Thu, 22nd Jun 2017

तिलको लड्डुका फाइदै फाइदा (बनाउने तरिका सहित)

तिलको लड्डु मानसिक र शारीरिक स्वास्थको दृष्टिले निकै लाभदायक

भलाकुसारी | Published on 2017-01-14 |

माघ संक्रान्ति नेपालको एक प्रमुख चाड हो । विभिन्न समुदायले यो चाडलाई बेग्लाबेग्लै हिसाबले मनाउने गर्दछन् । थारु समुदायमा माघी र अन्यले माघे संक्रान्तिको नाउँमा चाड मनाउने प्रचलन छ ।

ज्योतिष शास्त्र अनुसार यो दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति'भनिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ सर्दै जाने भएकाले दिन लामो र रात छोटो हुँदै जाने जनविश्वास रही आएको छ ।

माघ संक्रान्ति पर्वमा विभिन्न परिकार खाने र नदी तथा जलाशयहरुमा स्नान गर्ने गरिन्छ । घिउ, चाकु, तिलको लड्डु, तरुलर खिचडी यस पर्वमा खाइने परिकारहरु हुन् । 

तिलको लड्डु

तिलको लड्डु माघ संक्रान्तिमा बनाइने विशेष परिकार हो । तिल र गुडको मिश्रणबाट तयार हुने यो लड्डु संक्रान्तिको पूजामा प्रसादका रुपमा चढाउने गरिन्छ । तिलको लड्डु स्वादिलोमात्रै नभएर स्वस्थकर समेत हुन्छ ।

तिलको लड्डु कसरी बनाउने ?

आवश्यक सामग्री

तिल - १ कप

गुड - १ कप

घिउ - ३ चम्चा

अलैंची - चम्चा

पानी  - आधा कप

तिल र गुड बराबरी

बनाउने तरिका

  • तिललाई रातो-रातो हुनेगरी राम्रोसँग भुट्नुहोस् ।
  • कराईमा पानी उमालेर गुँडको बाक्लो घोल बनाउनुहोस् ।
  • गुँडलाई गाढा रंगको हुनेगरी पकाउनुहोस् ।
  • अलैंचीको धुलो र भुटेको तिल कराईमा मिसाएर राम्रोसँग चलाउनुहोस् ।
  • सो मिसावटमा घिउ हाल्नुहोस् ।
  • अब तयारी मिसावटलाई सानो सानो डल्ला बनाउनुहोस् ।
  • तिलको लड्डु तयार भयो ।

यसरी तयार भएको लड्डु एक महिनासम्म उपभोग गर्न सकिन्छ ।   

तिलको लड्डु मानसिक र शारीरिक स्वास्थको दृष्टिले निकै लाभदायक मानिन्छ । यो लड्डुमा प्रोटिन, क्यालसियम, भिटामिन बी कम्प्लेक्स, कार्बोहाइड्रेट आदि तत्व पाइन्छ । यसले शरीरको तापक्रम सन्तुलन गर्दछ, हड्डी स्वस्थ राख्न मदत मिल्छ । तौल कन्ट्रोल गर्न समेत सहयोग पुग्दछ ।

***


© People to People Media 2016. All rights reserved.