Mon, 25th Sep 2017

पर्यटनमा फोकस गर्ने हो भने १० वर्षमा देशको मुहार फेरिन्छः शेर्पा

नेपालमा पर्यटकको संख्यामा ४० प्रतिशतले ह्रास आउँदा भारतमा ३० प्रतिशत पर्यटक बढेका छन् । यसमा नेपाली मिडियाले रचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्थ्यो ।

गंगा अधिकारी | Published on 2017-02-20 |

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा पर्यटनको माध्यमबाट नै नेपाल सम्बृद्ध बन्नेमा दृढ विश्वास राख्छन् ।

प्रस्तुतु छ, एक सफल युवा पर्यटन उद्यमीको रुपमा स्थापित शेर्पासँग भलाकुसारी डटकमका लागि गंगा अधिकारीले गरेको कुराकानीः

 

गत वर्षको भूकम्पपछि थलिएको नेपालको पर्यटन व्यवसाय अहिले कस्तो अवस्थामा छ ?

२०१४ देखि नेपालको पर्यटन क्षेत्र समस्यामा छ । २०१५ मा गएको भूकम्पपछि त झनै तहस नहस नै भयो । भूकम्पले भन्दा अझ बढी असर भारतीय नाकाबन्दीले पारेको हो कि भन्ने विश्लेषण पर्यटन व्यवसायीको छ । नाकाबन्दीको समयमा पर्यटन क्षेत्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर नीजि क्षेत्रले देखाएको सक्रियताले अहिले सन्तोषजनक अवस्थामा छ । संकट भने अझै टरेको छैन । यसमा राज्यको भूमिका कमजोर भएको हो कि भन्ने भान हुन्छ ।

 

भूकम्पका कारण पर्यटक घट्नैपर्ने अवस्था थियो त ?

त्यस्तो अवस्था थिएन । तर, भूकम्पका कारण सगरमाथामा विदेशी पर्वतारोहीको मृत्यु हुनु र यहाँका पर्यटकीय भौतिक संरचनाहरु ध्वस्त हुनु हाम्रा लागि विडम्बना बन्यो । भूकम्पले मुख्यतया देशका १४ जिल्लामा क्षति गरेको हो । बाँकी जिल्लामा भूकम्पको प्रभाव आंशिक रुपमा परेको थियो । त्यसैले पर्यटकीय दृष्टिकोणले नेपाल सुरक्षित नै थियो ।

 

संख्यात्मक रुपमा त धेरै पर्यटक घटे नि । हैन ?

हो, भूकम्प र नाकाबन्दीका कारण नेपाल आउने पर्यटकको संख्या ४० प्रतिशतले घटेको छ । भूकम्प गएपछि विशेष गरी भारतीय मिडियाले नेपालको विषयमा धेरै नकारात्मक समाचार प्रसारण गरे । उनीहरुले नेपाल पर्यटकीय दृष्टिकोणले असुरक्षित छ, बस्न, खानका लागि राम्रो वातावरण छैन भनेर प्रचार गरे । उनीहरुले यसो गर्नुको कारण नेपाल आउने पर्यटकको गन्तव्य भारत बनोस् भन्ने थियो । र, यस मामिलामा उनीहरु सफल पनि भए । नेपालमा पर्यटकको संख्यामा ४० प्रतिशतले ह्रास आउँदा सोही समयमा भारतमा ३० प्रतिशत पर्यटक बढेका छन् । यसमा नेपाली मिडियाले रचनात्मक भूमिका निर्वाह गर्न सकेन । भूकम्पको क्षति, असर, पराकम्पन, पर्यटकीय भौतिक संरचनामा क्षति, त्यसले पर्यटन व्यवसायलाई पारेको प्रभाव आदिका बारेमा नकारात्मक समाचार मात्रै सम्प्रेषण भयो । जसका कारण अझैसम्म नेपालमा त्यस्तै संकट छ भन्ने विदेशीको दिमागमा बसेको छ।

वार्षिक ३० लाख पर्यटक पुर्‍याउन सकियो भने वार्षिक १२ खर्ब रुपैयाँ नेपाल आउँछ । यहाँ आउने १ जनाले औसत चार हजार डलर खर्च गर्छन् । त्यसैले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिनुपर्छ ।

राज्यभन्दा पनि नीजि क्षेत्रका कारण नेपालको पर्यटन व्यवसाय फस्टाएको भनिन्छ । पर्यटनको विकासमा राज्यको ध्यान नपुगेकै हो ?

