Sat, 27th May 2017

म सुकेजस्तो 'ढँटुवा नारान' बन्दिनँ

मलाई विदेशमा जुग बिताएर देशतिर फर्कंदामात्रै स्वाङ पार्ने 'ढँटुवा नारान' बन्नु छैन

राजेश घिमिरे | Published on 2017-03-26 |

२६ मार्च २०१७,
जापान ।

समय रातीको ९:०४ भयो । जापानको नारिता अन्तराष्ट्रीय विमानस्थलमा पाइला टेकेको १ बर्ष तीन महिना २० दिन कट्नै लाग्यो ।

बिस्तारामा पल्टिएर आँखा चिम्म गरेँ, निद्रा परेन । मन, मस्तिष्कमा अनेक कुरा गुञ्जन थाले । त्यसैले जितेको होला निद्रालाई । हिजो-अस्ति त यतिखेरसम्म निदाइसक्थेँ ।
कामको थकान र निद्रालाई माथ गर्दै यतिखेर मन, मस्तिष्कमा हावी भएको विषयवस्तु मध्येको एक हो, भद्रगोल शर्माको खुल्ला चिठी । भलाकुसारी डटकममा ८ मार्च २०१७ मा प्रकाशित उक्त चिठीमा 'राजेश, तिमी नारान भयौ कि नाइँ ? भन्ने प्रश्नसँगै नारान भएपनि सुकेजस्तो ढँटुवा नेताचाहिँ नहुनु है' भन्ने आशयको सुझाव छ । (हेर्नुहोस्, छड्के स्तम्भमा प्रकाशित राजेशलाई चिठी)

आम नेपालीझैं म पनि रोजगारीको शिलशिलामा विदेश पसें । यो सत्य हो कि भिषा लाग्नुअघि मैले कसैलाई पनि विदेशिन खोजेको जानकारी गराएको थिइनँ । किनकि ममा उत्साह थिएन । बरु करिब एक दशकदेखि अपनाउँदै आएको सञ्चारकर्म, आफ्नै अगुवाईमा केही महिनाअघि सुरु गरेको सामाजिक अभियान (हामीले नगरे कसले गर्ने ?), साथीभाई, आफन्तहरुबाट पर जानु पर्ने पीडा आदिले मन भरिएको थियो । अन्तत: भिषा लाग्यो । नभनी सुखै पाइन । पीडालाई गुम्स्याएर ओठमा हाँसो ल्याउनैपर्ने भयो । थाहा पाउनुपर्ने जति सबैले त्यति बेलै थाहा पाए । मेरो बिदाईलाई कोहीले सञ्चारकर्मीको पलायन भने, कतिले आम नेपाली युवाको पलायनसँग जोडे । खैर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चिलगाडी चढेका म र मेरा सपनाहरु अचेल जापानका कम्पनीहरुमा मेसीन बनिरहेका छन् ।

आदरणीय भद्रगोल शर्मा,
अत्यन्तै छोटो समयमा हाम्रोबीचमा निकै घनिष्ठ सम्बन्ध बन्नुमा सञ्चारकर्मप्रति तपाईंको लगाव जिम्मेवार छ । दुर्लभ भेटहरुमा पनि हामीबीच केवल यही कर्मका बारेमा कुराकानी हुन्थ्यो । सायद यही कारणले होला तपाईंले यो केटोले केहीदिनमै देश छाड्ला भन्ने अनुमानसम्म गर्नुभएन ।
आजको दिनसम्म यति कुरामा ढुक्क छु कि, मैले देश छाडेको अवश्य हो तर विदेश पलायन भएको होइन । केही समयको लागि, बाध्यतावश, आम नेपाली युवाझैं विदेशिएको हुँ ।
देश छाडेर आएपछि आजको दिनसम्म मैले देश बनाउने सपना देखेको छैन । किनकि म देश बनाउन जापान आएकै होइन । म त आफु र आफ्नो परिवारको भविष्य बनाउन पो यहाँ आएको । म कसरी देश बनाउन सक्छु ? सयौं मेगावाट बिजुली, मोटरबाटो, रोपवे, उद्योग, हवाइजहाज मेरो वशको बिषय कसरी बन्न सक्छ र ? ठीक छ, सकिएछ भने कहींकतै २-४ कित्ता शेयर हालौंला । सकेसम्म आफु र आफ्नो र परिवारको बलियो बनाउने कोसिश गरौंला । त्योभन्दा बढ्ता मैले यतिखेर केही सोचेको छैन ।

देश बनाउनको लागि त सरकार छँदैछ नि ! आज सरकारमा हुनेको ईच्छा शक्ति छैन । ईच्छा शक्तिले भरिएर एकदिन त कोही अवश्य आउनेछ । हो, हामी भित्रैबाट कोही आउनेछ । म उसलाई सघाउन सकुँला तर आँफैले देश बनाउन सक्दिनँ ।
चिल्लो कोट भिरेर चोकमा २-४ जनाको अगाडि उभिएर भाषण गरेको भरमा सयौं मेगावाट बिजुली कहाँ बल्छ र ! बिजुली बल्नुअघि त आफ्नो मन र मस्तिष्कको लोडसेडिङ हटाउनु पर्छ । पैसाले मात्र हुने भए नेपालमा धेरै कुरा भइसक्ने थिए । हामीसँग पैसाको होइन ईच्छाशक्तिको चरम अभाव छ । हामी काम भन्दा गफ बढी गर्छौं । र, भाषण र गफले बिजुली बाल्ने प्रविधि हामीसँग छँदैछैन । भाषण र गफले न मोटरबाटो बन्छ न त हवाइजहाज, पानीजहाज चल्छन् ।
'सुके' जस्ता एनआरएनका नेताहरुका भाषण मैले पनि धेरै सुनें । धेरैका बोलीलाई समाचार पनि बनाएँ । तर, प्राय: समाचार त्यही एकदिनको रौनकमात्रै बने । विश्वभरका एनआरएनहरुले चाहने हो भने धेरै गर्न सक्थे । एनआरएनमा पनि विकासको नाममा राजनीति गर्ने सुकेजस्तै मान्छेहरु हावी छन् ।
आज म निकै मेहनत गर्नुपर्ने अवस्थामा छु । देश छाडेपछिको हरेक सेकेण्डलाई सदुपयोग गर्नुपर्ने छ । त्यसैले पनि नारान (एनआरएन) बन्ने फुर्सदमा अहिले छैन । कुनै दिन फुर्सद मिलेछ भने बनौंला । कुनै उद्देश्य बोकेर । तर, म बिना मिसन आँफैलाई ढाँटेरचाहिं 'नारान' बन्दिनँ। किनकि मलाई विदेशमा जुग बिताएर देशतिर फर्कंदामात्रै स्वाङ पार्ने 'ढँटुवा नारान' बन्नु छैन ।
म आफ्नो मिसन जतिसक्दो छिटो टुंगाएर भविष्यलाई विगतसँग जोडेरै अघि बढ्न चाहन्छु । किनकि मेरो सम्पूर्ण सन्तुष्टि नै त्यसैमा छ । म त्यसैको लागि पूर्वाधार तयार पार्दैछु ।
अब चाहिं निद्राले आक्रमणको तरखर गर्दैछ । दिउँसोको कामको थकान पनि महशुस हुन थाल्यो, मन अलिक हल्का भएर पनि होला । देश छाडेपछिको १ बर्ष तीन महिना २१औं दिन सुरु हुनै लागेछ !

अहिलेलाई बिदा हुन्छु ।

मिठो सम्झना सहित
तपाईको प्रिय
राजेश

***


© People to People Media 2016. All rights reserved.