Thu, 22nd Jun 2017

कथा: रुम नम्बर-२७

मलाई पुरुष हुनुको घमन्ड बचाउनु थियो । त्यसैले हरदम भावुक नदेखिने कोसिस गरिरहेको हुन्थेँ ।

मुक्त खवास 'उदास' | Published on 2017-03-25 |

शनिबारको आधा ड्युटी सकेर साथीहरू  बजारतिर हुइँकिए । म आवासमा फर्किएँ । उनीहरुसङ्गै बजारतिर जान मन लागेन । कोठामा आएर नुहाएँ । एककप तातोपानी लिएर कफि घोलेँ । आधामात्रै पढेको उपन्यास सक्ने सुरसार गर्दैगर्दा चार्जमा राखेको मोबाइलको घन्टी बज्यो ।

सुरुमा त मिसकल होकि भन्ने लाग्यो । होइन रहेछ ।  लगातार घन्टी बजिरह्यो । मोबाइल हेरेँ । नयाँ नम्बर थियो । कसको नम्बर हो भन्ने अनुमान लगाउन सकिएन ।

फोन उठाएर हेल्लो भन्न नपाउँदै उताबाट "नमस्ते" आयो । अपरिचित केटीको आवाज थियो ।

नमस्ते फर्काएँ । उसको पहिलो प्रश्न - "कहाँ हुनुहुन्छ ?"

नचिनेको मान्छेलाई किन सीधा उत्तर दिनु । मैले ऊ को हो जान्न चाहेँ। 

"म शिला, होस्टेलको 'बी ब्लक'बाट", यत्ति भन्नासाथ मैले याद गरेँ l

हामी यौटै मल्टिनेसनल कम्पनीमा कामदार थियौँ । तर, बसाइ र काम फरक फरक । कामकै शिलशिलामा आक्कल झुक्कल भेट हुन्थ्यो । खास चिनजान थिएन । थुप्रै नेपाली कामदार भएको कम्पनीमा एकवर्ष बितिसक्दा पनि धेरैसङ्ग चिनजान छैन । 'बी ब्लक' फिमेल होस्टेल । कोही पनि पुरुषलाई त्यहाँ जाने अनुमति छैन । कुनै काम परे सेक्युरिटी पास लिएर जानुपर्छ । त्यसैले भेटघाट, चिनजान त्यति सहज थिएन ।

मैले पुराना साथीहरुबाट शिलाको प्रशंसा सुनेको थिएँ । चञ्चल स्वाभाव,आधुनिक विचारकी उनी सामान्य  कामदारको रुपमा आएपनि कम्पनीको विश्वास जितेर महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । नेपालसहित फिलिपिन्स, इन्डोनेसियाका कामदारको आवासमध्ये करिब ५/६ सयजना बस्ने ‘बी ब्लक’ (फिमेल होस्टेल)को सम्पूर्ण जिम्मा उनकै थियो । त्योबाहेक नयाँ आउने कामदार लिन, छोड्न एयरपोर्ट जाने, मेडिकलमा लैजाने, ल्याउने जिम्मेवारी पनि शिलाकै थियो ।

"लिना म्याडमले कल गर्नुभएको थियो । भोलि हजुरको ड्युटी हाम्रो होस्टेलमा रे ।", उनले फोन गर्नुको कारण बताइन् ।

लिना ह्युमन रिसोर्सकी म्यानेजर । नेपालबाट थप कामदार आउने भएपछि उनीहरुको व्यवस्थापनको लागि मलाई पनि खटाइएको छ भनेर केहीबेर अघिमात्र फोन गरेकी थिइन् । अरुदिन सबै काममै व्यस्त हुन्छ्न् । कोठाहरु प्राय: बन्द हुन्छ्न् । त्यसैले आइतबारको दिन तोकिएको हुनुपर्छ ।

भोलिको छुट्टी खोसियो, मैले गुनासो गरेँ ।

"ठिकै छ नि, अर्को दिन छुट्टी लिँदा हुन्छ । थुप्रै  दिदिबहिनीसङ्ग भेट पनि हुन्छ", शिलाको जवाफ आयो । 

त्यही भएर आधा खुशी, आधा दु:खी छु, मैले भनेँ ।

"अहिले के गर्दै हुनुहुन्छ ?"

