Mon, 25th Sep 2017

राजेशलाई चिठी

राजेश, तिमी नारान भएपनि नारानको नेताचाहिँ नहुनु है

भद्रगोल शर्मा | Published on 2017-03-08 |

प्रिय राजेश,

हामी एकापसमा परिचित भएको छोटो समयमै धेरै नजिकको साथी बनिसकेका थियौं । धेरै कुराहरु आपसमा बाँड्ने, सर-सल्लाह गर्ने गर्दथ्यौं । फेरिपनि तिमीले आफु जापान जान लागेको कुरा भिसा पाइसकेपछि मात्रै बतायौ । यद्यपि म दु:खी हुनुपर्ने कुरा केही थिएन ।

तिमी त्यहाँ पुगेसँगै मेरो पहुँच पनि जापानसम्म पुग्नेवाला थियो । उप्रान्त मेरो आत्मीय साथी जापानमा हुनेछ । कम्तीमा पनि मैले टोकियो र आसपासको बारेमा आफ्नै साथीबाट सुन्न पाउँला । त्यहाँको यथार्थ, जीवनशैली, रहन सहन, नेपालीहरुको अवस्था आदि इत्यादि कुराहरु तिमीले सुनाउनेछौ । मेरो विश्वास यही थियो । तर, आश्चर्य भने लागेको थियो । तिमीले भिसा लागेको खबर यसरी सुनायौ। मानौं कि, मैले पहिल्यै त्यो कुरा थाहा पाएको भए तिमीलाई जापान जानबाट रोक्ने थिएँ ।

किन त्यसो गर्‍यौ ? त्यसको उत्तर मसँग छैन ।

मैले सुनेको थिएँ, इन्डिया बाहेक अरु सबै देशमा बस्ने मान्छे नारान(NRN) हुन पाउँछन् अरे । तिमी त जापानमा छौ । जापान गएपछि पक्कै पनि नारान भइन्छ । बरु नारान हुनलाई कति समय लाग्छ कुन्नि ? तिमी नारान भयौ कि नाइँ ?

जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत र सकेसम्म युरोपका अरु देशको भूगोल टेक्ने लालसामा हजारौं नेपाली युवाले आफ्नो जीवनको बाटो बदलेका छन् । बाटो बदल्नेहरुमध्ये केहीले मात्रै राम्रो गर्न सकेका छन् रे । धेरै त अभर पर्ने, दु:ख पाउने हुन्छ भन्छन् । मैले साथीको दराजमा देखेको 'दुखेको युरोप' शीर्षकको यौटा किताब पढिसकेपछि अचेल झन् विरक्तिएको छु । यति साह्रो दु:ख गरेर किन जानु युरोप ? आखिर युरोप पुग्न सकेपनि सबैथोक पुग्ने त होइन रहेछ ।

कतिले नागरिकता र पासपोर्ट समुद्रमा फालेर शरणार्थीको लागि आवेदन दिन्छन् रे । मलाई त शरणार्थी बनेरै भएपनि विदेश बस्नुपर्छ भन्ने मान्छे ठीक लागेन ।

पारीगाउँको सुके नारानको नेता भएको रैछ । उसले काठमान्डुमा यौटा कार्यक्रममा भाषण गरेको थियो- "सरकारले हामीलाई जिम्मेवारी देओस् । देश बनाउने जिम्मा हाम्रो भयो । सयौं मेगावाट बिजुली, मोटरबाटो, रोपवे, उद्योग, हवाइजहाज जे भन्यो त्यसैमा लगानी गर्न हामी तयार छौं ।"

उसले भाषण गरेको अघिल्लो दिनमात्रै सुकेको बुबासँग मेरो भेट भएको थियो । बुबाले एकतोला सुनको सिक्री लगाउने रहर पनि छोरोले पुरा गरिदिएन भन्ने गुनासो गरेका थिए । बाउचाहिँको शंका थियो, कि त यसले राम्रो कमाइ गरेकै छैन कि बुहारीको कुरा सुनेर हामीलाई एकपैसा दिएन । मैले यस्तै हो भनेर निचोड दिनसक्ने विषय थिएन । त्यसैले खासै केही टिप्पणी गरिनँ ।

त्यसको चारपाँच दिनपछि सुके गाउँ फर्कियो । सँगै पढ्ने साथी हुनुको नाताले मैले उसको बुबाको गुनासो समेत समेटेर सोधेँ, कत्तिको कमाइस् ? कति बँचाइस् ? घर-घडेरी किनिस् कि नाइँ ? उसले निष्कपट उत्तर दियो - सुको छैन । अहिलेसम्म त्यहाँ बस्ने, काम गर्ने वातावरण बनाउँदा र कलेजको फी तिर्दा ठिक्क भयो । अब गएर कमाउने हो । कमाइ नहुने हैन । तर,बचाउन गाह्रो छ ।

सुके, अस्ति तैंले गरेको भाषण टिभीमा हेरेको थिएँ । सयौं मेगावाट बिजुली निकाल्ने कुरा गर्थिस् त ।

'नेता भएपछि त्यति त भन्नै पर्‍यो नि यार! आफैले गर्छु, मसित पैसा छ, योजना छ भनेको कहाँ होर । सकिन्छ मात्रै भनेको न हो । गरेदेखिन् नसकिने के छ र ?'

सुकेले मलाई त ढाँटेन तर देशलाई ढाँट्यो । सायद विदेशमा बस्ने साथीहरुलाई समेत ढाँट्यो ।

राजेश, तिमीसुकेजस्तो नारानको नेताचाहिँ नबन्नु ल । देशलाई ढाँटेर, बाउआमा, इष्टमित्र र गाउँलेलाई ढाँटेर केही फाइदा छैन । तिमी विदेश बसेपनि, नारान भएपनि सुकेजस्तो ढँटुवा नहुनु ल ।

प्रिय राजेश, तिमी नारान भएपनि नारानको नेताचाहिँ नहुनु है ।

उही तिम्रो साथी

भद्रगोल

***


© People to People Media 2016. All rights reserved.