Fri, 18th Aug 2017

थामी जातिबारे जानौं

थामी अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी जनजाति हो

सपना खूर्पे थामी | Published on 2017-03-05 |

नेपाल सरकारले नेपालका विभिन्न ५९ जनजातिलाई आदिवासी जनजाति भनेर वैधानिकरुपमा प्रमाणित गरेको छ । आदिवासी जनजातिहरुलाई पनि सरकारले ५ वर्गमा छुट्याएको छ । जसमध्ये थामी अतिसीमान्तकृत वर्गमा पर्ने आदिवासी जनजाति हो ।

राज्यका विभिन्न निकायमा केन्द्रस्तरसम्मको पहुँच नहुँदा थामी जाति अति सीमान्तकृत वर्गमा रहन बाध्य भएको हो । अन्य आदिवासी जनजातिहरुको जस्तै थामी जातिको पनि आफ्नै छुट्टै मौलिक संस्कृति र पहिचान रहेको छ । थामी जातिको आफ्नै भेषभूषा, भाषा, रितिरिवाज र संस्कार/संस्कृति छ ।

ईतिहासअनुसार थामी जातिको उत्पत्ति दोलखा जिल्लाको सुस्पाको राङ्राङ्थली भन्ने ठाउँबाट भएको पाइन्छ । बुढापाकाहरु, स्थानीय बुद्धिजिवी,धार्मिक गुरुहरुको भनाई र विभिन्न लेख,समाचारहरुले पनि यसै तथ्यलाई सन्दर्भका रुपमा लिएर उल्लेख गर्ने गर्दछन् । 

थामी जातिको मुख्य पेशा कृषि हो।  प्राचीन समयमा धेरैजसो  र अहिले पनि कहीँकतै थामीहरुले डोको, गुन्द्री र भाङ्ग्रा बुन्ने काम पेशागत रुपमा गर्दछन् । हिजोआज थामी जातिका अधिकांश युवाहरु काठमाडौंमा भित्रिने क्रम बढ्दै गइरहेको छ । वैदेशिक रोजगारको शिलशिलामा विदेशिने क्रम यो जातिमा समेतदिन प्रतिदिन बाक्लो हुँदै गएको छ ।

दोलखा जिल्लामा थामीहरुको सबैभन्दा ठूलो जनसंख्या बसोबास गर्दछ । त्यसबाहेक सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, इलाम, भोजपूर, काभ्रे, उदयपूर लगायत १४/१५ जिल्लामा थामी जातिको संख्या उल्लेख्य रहेको छ । यी जिल्लामा बसोबास केन्द्रित रहेका थामीहरु अचेल देशका अन्य जिल्लामा पनि छिटफुट रुपमा बसोबास गर्ने गरेको पाइन्छ ।

थामी जाति किराँत धर्मावलम्वी हुन् । पुस्तौंदेखि नेपालमा बसोबास गर्दै आएका थामीहरु प्राचीनकालदेखि नै किराँतधर्मावलम्वी रहेको तथ्य विदेशी अनुसन्धानकर्ताहरु डा.सारा स्नाईडरम्यान र डा.मार्क टुरिनलगायतले पुष्टि गरेकाछन् । नेपाल आदिवासी जनजाति महासंघको पहलमा भएका विभिन्न अनुसन्धान तथा खोजपछि थामी समुदायको संस्कृति र परम्पराको बारेमा अन्य समुदायले बुझ्ने मौका पाएका छन् ।

थामी जातीले विशेष गरी भूमेको पूजा गर्ने र हरेक वर्ष उधौली उभौली पर्व मनाउने गर्दछन् । एकअर्कामा सद्भाव, सहिष्णुता र प्रेमको भाव राख्दै थामीहरुले हिजोआज माघे सङ्क्रान्ति,असार १५,दशैं, तिहार,जनैपूर्णिमा, चेतेदशैं, होलीजस्ता पर्वहरु समेत मनाउने गरेको पाइन्छ।

