Tue, 21st Nov 2017

साँखुमा गणतन्त्र

भद्रगोल । बेथिति । मनपरी । अनुशासनहीनता । गैरजिम्मेवारी । जताततै भीडभाड, धुलोमैलो । साँखु साँखुजस्तो रहेन

भद्रगोल शर्मा | Published on 2017-03-01 |

काम विशेषले राजधानीको चाबहिलतिर डुल्दै गर्दा एकजना कवि भेटिए । साँखु क्षेत्रका स्थानीयबासी कवि महोदय भेटिएपछि मैले उनको हालचाल सोधेँ । ठीकठाकै छ भन्ने उत्तर आयो । साँखुतिर के छ गतिविधि ? मेरो प्रश्नको तात्तातो उत्तर दिँदै कविजी बोले, "साँखुमा गणतन्त्र आयो ।"

यत्ति बोल्नासाथ कवि महोदयको भृकुटी खुम्चियो । मुहार चरम निराशाले भरियो । खुइय गर्दै फेरि थपे- हो हजुर, साँखुमा गणतन्त्र आयो ।

मेरो सोधाइ अनि कविजीको उत्तर दुई ध्रुवतिर भएजस्तो लाग्यो । म जिल्लिएँ ।

मैले साहित्यिक गतिविधिको बारेमा जान्न खोजेको प्रष्ट्याएँ । कवि महोदय झनै निराश देखिए । प्रश्नको आशय पहिल्यै बुझेको बताउँदै उनले प्रतिप्रश्न गरे, जब साँखु नै साँखुजस्तो रहँदैन भने कविताको के कुरा ? अब साँखु पहिलेजस्तो रहेन । यानेकि साँखुमा गणतन्त्र आयो ।

कविजी, देशमा दशवर्षअघि आएको गणतन्त्र साँखुमा बल्ल आइपुग्यो ? कतै बौद्ध, जोरपाटीतिर जाममा परेर पो हो कि ? मेरो जिज्ञासासँगै कविजी कड्किए - बरु यो गणतन्त्र नआएकै भए जाती हुन्थ्यो । उतै जाममा परेकै वेश हुन्थ्यो । लापत्ता नै भएपनि केही फरक पर्दैनथ्यो । र, यदि आउनु नै थियो भने बेतिथिको पर्याय भएर नआएको भए हुन्थ्यो ।

यसपालि कविजीले मलाई अक्क न बक्क पारे । म अझै प्रस्ट हुन चाहेँ । कविजी साँखुमा खास भएको के हो ? बताइदिनोस् न । गणतन्त्र नआएकै भए जाती भन्नु समय विरोधी कुरा भएन र ? देशमा दशवर्षअघि आएको गणतन्त्र र साँखुमा अचेल आएको गणतन्त्र यौटै हो कि नाइँ ?

आकाशतिर हेरेर खुइय गर्दै कविजी बोले- भद्रगोल । बेथिति । मनपरी । अनुशासनहीनता । गैरजिम्मेवारी । जताततै भीडभाड, धुलोमैलो, डोजर र ट्रिपरको ओहोरदोहोर, डाँडापाखा सबैतिर प्लटिङ । उब्जनी हुने जग्गा र किसान सबैभन्दा निम्छरो भयो । साँखुको कसैलाई मतलब नै छैन । कसैलाई चिन्ता छैन । साँखु साँखुजस्तो रहेन ।

हेर्नुस्, अचेल साँखुमा गणतन्त्र आयो । नयाँ नेपाल आयो, साँखुमा । गणतन्त्र नआउञ्जेलसम्म यतिविधि अस्तव्यस्त थिएन । जसले जे गरेनि हुने अवस्था थिएन ।

कविजी शान्त भइसकेका थिएनन् । गोजीमा मोबाइल फोन करायो - "सयौं थुङ्गा फूलका हामी यौटै माला नेपाली ।"

दुईचार मिनेट पर्खिए तापनि फोनसंवादमा व्यस्त कविलाई फुर्सद हुने छाँट नदेखेपछि मैले हातको इशाराले बिदा मागेँ । कुमले मोबाइल फोन कानमा अड्याएर कविजीले दुईहात जोड्दै बिदा दिए ।

साँखुमा गणतन्त्रपछिको गञ्जागोलमा केन्द्रित गन्थन र गथासोबाट मुक्त भएर म आफ्नो गन्तव्यतर्फको यात्रा गर्दो भएँ । 

***


© People to People Media 2016. All rights reserved.