जुन रुपमा हुनुपर्ने हो अझैसम्म त्यसो हुन सकेको छैन । सामान्य रुपमा चलेकै छ । व्यवसायीले चलाएका छन् । विदेशबाट वर्षेनि १०/१५ लाख पर्यटक आउँदा बस्ने राम्रो व्यवस्था छैन । सोही अनुसार एयरलाइन्स छैनन् । पर्यटन सहर बनेको छैन । अहिले जेजति छ, सबै नीजि क्षेत्रले आफ्नो लगानीमा संचालन गरेका व्यवसायहरु छन् । खै राज्यले ३/४ लाख विदेशी पर्यटक एकै ठाउँमा अटाउन सक्ने पर्यटकीय सहर बनाएको ?

अझ नेपाललाई प्रकृतिले दिएका केही हिमालहरु र पर्यटकीय क्षेत्रलाई समेत निषेधित क्षेत्र घोषणा गरेको छ राज्यले । माथिल्लो तथा तल्लो डोल्पा, गोरखाको मनास्लु क्षेत्र, चुम उपत्यका लगायतका नौ क्षेत्रमा पदयात्रा तथा आरोहणका लागि सरकारले घोषणा गरेको निषेधित क्षेत्रले विश्वमा के सन्देश जाला ? चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका ती क्षेत्रलाई तत्काल खुला गर्नुपर्छ । चीन स्वयंले विश्व समुदायका लागि आफ्नो भूभाग खुला गरेको परिप्रेक्ष्यमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गर्नु अर्थपूर्ण छैन ।

 

राज्यको कस्तो भूमिका चाहन्छन् पर्यटन व्यवसायी ?

व्यवसायीले पर्यटन क्षेत्रमा राज्यको स्पष्ट नीति चाहियो भनेर माग गरिरहेका छन् । यसमा राज्य संयन्त्र पनि सकारात्मक देखिएको छ । हाल २०३३ सालको पर्यटन नीतिमा आधारित पर्यटन व्यवसाय चलेको छ । जुन अहिलेको समय सान्दर्भिक छैन । यसलाई तत्काल परिवर्तन गरेर समय सान्दर्भिक बनाउनुपर्ने राज्यको पहिलो जिम्मेवारी हो । राज्यले ल्याएको नीतिकै आधारमा पर्यटन व्यवसायको विकास, बिस्तार तथा प्रवर्धन गर्न सकिन्छ ।

राज्यले पर्यटन व्यवसायलाई आधुनिक युग अनुकुल बनाउन सकेको छैन । हामीले दिएको सुझावको आधारमा संशोधन विधेयक तयार भए तापनि नयाँ नीति बनिसकेको छैन । सरकारले पर्यटन क्षेत्रका विज्ञहरु राखेर काम गर्नुपर्छ । पर्यटन नीतिलाई समयानुकुल बनाउनु पर्छ ।

 

पर्यटन व्यवसायबाट राज्यले पनि राम्रै लाभ लिन सक्छ नि हैन ?

लिन्छ । किन नलिनु । पर्यटन व्यवसायीले सरकारलाई कर बुझाइरहेका छन् । सगरमाथा चढेको मात्र १ जनाबाट ११ हजार डलर आाउँछ, रोयल्टी र ट्याक्सबाट । निषेधित हिमाली क्षेत्र खुला गर्ने, ३/४ वटा अन्तर्राष्टिय एयरपोर्ट निर्माण गर्ने, आधुनिक पर्यटन सुविधा सम्पन्न सिटी बनाउने, दक्ष जनशक्ति उत्पादन गर्नेजस्ता कार्य राज्यले गर्ने हो भने यस क्षेत्रबाट ठूलो फाइदा लिन सकिन्छ ।

 

पर्यटनको विकासका लागि राज्यले गर्नुपर्ने काम केके हुन् ? अझै प्रष्ट पारिदिनुहुन्छ कि ?

नेपालको पर्यटनको वर्तमान अवस्था सन्तोषजनक मात्र छ । तर, यसको भविष्य निकै राम्रो छ । अहिले वर्षेनि ४/५ लाख पर्यटक आउँदा पनि यो व्यवसाय राज्यको तेश्रो आर्थिक स्रोत बनेको छ । अब तपाईं आफै सोच्नुस् १०/१२ लाख पर्यटक आए के हुन्छ । अझ १५/२० लाख आए यसले नै देशलाई धान्छ । ३० लाख आए भने नेपाल एसियाकै नमुना देश बन्न सक्छ । देश आफै चल्छ । हामी आर्थिक रुपमा अरुमा निर्भर हुनु पर्दैन ।

