Mon, 25th Sep 2017

सि'यो र धागोको रामकहानी

अदालत पुगेका सि'यो सा'प र पुन:बहाली भएका पुराना सि'यो सा'प दुवै घरी योग्य र घरी अयोग्यजस्तो देखिने गरेका छन् ।

भद्रगोल शर्मा | Published on 2017-01-25 |

हाम्रा पालामा गाउँघरमा 'हात्ती छिर्‍यो पुच्छर अड्क्यो के हो ?' भनिकन केटाकेटीलाई गाउँखाने कथा सिकाउने चलन थियो । त्यसबखतमा हात्ती र पुच्छरको गाउँखाने कथा निकै प्रचलित थियो । सियो र धागोको सम्बन्धलाई जनाउने यो कथा केटाकेटीले निकै चाख मानी मानीकन भन्ने-सुन्ने गर्दथे ।

ऊबेला नेपालका गाउँबस्तीमा हातैले तुनेका पेटेभोटो, टोपी इत्यादि लगाउने चलन थियो । त्यसो हुनाले पनि धेरैजसो गाउँलेहरुले सियो र धागोको प्रयोजन अनि उपयोगिता छर्लङ्गै बुझेका हुनुपर्छ ।

गाउँखाने कथाअनुसार पुच्छर अड्किए पनि अगाडि बढ्दै जाने हात्ती यानेकि सियोले कैयन् केटाकेटीका लागि भोटो, टोपी, सुरुवाल, जाँघे इत्यादि बनाउँथ्यो । उध्रेका लुगाफाटोलाई फेरि तन्दुरुस्त बनाइकन एकदुई हिउँद-बर्खा काट्न सघाउँथ्यो । फाटेका सर्ट, पाइन्ट, इस्टकोट आदिमा टालो हालिकन, रुफु भरिकन अरु दुईचार महिना आङ ढाक्न मिल्ने बनाउँदथ्यो । हातले सुर्केर बनाइएका तिनै लुगा लगाएर हुर्किएका मानिसले सियो निकै नै उपयोगी जिनिस हो भनिकन बुझ्ने गरेका छन् ।

एकथरी सानैदेखि अलिक छट्टु, चकचके स्वभावका बालबालिकाले सानैमा उपद्रो गर्दा र असावधानीवश सियो चलाउँदा त्यसले आफ्नै हातमा चसक्क दुख्ने गरी घोचेको पनि अनुभव गरेका हुनुपर्छ । ऊनीहरुले सियो भन्ने जिनिस कामलाग्दो भए तापनि चलाउँदा बहुतै होशियारी अपनाउनु पर्छ भन्ने कुरा बिर्सिएका छैनन् ।

सियो भन्ने जिनिस उहिल्यै बाबु/बाजे, बराजुका पालादेखि चल्दै आएको भएपनि सि'यो भन्ने मान्छेहरु हाम्रो देशमा भेटिन थालेको खासै लामो समय भएको छैन । रिडियो, टमाटर, डाउटरजस्तै गरी सि'यो र सि'यो सा'पको चलन नेपालमा चलेको हुनुपर्छ भनी हामी सबैले अनुमान लगाउन सक्दछौं ।

चलन जसरी चलेको भएपनि सि'यो सा'पले सियोले जस्तो घरिघरि चसक्क दुख्ने गरी घोच्दैनन् । बरु बेलाबखत सि'यो सा'पहरुको कारण तहल्का नै मच्चिने गरेको छ । विगतमा अरु सि'यो सा'पहरुले पनि कहिलेकाहीँ गडबड, खलबल वा हलचल नमच्चाएका होइनन् । कुनै खास कम्पनीका, सार्वजनिक संस्था अथवा बैंकका सि'यो सा'पहरुले गर्ने गडबड होस् कि उनीहरुमाथि अरुले गर्ने गडबडी होस्, बेलाबखत तरङ्ग आउनु र नारा-जुलुस, जोर-जुलुम हुनु नौलो कुरा थिएन । यसमा हामी बानी परिसकेका थियौं ।

२०७२ सालको भुइँचालोले देशै थर्थरी काँप्यो । अर्थतन्त्र थर्थरी काँप्यो । जनजीवन थर्थरी काँप्यो । तहाँ उप्रान्त सरकारले काँपेको देशलाई, दुखेका जनतालाई राहत दिन्छु भनिकन नयाँ सि'यो सा'पको व्यवस्था गर्ने निर्णय गर्‍यो ।

