Mon, 11th Dec 2017

नेपाली रङ्गमञ्चः मौलिक नाटक नै अब्बल

मौलिक प्रस्तुति रङ्गमञ्चको व्यावसायिक सफलताको कडी बन्न सक्छ

टीएन रेग्मी | Published on 2017-03-28 |

नाटक र नाट्य परम्परा नेपाली संस्कृतिको अभिन्न अङ्ग हो । नेपालमा मनाइने विभिन्न मौलिक चाडपर्व र उत्सवमा समेत नाट्य कौशल प्रदर्शन हुने गर्दछ ।  इतिहासअनुसार नाटक निकै पुरानो विधा हो । पंक्तिकार नाटक विधाको विज्ञ होइन । एक दर्शकको दृष्टिकोणबाट नेपाली रङ्गमञ्चको विषयमा टिप्पणी गर्नु यो आलेखको ध्येय हो ।

पृष्ठभूमि र विकास

नेपालमा वि.सं. १९०४ सालदेखि राणाशासन सुरु भयो । राणाकालको एकतन्त्रीय जहानियाँ शासन सुरू भएसँगै नेपाली नाटक शासकवर्गको मनोरञ्जनको विषय बन्न पुग्यो ।  नाटक सम्पूर्ण जनताको लागि नभएर सिमित परिवारभित्र खुम्चियो । विलासिताको विषय बन्न पुग्यो ।

बालकृष्ण समले राणाकालमा दरबारको घेराभित्र समेटिन पुगेको नेपाली रङ्गमञ्चमा आधुनिकता ल्याए । समका कृतिहरुको मञ्चनसँगै नेपाली नाटक नवयुगमा प्रवेश गरेको हो । वि.सं. २००७ सालको राजनैतिक परिवर्तनपछि नेपाली रङ्गमञ्चको विकासमा उल्लेख्य प्रगति भएको पाइन्छ । प्रजातन्त्र स्थापनापछि नेपाली रङ्गमञ्चले स्वतन्त्र र सङ्गठित रूपमा फैलने अवसर पाएको हो ।

अषेश मल्ल र सुनिल पोखरेलका समकालीन रङ्गकर्मी नेपाली रंगमञ्च पुर्नजागरणका प्रमुख अभियन्ता हुन् । उनीहरुले तीसको दशकमा सङ्गठितरुपमा नेपाली रङ्गमञ्चलाई ब्युँझाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसअघि सांस्कृतिक संस्थानअन्तर्गतको राष्ट्रिय नाचघरमा व्यावसायिक रूपमा नाटक प्रदर्शन गर्ने चलन थियो ।

यसरी क्रमशः विकसित हुँदै नेपाली रङ्गमञ्च संस्कृति शालीन र स्वतन्त्ररुपले अगाडि बढिरहेको छ । हाल राजधानीमा आधा दर्जनजति थिएटरले नियमितरुपमा नाटक मञ्चन गर्ने गर्दछन् ।

पुतलीको घरदेखि मान भर्सेस मतीसम्म

जसरी यौटा बिरामी, यौटा विद्यार्थी, यौटा पर्यटक काठमाडौं नआई सुखै छैन ठीक त्यसैगरी नेपाली रङ्गमञ्चको प्रसङ्ग आउनासाथ हामी राजधानीसँगै जोडिन पुग्छौं । राजधानीबाहिर रङ्गकर्मी र रङ्गकर्म हुँदै नभएको होइन । प्रजातन्त्र आउनुअघि पनि राजधानी बाहिर उल्लेख्य रङ्गकर्म भएको थियो । तर, राजधानी बाहिरको रङ्गकर्मको विषयमा उतिसारो चर्चा हुने गरेको छैन ।

नेपाली रङ्गमञ्चको सफलता र पछिल्लो चरणका गतिविधिको प्रसङ्ग आउनासाथ गुरुकुल थिएटर जोडिन आइपुग्छ । इब्सनको नाटक ‘अ डल्स हाउस’ को अनुदित रुप ‘पुतलीको घर’गुरुकुलको आफ्नै थिएटरमा पहिलो प्रदर्शन गरिएको थियो । त्यससँगै नियमितरुपमा नाटक प्रदर्शन गरेको गुरुकुलले व्यावसायिक थिएटरको परिचय बनाउन सफल भयो । क्रमशः राजधानीमा अरु व्यावसायिक थिएटरहरु खुल्ने क्रम चल्दै गयो ।

