Thu, 22nd Jun 2017

एपेन्डिसाइटिस: जटिल रोग, सजिलो उपचार

नाइटो वरिपरिबाट शुरूभई पेटको दुखाइ तल्लो पेटको दायाँतिर सर्न थाल्यो भने एपेन्डिसाइटिस भएको शंका गर्नुपर्छ ।

भलाकुसारी | Published on 2017-02-19 |

एपेन्डिक्स र एपेन्डिसाइटिस

मानव शरीरमा रहने आन्द्राको कार्य निकै महत्वपूर्ण हुन्छ । आन्द्राले खानाबाट शरीरलाई आवश्यक पोषण तत्व लिने तथा अनावश्यक पदार्थ त्याग गर्ने कार्य गर्दछ । मानवको पेटभित्र रहने सानो आन्द्राको अन्त्य भई ठूलो आन्द्रा शुरू हुनासाथै भेटिने सानो अङ्ग नै एपेन्डिक्स हो । यो तीन इन्चजति लम्बाई भएको जुकाजस्तै आकृतिको हुन्छ । एपेन्डिक्स भनिने यो अङ्गभित्र कुनै अवरोध भयो भने सुन्निन्छ । कहिलेकाहीँ गम्भीर किसिमको अवरोधका कारण यो अङ्ग फुट्न पनि सक्छ ।  जसलाई मेडिकलको भाषामा एपेन्डिसाइटिस भन्ने गरिन्छ । आम मानिसले भने यस्तो समस्यालाई 'एपेन्डिक्स भएको' भन्ने गर्दछन् । यो रोगबारेको तथ्य सन् १८८६ मा पत्ता लागेको थियो । एपेन्डिसाइटिस दुईवर्ष मुनिका बालबालिकामा बिरलै पाइन्छ भने अक्सर १० देखि ३० वर्षका व्यक्तिमा बढी हुन्छ ।

 

जटिल समस्या हो, सजिलै उपचार हुन्छ

एपेन्डिसाइटिस मानव स्वास्थ्यमा आकस्मिक रुपमा आउने घटना हो । समयमै उपचार गर्न नसकेको खण्डमा यसबाट ज्यान समेत गुम्न सक्छ । यसको उपचार शल्यक्रिया(अपरेसन) नै हो । शल्यक्रिया बाहेक अरु उपचार हुँदैन । तर, यो शल्यक्रिया एकदमै सरल किसिमको हुन्छ । शल्यक्रियापछि समस्याबाट पूर्णरुपमा मुक्त हुन सकिन्छ ।

 

लक्षण

नाइटो वरिपरिबाट शुरूभई पेटको दुखाइ तल्लो पेटको दायाँतिर सर्न थाल्यो भने एपेन्डिसाइटिस भएको शंका गर्नुपर्छ । हल्का ज्वरो आउने,खान मन नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने आदि यसका लक्षणहरु हुन् ।

 

कारणहरु

एपेन्डिक्स भन्ने अङ्गमा चोट लाग्ने, पेटमा जुका पर्ने, साह्रो दिसाको कारण एपेन्डिक्सको प्वाल बन्द हुन गई एपेन्डिसाइटिसको समस्या देखा पर्दछ । नियमित दिसा नहुने, रेसादार खानेकुरा कम खाने आदि कारणले एपेन्डिसाइटिस हुने सम्भावना बढाउँछ । मैदाबाट बनेका खानेकुराको साटो प्रशस्त फलफूल र रेसादार खानेकुरा बढी खानु लाभदायक मानिन्छ ।

***


© People to People Media 2016. All rights reserved.