तिमीसङ्ग बोल्दै छु ।म जिस्किएँ ।

"हैन, आज गर्नुपर्ने कुनै काम छ कि भनेर", उनी सम्हालिएर बोलिन् ।

छैन । काम त भोलि पो छ । आज छुट्टी भैसक्यो ।

"उफ्! नसकिने"

"वाहियात!", उनले झर्को मानिन् ।

क्रमश: कुराकानी लम्बिँदै गयो । शिलाले भेटेरै चिनजान गर्ने प्रस्ताव गरिन् । मैले त्यसको लागि ढिला नगर्न आग्रह गरेँ । अन्तत: साँझमा भेट्ने निश्चय भयो । सायद त्यो भेटका लागि हामीले एकअर्काको बारेमा साथीभाइबाट सुनेका कुराले उत्प्रेरकको भूमिका खेले ।

"आज लसभेगास रेस्टुरेन्टमा भेटौं । सङ्गै कफी पिउँ । भोलिको खाना पनि म यतै तयार गर्छु । मेरो रुम नम्बर-२७ हो । साँझ भेटौं है । अहिले म बाहिर छु । बाइ!"

उनको प्रस्तावमा नाइँ नास्ति गर्नुपर्ने कारण थिएन । म साँझ पर्नुअघि नै लसभेगासमा पुगेँ ।

यहाँ बस्न मनै छैन तर बाध्यता छ । कुप्रो परेका आमाबाउको सहारा ढलेर उभिएको यो शहर, थुप्रै श्रीमतीहरुको सिउँदोको रङ खोसेर पोतिएको यो  रङग, वर्षमा एकहजार जनाको जिन्दगी निभेर धपक्क बलेको यो परदेश टाढाबाट हेर्दामात्रै सुन्दर हो । आफ्नै खुशीले यहाँ मिसिनेहरुलाई मात्र सुन्दर हो ।

लसभेगास हामी नेपाली कामदारको पहुँच पुग्ने रेस्टुरेन्ट हो । चीनियाँ मूलको नागरिक सञ्चालक रहेको यो रेस्टुरेन्टलाई नेपालीले 'भेटघाट रेस्टुरेन्ट' नाम दिएका छन् । जसका अधिकांश ग्राहक नेपाली कामदार हुन् । खासै व्यवस्थित नभए पनि समुन्द्री किनारमा फैलिएको एउटा थुम्कोमा अवस्थित यो रेस्टुरेन्ट निकै सुन्दर र एकान्त वातावरणमा छ । पारीपट्टि भव्य सहर देखिन्छ ।

****

साँझ ढल्दै  छ । आकाशमा जूनले आफ्नो  वैँश फिजाइरहेको छ । पारिपट्टि देखिने शहर बेहुलीझैँ सिङ्गारिएको छ । बीचमा लमतन्न समुन्द्र मस्त निद्रामा भएजस्तो लाग्छ । रेस्टुरेन्टमा ग्राहक थपिँदै छन् । खानपान चलिरहेको छ । शनिबारको साँझ छुट्टै रौनक छ । भोलि बिदाको दिन । सबै आफ्नै तालमा झुमिरहेछन् । थुप्रै गफगाफसङ्गै हामीले दुई गिलास बियर र २/४ पेग वाइन रित्यायौं । 

उदासजी,हैन केभो ? पारिपट्टी हेरेर टोलाइरहेको म शिलाको आवाजले झस्केँ । सामान्य देखिने कोसिस गर्दै सोधें, तिमी विदेश किन आयौ ?

"किन ? केटी मान्छे विदेश आउनु हुँदैनथ्यो ?", प्रश्नमा शंका छ ।

तिमी किन गलत बुझ्छ्यौ?

"कुरा त्यसो हैन ।"

उसो भए के त ?मैले तिम्रोबारे जान्नु हुँदैन ? 

"के जान्नु हुन्छ ? नेपालमै केही गर्न सक्थ्यौ । यहाँ किन आएको ? भन्न खोजेको हो ?"

खासमा मेरो आशय पनि त्यही थियो । म अक्मकिएँ । 

हो त । तिमी ट्यालेन्ट छौ । पढालेखा छौ । नेपालमै केही गर्न सक्थ्यौ । मैले केही थपेर बोलेँ ।

"तपाईंलाई के लाग्छ ? म नेपालमा केही गर्न नसकेर आएकी हुँ ?"

किन ?