ईतिहासअनुसार थामी जातिको उत्पत्ति दोलखा जिल्लाको सुस्पाको राङ्राङ्थली भन्ने ठाउँबाट भएको पाइन्छ । बुढापाकाहरु, स्थानीय बुद्धिजिवी,धार्मिक गुरुहरुको भनाई र विभिन्न लेख,समाचारहरुले पनि यसै तथ्यलाई सन्दर्भका रुपमा लिएर उल्लेख गर्ने गर्दछन् । थामी जातिको बिस्तार सोही स्थानबाट स्यु–स्यु राजा, स्यु–स्यु रानी,यापती छुकु र बेते आजी नामक पुर्खाहरुबाट भएको हो भन्ने जनविश्वास रही आएको छ ।

थामीहरु आफूलाई भूमेपुत्रको रुपमा लिने गर्दछन् । उभौली, उधौली पर्वमा पनि भूमेदेवताकै पूजा गरिन्छ । घरको कुलदेवताको पूजा गर्दा १२ देवा अर्थात् १२ देवताको पुजा गर्दछन् । यसमा पनि विशेष गरी भूमे पूजाकै नाम आउने गर्दछ । थामी जातिको आफ्नै धर्म गुरुहरु हुन्छन् । जसलाई झाँक्री अथवा गुरु भनेर सम्बोधन गरिन्छ । जन्म, मृत्यु,  विवाह, न्वारन जस्ता परम्परागत र महत्वपूर्ण कार्य सम्पन्न गर्नका लागी थामी गुरुको उपस्थिति अनिवार्य हुन्छ । यो थामीहरुको संस्कार अन्तर्गत पर्दछ ।

थामी जातिको विगत र ईतिहासका कथा-व्यथाहरु अति नै मार्मिक छन् । विगतमा थामीहरु गाउँघरका हुने खाने वर्गद्धारा शोषित भएका थिए। हुने खाने वर्गलाई देवताझैं मान्ने सोझा थामी जातिको संस्कार नै बनिसकेको थियो । अशिक्षा,गरीबी र अति न्यून चेतनाका कारण विगतमा थामी जातिले धेरै तिरस्कृत र कुण्ठित भएर बाँच्नु परेको थियो । छोरी मान्छेलाई पढाउनु हुँदैन भन्ने अन्धविश्वासले पनि समुदायमा नराम्रोसँग जरा गाडिसकेको थियो ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको प्राप्तिपछिको यस समयमा भने छोराछोरी समान हो भन्ने चेतनाको विकास भएको पाईन्छ । आफ्नो हक, अधिकार प्राप्तिका लागि अगाडि बढ्नुपर्छ भन्ने भावनाको पनि विकास भएको छ । यसैक्रममा आजका थामीहरु कोही कला क्षेत्रमा, कोही पत्रकारिता क्षेत्रमा, शिक्षा, राजनैतिक र सामाजिक संघ, संगठनमा सक्रियरुपमा लाग्ने अवस्थामा पुगिसकेको हामी पाउछौं । अझैपनि सरकारी निकाय र राज्यका विभिन्न अङ्‌गमा थामी जातिको उपस्थिति शून्यप्राय: नै रहेको छ ।

थामी जातिको जस्तै नेपालका अनेकौं लोपोन्मुख, अति सीमान्ततकृत र पिछडिएको समुदायका यस्तै दर्दनाक कथाहरु छन् । हरेक परिवारको, हरेक समुदायको पिडा र हरेक मान्छेको वेदना हामी सबैको हो अर्थात् सिङ्गो नेपाल र नेपालीको हो । नेपालको सम्पूर्ण भाषा, कला, संस्कृति, जातजाति एकै बगैंचाका अतिमूल्यवान फूलहरु हुन् । हामी सबैले माया गरौं ।

(लेखक थामी समुदायकी सामाजिक अभियन्ता तथा सञ्चारकर्मी हुन्)

***


© People to People Media 2016. All rights reserved.