Tue, 21st Nov 2017

अंकल युगको अन्त्य ?

यसपालि कसले जित्छ टुङ्गो छैन । को उमेदवार बन्छ टुङ्गो छैन । गजबै हुने भो ।

भद्रगोल शर्मा | Published on 2017-02-22 |

'यसपालिदेखि अंकल युगको अन्त्य हुने भो', यौटा बोल्यो । बाँकी दुईजनाले सही थापे । दोस्रोले शंका गर्‍यो, 'होला त ?' तेस्रो बोल्यो- अहिले नभए कहिल्यै हुन्न । अघिअघि हिँडिरहेका तीनजना केटाको अनौठो सवाल-जवाफले म अल्मलिएँ ।

उनीहरु अघिदेखि नै पुरै बाटो कब्जा गरेर हिँडिरहेका थिए । घरि दाहिने, घरि देब्रेतिरबाट उछिन्ने कोशिस गर्दापनि पार लागेको थिएन । भरसक उनीहरुलाई सम्बोधन नगरीकन उछिन्ने चाहना मेरो । तर, मौका मिलिरहेको थिएन ।

आखिर बाटो हिँड्ने अधिकार र बाटो त सबैको हो । अरुको वास्तै नगरी एकोहोरिएर हिँड्नेहरुलाई बोलाउनु त परै जाओस्, अरुले नै 'एस्क्युज मी!' भनेको सुन्दापनि झोँक चल्छ । म असिनपसिन भइसकेको थिएँ । कन्सिरी तात्न थालिसकेको थियो । बोलाएर उछिन्ने इच्छा छैन । नबोलाए उनीहरुले टेर्दैनन् । न मैले बाटो माग्ने, न उनीहरुले छोड्ने ।

यत्तिकैमा उनीहरुको नयाँ विषयले कौतुहल जाग्यो । अङ्कल युगको अन्त्य ? अङ्कल युगको अन्त्य गरेपछि पिताजीको युग, हजुरबा बन्ने युगको बाटो छेकिँदैन ? बाटो नछोडिएको गुनासो एकाएक मनबाट गायब भयो । केटाहरुले के भन्दै रै'छन् जान्न मन लाग्यो । जहाँसम्म बाटो यौटै हुन्छ, त्यहाँसम्म पछिपछि जाने । सकेसम्म अङ्कल युगको बारेमा जान्ने हुटहुटी चल्यो । लुरुलुरु तिनीहरुकै पछि लागेँ ।

'जेहोस् यसपालि अङ्कलहरु साइड लाग्ने भए', यसपालि सुरुमा बोल्ने केटो अझै विश्वस्त सुनियो । पच्चीस-सत्ताइस वर्षका जस्ता लाग्ने क्याम्पसे केटाहरु 'अङ्कल' र 'अङ्कल युग'को गफमा मस्त थिए । मेरो जिज्ञासा साम्य भइसकेको थिएन ।

'सबैतिर भद्रगोल हुने भो', दोस्रोले थप्यो । 'यसपालि तैँले टिकट पाउने भइस्', अर्को बोल्यो- 'उमेदवार खोज्नको हैरान ! कसले जित्छ टुङ्गो छैन । को उमेदवार बन्छ टुङ्गो छैन । सबै रनभुल्लमा छन् । गजबै हुने भो ।'

अब भने कुराको चुरो बुझियो । क्याम्पसे राजनीतिवाला केटाहरु रहेछन् । स्ववियु चुनावको कुरा गर्दै रहेछन् ।

अस्तिसम्म दादा' भन्दै पछि लाग्नेहरु सबैले यसपालि भने उमेरको हदबन्दी नाघेका जति सबैलाई 'अङ्कल' भन्दै छन् । सकेसम्म खिसिटिउरी र छेडछाड गर्दैछन् । काइदा यहीँनेर छ । मौका पाउँदा बुढाहरुले सबै ओगटे भन्ने । उनीहरुको देखि नसहने । तर, अगाडि पर्दा पाउ मोल्न पनि तयार हुने । सकेसम्म फाइदा लिने चलन माउ पार्टीमा ज्युँका त्युँ छ ।

विदेशमा बसेर देश बिग्रियो भन्नेहरुको कमी छैन । बुढाहरुले डुबाए भन्नेहरु सर्वत्र छन् । तर, बुढाहरुलाई किनारा लगाउने, बुढाहरुलाई चुनौती दिने, उनीहरुले भन्दा गतिलो काम गरेर दुनियाँलाई देखाउने मान्छे भेट्न मुस्किल छ । संस्कार र स्कुलिङ सनातनी नै भयो भने देखिन् युवा भनेर के फुर्ती लाउनु ? पारा उही, ताल उही, चाल उही, रवैया उही, पाखण्ड उही, ढङ्ग उही तर उमेरमात्रै कच्चा भयो भने सुध्रिएला त देश ? बरु पहिला नबेहोरेका नयाँ मान्छेको चर्को चालको फेला पो परिने हो कि ?

यिनै तर्कना गर्दै उनीहरुको पछि लागिरहेकै बखत यौटा अलि जोडले करायो ।

'टीयूले ठीक गर्‍यो । जीत जोसुकैको होस् । अङ्कल युगको अन्त्य हुने पक्का भयो ।' यस्तो निष्कर्षमा पुग्ने बित्तिकै उनीहरु दाहिनेतिर मोडिए । मलाई त्यसको ठीक उल्टो जानु थियो ।

...

यसपालि कुचोले गर्नु बतासले गर्‍यो भनेझैं टीयूले नै तारबार लगाइदिएर नवयुवालाई मैदान खुला गरिसेकेको जो छ ।

अङ्कलहरुले वैधानिकरुपमै हारे । पछि परे । उनीहरुको युग रहेन । चुनाव कुरेर डिग्री थप्दै/दोहोर्‍याउँदै बस्नेहरु किनारा लागे । तरपनि यो उतिसारो खुशी हुनुपर्ने विषय होइन । बरु अङ्कलहरुको रवैया नवयुवकमा नसरे जाती हुन्थ्यो ।

मैले गम खाएँ ।

***


© People to People Media 2016. All rights reserved.