रङ्गकर्मीहरुले वर्षौं लगाएर जुटाएका सामग्री सम्झौता अवधि सकिनासाथ कुनै डेरावालले जस्तै बोकेर हिँड्नुपर्ने अवस्था छ

हाल राजधानीमा सर्वनाम, मण्डला, शिल्पी, थिएटर भिलेज, थिएटर मललगायतका संस्थाले नियमितरुपमा नाटक मञ्चन गरिरहेका छन् । थिएटर वर्तमान नेपाली समाजमा सबैभन्दा अनुशासित र शालीन स्थल होभन्दा अत्युक्ति हुँदैन ।

यी पंक्ति लेखिरहँदा सुन्धारास्थित थिएटर मलमा केदार श्रेष्ठ निर्देशित ‘मान भर्सेस मती’ को प्रदर्शन सकिएको छ । राजधानीको अर्को थिएटर मण्डलामा सरिता शाह निर्देशित ‘लू’ चलिरहेको छ । त्यसैगरी शिल्पी समुहको शिल्पी थिएटरमा पवित्रा खड्काको निर्देशनमा 'भृकुटी'को प्रदर्शन सुरु भएको छ ।

वर्तमान नेपाली रङ्गमञ्चको नेतृत्व सुनील पोखरेल र अषेश मल्लको पुस्ताले गरिरहेको छ । घिमिरे युवराज, दयाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बा, जीवन बराल, बुद्धि तामाङ, विजय बराल, केदार श्रेष्ठ, खगेन्द्र लामिछाने, सुलक्षण भारती, रेनुका कार्की, सरिता शाह, पवित्रा खड्का, भोलाराज सापकोटा र समकालीनहरु नेपाली रङ्गमञ्चको दोस्रो पुस्ता हो । दोस्रो पुस्ता अग्रजहरुको पदचिन्ह पछ्याउँदै रङ्गमञ्चलाई अझै उचाइमा पुर्‍याउने ध्याउन्नमा सक्रिय रहेको छ ।

अनुदित र मौलिक नाटकको रस्साकस्सी

गुरुकुल थिएटरले आफ्नो पहिलो प्रदर्शनमा अनुदित नाटक रोजेको थियो । अन्य थिएटरमा पनि अनुदित नाटक उल्लेख्य मात्रामा प्रदर्शन हुने गरेको पाइन्छ । वर्तमान नेपाली रङ्गमञ्चमा अनुदित र मौलिक नाटकबीच हरदम प्रतिस्पर्धा चलिरहेजस्तो देखिन्छ ।

सकुनी पासाहरुदेखि पाहुनाघरकी साहुनीसम्म, उपियाँको निबन्धदेखि मनचिन्ते फिरन्तेसम्म, तीन एकान्तदेखि माधवीसम्मका नाटकमा प्रस्तुतिको हिसाबले मौलिक नाटक नै उम्दा लाग्छन् । कलाकारहरु रङ्गकर्ममा पारङ्गत हुँदाहुँदै पनि मौलिक नाटकमा जति सरल र सरस प्रस्तुति अनुदित कथावस्तुमा पाइँदैन ।

युवा उर्जालाई प्रयोग गर्दै अग्रजहरुको सहायतामा रङ्गमञ्चलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ । निर्देशकको प्रयोगधर्मी शैलीले कतिपय नाटकमा दर्शक विकेन्द्रित हुने गरेका उदाहरण समेत छन् 

नियमित दर्शक सबै प्रकारका नाटक हेर्नको लागि उत्साहित भएर थिएटर पुग्ने गर्दछन् । नयाँ र आक्कल झुक्कल थिएटर पुग्ने दर्शकलाई भने मौलिक कथावस्तुले आकर्षित गरेको अनुभुति हुन्छ । व्यावसायिक सफलता र दर्शकको रुचिको हिसाबले पनि नेपाली रङ्गमञ्चमा मौलिक नाटक नै अब्बल लाग्छन् ।

