैन । एलर्जी हुने व्यक्तिले छालाको प्रत्यक्ष सम्पर्क हुने गरी उलनको कपडा लगाउनु हुँदैन । 
बजारमा छाला मुलायम बनाउने अनेक प्रकारका क्रिमहरु पाइन्छन् । सुनेकै भरमा जुनसुकै क्रिमको प्रयोग गर्नुहुँदैन । त्यसले छालासम्बन्धी समस्या निम्त्याउन सक्छ ।

***


© People to People Media 2016. All rights reserved.