"नेपालमा केही गर्न नसक्नेहरु विदेश कसरी आउँछन् ?",फेरि प्रतिप्रश्न ।

हो त, है ? म हत्तपत्त बोलें ।

"नेपालमा केही गर्न नसक्नेले विदेशमा के सक्छ ?कुनचाहिँ वृद्ध, रोगी,विकलाङ्ग विदेशमा काम गर्न गएका छन् ? साङ्ग, बलिया, उमेर भएका बाहेक अरु कसैलाई विदेशले भिसा दिएको छ ?",उनी झोंक्किएर बोल्न थालिन् । सायद उनमा नशा पनि चढ्दै थियो ।

हो त । मैले समर्थन गरें ।

उसो त मलाई पनि साथीहरूले च्याटमा यसैगरी सोध्थे, 'तँ नेपालमै केही गर्न सक्ने मान्छे किन विदेश गएको ?मैले एकपटक विदेश हेरौं भनेर आएको भन्ने जवाफ दिएर टारिदिन्थें ।

शिला, अब पुगेन र ? थपेको वाइनतिर लक्षित गरेर भनें ।

"के भो बिल तिर्नुपर्छ भनेर हो ? तिराउँदिन, आफै तिर्छु ।"

बिलको कुरा हैन ।

"अनि के त ?"

शिला, तिमी किन जहिल्यै गलत तरिकाले बुझ्छ्यौ ? कुरा बिल र केटी मान्छेको हैन, स्वास्थको हो ।

"स्वास्थ्य ?" उनले कुन्नि के सोचेर आकाशतिर हेरिन् ।

तिमीलाई स्वाथ्य बिग्रन्छ भनेर चिन्ता लाग्दैन ?

"जिन्दगी नै बिग्रिएको छ, स्वास्थ्यको के को चिन्ता?", फेरि निराश जवाफ आयो ।

यो तिम्रो पिउने बहाना हो।कहाँ बिग्रियो जिन्दगी ? परदेश आउने बित्तिकै जिन्दगी बिग्रिन्छ ?

"परदेशको होइन । जिन्दगीको कुरा गर्दैछु ।"

कसरी बिग्रियो ? देश छोडेर त हामी पनि आएकै छौं ।

"सप्रिएको र बिग्रिएको जिन्दगी आँखाले नापेर छुट्टाउन सकिँदैन हजुर"

छोड, यो सब तिम्रो पिउने बहाना हो।

"अक्सर मान्छेहरु पिउने बहाना खोज्छ्न् । मलाई पिउन बहाना खोज्नुपर्छ जस्तो लाग्दैन । म पिउनलाई बाँचेकी हैन, जिउनलाई पिएको ।"

म उनलाई रोक्नेभन्दा पनि कुरा गर्ने बहाना खोजिरहेको थिएँ । म चाहन्थेँ साथीहरुबाट सुनेका कुरा उनी आफै भनुन् ।

"ऊ पारी हेर्नुस् त"

अँ हेर्दै छु । कस्तो सुन्दर है ?

"हो । सुन्दर छ । तर, त्यही सुन्दरताले धेरैको सुन्दर जिन्दगी र भविष्य लुटेको छ", उनी चुरोटको धुवाँ बिस्तारै छोडेर करुण स्वरमा  बोलिन् ।

"लुट्न जान्नुपर्दो रहेछ । लुट्नेहरु प्राय सुन्दर देखिन्छ्न्", मधुर स्वरमा आक्रोश थपियो ।

मैले झट्ट नेपालका सुन्दर चिजहरु सम्झिएँ । देश लुट्नेको सुन्दरता, भोट लुट्नेको सुन्दरता, नौजवानहरुको पसिना र जिन्दगी लुट्नेको सुन्दरता आदि । सिंहदरबार पनि त सुन्दर छ ।

"वेटर"

उनले गिलास उचालेरवेटरलाई 'वान मोर, प्लिज'को इसारा गरिन् ।

"तपाईं यता आउनुभएको कति भयो ?"

डेढ बर्षजति । 
"अनि कस्तो लाग्यो त विदेश?"
सोचेभन्दा फरक।

उनको प्रतिक्रिया मुस्कानमा मात्रै सिमित रह्यो । अनुहारमा चमक र चञ्चलता थिएन । म बुझ्न सक्थेँ, उनको हरेक शब्दमा विदेशको पीडा मिसिएको छ ।

अब कति बस्ने विचार छ ? केहीछिनको मौनता चिर्दै म बोलें ।

"यहाँ बस्न मनै छैन तर बाध्यता छ । कुप्रो परेका आमाबाउको सहारा ढलेर उभिएको यो शहर, थुप्रै श्रीमतीहरुको सिउँदोको रङ खोसेर पोतिएको यो  रङग, वर्षमा एकहजार जनाको जिन्दगी निभेर धपक्क बलेको यो परदेश टाढाबाट हेर्दामात्रै सुन्दर हो । आफ्नै खुशीले यहाँ मिसिनेहरुलाई मात्र सुन्दर हो । सबैले देख्ने विदेशको झिलिमिली हाम्रो लागि घाट बराबर न हो ।", अपेक्षा विपरीत जवाफ आयो । उनको जवाफ नमिठोसङ्ग मुटुको कुनामै ठोक्कियो ।