नयाँ सि'यो सा'पको व्यवस्था गरिसक्दा नसक्दै गलफत्ती पर्‍यो । सि'यो सा'प कसलाई बनाउने ? कसलाई बनाउँदा ठीक हुन्छ भनेर रात-विरात चिन्ता र चिन्तन भए । अनेक तिकडम, वादविवाद र मन्थन भए । आखिरीमा नयाँ सि'यो सा'पको नियुक्ति भइछाड्यो ।

नियुक्ति हुने बित्तिकैदेखि नयाँ सि'यो सा'प दलहरुको तानातानमा परे । एकथरीले हुन्छ, हुन्छ । ठीक छ, ठीक छ भन्ने । अर्काथरीले हुन्न, हुन्न भन्ने गर्दागर्दै सत्ता परिवर्तन भै'गयो । अध्यादेशबाट गठन भएको पुनर्निर्माण प्राधिकरण संकटमा पर्‍यो । समयमा अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा पेश भएन ।

नयाँ विधेयकसँगै नयाँ सरकारले पुराना सि'यो सा'पको ठाउँमा नयाँलाई लिने व्यवस्था गर्‍यो । फेरि नयाँ सि'यो सा'पको खोजी भयो ।

भुकम्पले बेहाल भएका जनताको चिन्ता गर्ने फुर्सद कसैलाई भएन । सारा देशभरि सि'यो सा'पको विषयमा खैलाबैला भयो । सरकारैपिच्छेका सि'यो सा'प र तिनको आआफ्नै स्टाइल । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै भयो । अन्तत: सि'यो सा'पको नियुक्ति भयो ।

नयाँ सि'यो सा'प नियुक्त भएपनि कहिले सरकारी हाकिमहरुले ठेल्न खोजे । कहिले इन्जिनियर सा'पहरुले ठेल्न खोजे । यति हुँदाहुँदै पनि टेकिएका सि'यो सा'पलाई दुई दुईपटक स्पष्टीकरण लिएर सरकारले नै अयोग्य घोषणा गरिदियो । ऊबेलाका सि'यो सा'पलाई जस्तै नयाँलाई पनि नयाँ सरकारले रुचाएन ।

यौटा सरकारले एकजना सि'यो सा'पलाई बिरालाले मुसो खेलाएझैं गर्ने अनि अर्को सरकारले अर्का सि'यो सा'पलाई पराई ठान्ने गर्दागर्दै भूकम्पले पिल्सिएका जनता झनै अलपत्र परे ।

नयाँ सि'यो सा'पलाई सरकारले 'अयोग्य' गरेपछि उनेल सरकार दोषी रहेको बताए । र, अदातलको ढोका ढक्ढकाउन गए । अब जे गर्छ अदालतले नै गर्छ । तर, बजारमा सरकारले पुराना सि'यो सा'प रुचाउने, अदालतले पनि पुराना नै रुचाउने पो होकि भन्ने हल्ला चल्न थालिसकेको छ ।

अदालत पुगेका सि'यो सा'प र पुन:बहाली भएका पुराना सि'यो सा'प दुवै घरी योग्य र घरी अयोग्यजस्तो देखिने गरेका छन् । जनताले भने कतै समस्या सि'योमा भन्दा पनि धागोमा पो होकि भन्ने सोच्न थालेका छन् ।

सियो र धागोलाई नयाँ ढङ्गले, नयाँ सोचले व्याख्या गर्नुपर्ने कुरा जोडतोडका साथ उठ्न थालेको छ । सि'यो अयोग्य हुने कारण धागो नै हो भन्ने तर्कपनि उत्तिकै बलियो हुँदै गएको छ ।

यस्तै गञ्जागोलको समयमा कलाकार हरिवंश आचार्यले 'सि'ओ धागोको टुप्पामा मात्रै बस्ने भएकाले सी'ओलाई भन्दा धागोहरुलाई कारबाही गर्नुपर्ने' माग गरेका छन् ।

सियोभन्दा धागो पो लामो हुन्छ । सि’ओलाई दोष थोपरेर धागोलाई उम्किन दिनुहुँदैन भन्ने हरिवंशको तर्क छ ।

नारायण हरीहरी!

***


© People to People Media 2016. All rights reserved.