निषेधित क्षेत्र खुल्ने, वैदेशीय उडान थप्ने र विदेशीको आगमनलाई सहज बनाउने, पूर्वाधारको विकास गर्ने, पर्याप्त होटल बनाउने, सरकारी स्तरबाटै प्रचारप्रसार गरेर नेपालको पर्यटन क्षेत्रको जानकारी विश्वसामु पुर्याउने, विशेष कार्यक्रम र योजनाहरु बनाउने, पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्ने, पर्यटकीय स्थलको संरक्षण र संवर्धनमा ध्यान दिने, समयानुकुल पर्यटन नीति बनाउने, पर्यटन सहर बनाउने हो भने नेपालमा वार्षिक १५ लाख पर्यटक भित्र्याउन गाह्रो छैन । बिस्तारै वार्षिक ३० लाख पर्यटक पुर्‍याउन सकियो भने वार्षिक १२ खर्ब रुपैयाँ नेपाल आउँछ । यहाँ आउने १ जनाले औसत चार हजार डलर खर्च गर्छन् । त्यसैले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिनुपर्छ ।

 

त्यसका लागि नेपालसँग आवश्यक जनशक्ति छ ?

नेपालमा पर्याप्त शिक्षित जनशक्ति छैन । यसका लागि पनि सरकारले विशेष योजना बनाउनुपर्छ । त्यसलाई पछ्याउने काम हाम्रो हो । मैले माथि भनेका कुराहरु मिल्दै जाने हो भने युवाहरुले सोही अनुसारको रोजगार पाउँछन् र विदेशिनुपर्ने समस्या रहँदैन ।

 

पर्यटन क्षेत्रमा समग्रमा राज्यको भूमिका कमजोर रहेका बेला नेपाल पर्यटन बोर्डको भूमिका कस्तो छ ?

पर्यटन बोर्डले जुन काम गर्नुपर्ने हो, त्यो गरेको छैन । भनौं भने बोर्ड पूर्णरुपमा असफल छ । राम्रो पर्यटन नीति ल्याउन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरमा कुनै भेला, छलफलमूलक कार्यक्रम गर्न सकेको छैन । बोर्डसँग पैसा हुँदाहुँदै पनि त्यसलाई उचित ठाउँमा प्रयोग गर्न सकेको छैन ।

अर्कोतर्फ पर्यटन क्षेत्रमा लागेका, हिमाल, कुना काप्चा थाहा भएको मानिसलाई बोर्ड सदस्य बनाउनु पर्‍यो । नियुक्ति गर्दा विज्ञ मान्छे छनोट गर्नु पर्‍यो । पर्वतीय पर्यटन बुझेको मान्छे हुनु पर्‍यो । कुर्सीमा बसेर भाषण छाँट्नेको के काम ? कुर्सीमा बसेर नीति बनाउने त नेपाल सरकार छँदै छ नि । बोर्डले अहिलेसम्म एकजना पनि सगरमाथा आरोहीलाई नियुक्ति गरेको छैन ।

 

अन्त्यमा,

नेपालमा आन्तरिक पर्यटन राम्रो छैन । नेपालीसँग घुमफिरका लागि पैसा छैन । आन्तरिक पर्यटनले पोखराको पैसा काठमाण्डु, काठमाण्डुको लुम्बिनी, लुम्बिनीको चितवन जाने मात्रै हो । त्यसैले हामीले विदेशी पर्यटकलाई नै फोकस गर्ने हो ।

पर्यटनलाई मात्र जोड दिएर अन्य विकासका सम्भावना बोकेका पूर्वाधारलाई वेवास्ता गर्ने भन्ने होइन । पर्यटनसँगै कृषि र ऊर्जा क्षेत्रको सम्भाव्यता पनि नेपालमा उत्तिकै छ । यी तीन कुरालाई सँगसँगै अघि बढाउँदै लाने हो भने अबको १० वर्षभित्र देशको मुहार फेरिने निश्चित छ ।

त्यसैगरी राजनीतिक अस्थिरताले पनि देश विकासमा बाधा पुर्‍याएको छ । स्थिर राजनीति हुने हो र सबै राजनीतिक दल दत्तचित्त भएर देश विकासमा लाग्ने हो भने प्राकृतिक स्रोत, साधन र सम्पदाले धनी देश नेपाल एसियाकै नमुना देशको रुपमा विकास हुन धेरै समय लाग्दैन । यसका लागि जनताले पनि आफ्नो स्तरबाट सहयोग गर्नुपर्छ । राज्यले सबै क्षेत्र, तप्का र संयन्त्रसँग हातेमालो गर्दै अघि बढ्नुपर्छ ।

***


© People to People Media 2016. All rights reserved.