नेपालीले विदेशको कहालीलाग्दो दु:ख भोग्ने शिलशिला कहिलेसम्म चलिरहला ? यसको उत्तर मसँग छैन । सायद मजस्तै कसैसँग पनि छैन ।

बीएड तेस्रो वर्ष पढ्दै गर्दा गाउँमै ज्याला मजदुरी गरेर जेनतेन गुजारा चलाउने घरमूली बुवा बिते । पढाइ छाडेर मामाको सहयोगमा आमा र भाई-बैनी छोडेर उनी विदेशिइन् । विदेश आएकी उनको एउटा कच्ची घरपनि भूकम्पले भत्कायो । आमालाई पुर्‍यो । न आमा रहिन्, न घर । आफूले दुख गरेरै भएपनि परिवारको खुसी चाहने उनी डिप्रेसनको शिकार हुन पुगिन् । भाई र बहिनी मामाको सहयोगमा काठमाडौंमा पढ्दैछन् रे ।

"भाई-बहिनीले हरेक पटक फोनमा सोध्छन्, दिदी कहिले आउनुहुन्छ ?म यहाँबाट फर्किएपछि मेरो आशा-भरोसा सबै तिनै हुन् ।"

उनले आफु विदेश बस्नुको बाध्यता सुनाउँथिन्, उति मेरो मन पीडाले भरिन्थ्यो । जिन्दगीका आरोह-अवरोह सुन्दा लाग्थ्यो, कुनै चलचित्रको कथा सुनिरहेको छु ।

तर, मलाई पुरुष हुनुको घमन्ड बचाउनु थियो। त्यसैले हरदम भावुक नदेखिने कोसिस गरिरहेको हुन्थेँ ।वरिपरी अन्य साथीहरु आफ्नै धुनमा रमाउँदै थिए । छेउको एउटा टेबलमा हामीलाई बियर र वाइनभन्दा बढी जिन्दगीको भोगाइ र दुखाई लाग्दै थियो । 

रात छिप्पिँदै गएपछि उनले आफ्नो फिलिपिनी साथीलाई रिसिभ गर्न बोलाइन् ।साथीले गाडीको हर्न बजाएर आइपुगेको संकेत गरिन् । नजिकै पुगेपछि साथीले कारको झ्यालबाट हात उठाइन् ।मैले अभिवादन फर्काएँ ।जानेबेला शिला बोलिन् "नबिर्सनु है, मेरो रुम नम्बर-२७ । सेक्युरिटीलाई त्यही भन्नू, मैले गेटमा भनिराख्छु ।"

म बिदा भएँ ।

कोठामा आइपुगेर बिस्तारमा पल्टिँदै सोचें, परदेश देख्नेलाई सजिलो छ । भोग्नेलाइ गाह्रो । र, यहाँ आइसकेपछि भोग्नैपर्ने बाध्यता छ । नेपालीले विदेशको कहालीलाग्दो दु:ख भोग्ने शिलशिला कहिलेसम्म चलिरहला ? यसको उत्तर मसँग छैन । सायद मजस्तै कसैसँग पनि छैन ।

सोचमा डुब्दाडुब्दै कतिखेर भुसुक्कै निदाएछु ।

निद्राबाट ब्युझिँदा साथीहरु छुट्टी मनाउन समुद्रको किनारतिर जाने बन्दोबस्ती गर्दै थिए ।

आफुलाई आजै नयाँ ठाउँमा सक्नुपर्ने बाध्यता थियो। केही उत्सुकतार खुल्दुलीसहित ड्रेस बदलेँ । लिना म्याडमले इमेल गरिदिएको विवरण हिजै प्रिन्ट गरेको थिएँ ।सुत्नुअघि फ्लाइट मोडमा राखेको आइप्याड अन गरेँ । थुप्रै अफलाइन म्यासेजहरु देखिए ।

मोबाइलमा आएको एउटा म्यासेजको व्यहोरा थियो, "भाइ, म रमा दिदी, हिजो कोठामा फर्किँदै गर्दा शिलामाथि गुन्डाहरुले आक्रमण गरेछन् । अहिले हम्माद हस्पिटलमा छौं । रुम नं-२७, आइसियुमा । तिम्रो फोन लागेन ।"

शिलासङ्गै काम गर्ने रमा दिदीको म्यासेज रहेछ । उनी बस्ने पनि रुम नम्बर-२७ नै थियो ।

नम्बर उही तर रुम फरक । म्यासेज पढिसक्दा मलाई रिङ्गटा लागेजस्तो भयो।

***


© People to People Media 2016. All rights reserved.