आर्थिक कठिनाइ सबैको साझा

नेपाली रङ्गमञ्चमा नाटकको प्रस्तुति र सङ्घर्षका कथासँग असहमत हुने सायदै कोही भेटिन्छ । प्रस्तुतिको हिसाबले नेपाली रङ्गकर्मी निपुण छन् । तर, आर्थिक कठिनाइ रङ्गमञ्चको साझा समस्या हो ।

राजधानीमा चलिरहेका हरेक थिएटर कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । यसबाट मुक्ति पाउन सङ्घर्षरत छन् । हरेक पटक मञ्चन हुने नाटक आर्थिक रुपमा सफल हुने सम्भावना बिना नै सुरु हुन्छन् । वर्तमानमा नाटक निर्माता, लगानीकर्ता र आर्थिक सहयोग गर्ने व्यक्ति फेला पार्नु निकै गाह्रो काम हो । यस विषयमा प्रसिद्ध नाट्यकर्मीहरुले समेत तीता अनुभव सुनाउने गर्दछन् । विभिन्न क्षेत्रबाट रङ्गमञ्चलाई माथि उठाउने विषयमा अनेक प्रतिबद्धता नआउने होइनन् । रङ्गमञ्चलाई बलियो पार्ने विषयमा पर्याप्त मात्रामा बहस हुने गर्छ । यद्यपि अवस्था ज्यूँ का त्यूँ छ ।

राजधानीको सर्वनाम थिएटर बाहेक अरु सबै भाडाको जग्गा वा भाडाको घरमा छन् । रङ्गकर्मीहरुले वर्षौं लगाएर जुटाएका सामग्री सम्झौता अवधि सकिनासाथ कुनै डेरावालले जस्तै बोकेर हिँड्नुपर्ने अवस्था छ । राजधानी बाहिरका थिएटर कसरी चलिरहेका छन् ? यो विषयमा बहसको थालनी समेत हुन सकेको छैन । 

रङ्गमञ्चको शान्ति, शालीनता र शिष्टतालाई कायम राख्दै यसलाई व्यावसायिक र आत्मनिर्भर बनाउनु आवश्यक छ

अन्त्यमा,

ग्लोबलाईजेसनको हवाला दिँदै हाम्रो समाज प्रतिदिन पश्चिममुखी हुँदै गइरहेको छ । विज्ञान प्रविधि र प्राविधिक विषयहरुमा परनिर्भरता हाम्रो बाध्यता हो । यसको कुनै विकल्प छैन । तर, आधुनिकता र विश्वव्यापीकरणको पैरवी गर्दै सबै विषयमा परनिर्भर हुनु कुनैपनि समाजको लागि राम्रो कुरा होइन । रङ्गमञ्चको सन्दर्भमा हामी अरुमा भर पर्नुपर्ने अवस्था नै छैन । अरुबाट सिक्नु र अरुमै निर्भर हुनु फरक कुरा हो ।

वर्तमान परिदृश्यमा नेपाली रङ्गमञ्चको मेरुदण्ड युवा कलाकर्मी र युवा दर्शक हुन् भन्दा अत्युक्ति नहोला । यही युवा उर्जालाई प्रयोग गर्दै अग्रजहरुको सहायतामा रङ्गमञ्चलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ । निर्देशकको प्रयोगधर्मी शैलीले कतिपय नाटकमा दर्शक विकेन्द्रित हुने गरेका उदाहरण समेत छन् । त्यसतर्फ कलाकर्मीहरु चनाखो हुनु जरुरी छ ।

रङ्गमञ्चको शान्ति, शालीनता र शिष्टतालाई कायम राख्दै यसलाई व्यावसायिक र आत्मनिर्भर बनाउनु आवश्यक छ । रङ्गमञ्च समाजको मार्गदर्शक बन्न सक्नुपर्छ । आफ्नो मौलिक संस्कृतिको प्रवर्धन गर्दै आत्मनिर्भरतासाथ नेपाली रङ्गमञ्चलाई डोर्‍याउनु आजका रङ्गकर्मीहरुको महत्वपूर्ण कार्यभार हो । मौलिक नाट्य प्रस्तुति नै व्यावसायिक सफलताको कडी बन्न सक्छ । यसतर्फ सम्पूर्ण कलाकर्मीको ध्यान पुगोस् ।

***


© People to People Media 2016. All rights reserved.