Thu, 22nd Jun 2017

वरीयताको टन्टो

नयाँ डेपुटी पीएम नियुक्तिसँगै फेरि वरीयताको पिरलो थपिएको छ

भद्रगोल शर्मा | Published on 2017-03-29 |

आम मान्छेको बुझाइमा वरीयताले तुलनात्मक रुपमा को ठूलो, को सानो, को अब्बल, को दुर्बल भन्ने जनाउँछ । ज्ञानीगुनीहरुका अनुसार वरीयता भनेको पेशागत क्षेत्रमा हुने खास तहगत योग्यताक्रम हो । कुनै खास वर्ग, समुह र पेशाभित्रका मान्छेमध्ये भुँडी ठूलो हुँदैमा, दिमाग चलाख हुँदैमा, खाइलाग्दो ज्यान हुँदैमा, राजनीति र कुटनीतिमा अगाडि हुँदैमा वरीयतामा अघि पर्नुपर्छ भन्ने छैन । वरीयतामा अगाडि आउनका लागि पेशागत सम्बन्ध नै निर्धारक मानिन्छ । कसैले नियतवश वरीयतामा अगाडि हुने कोसिस गरेर साध्य लाग्दैन । स्मरण रहोस्, मान्छेबाहेक अरु सजीव प्राणीमा वरीयताको कुरो कहीँकतै आउँदैन ।

मान्छेले भने जन्ती, मलामी, भतेर, बाटोघाटो, चियापसल हरेक ठाउँमा सकेसम्म आफ्नो वरीयताअनुसार काम गर्ने कोसिस गर्छ । नेपालमा पानसमा बत्ती बाल्ने, रिबन काट्ने, भाषण गर्ने, जागिर खाने, पदस्थापन गर्ने, कुर्सी ग्रहण गर्ने, कतै कुनै कार्यक्रममा सहभागी हुने आदि कर्ममा वरीयताको बहुत ख्याल गर्ने चलन छ । कतै कुनै कार्यक्रममा कसैको दायाँपट्टि वा बायाँपट्टि कुर्सी परेकै आधारमा राजनीतिक विवाद हुने र गाँड कोराकोर, टाउको ठोकाठोकसम्म हुने गरेका उदाहरण पनि भेटिन्छन् ।

मन्त्री, सचिव, आर्मी/प्रहरी/शसस्त्र प्रहरीजस्ता सुरक्षा अंगका प्रमुख, विश्वविद्यालयका उपकुलपति आदिमा हुने वरीयताको किचलोले बेलाबेला देशमा खैलाबैला मच्चिने गरेको छ । सामान्य मान्छेको जीवनमा उतिसारो फरक नपारे तापनि वरीयताको माम्लोले ठुलाबडाको निद्रा हराइदिन्छ । सातो उडाइदिन्छ । कसैको भाग्य चम्काइदिन्छ त कसैलाई डाँडो कटाइदिन्छ ।

अचेल वरीयताको सन्दर्भमा लहरो तान्दा पहरो गर्जिने उखानको महत्ता दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल सरकारको कामकारबाहीको हकमा समेत यो उखानको सान्दर्भिकता सयका सय देखिएको छ ।

नेपालमा हरेक नियुक्तिको मौसममा बल्झिरहने वरीयताको विषयमा कहिलेकाहीँ धेरैले थाहा नपाएजस्तो, नजानेजस्तो, नबुझेजस्तो गर्छन् र कुरो मिलिहाल्छ । कुनै कुनै बेला भने सबै एकसे एक जानकार भइ टोपल्छन् र हंगामा हुन्छ । विगतको अनुभवले यस्तै भन्छ । कतै केही विषयमा कुरा नमिल्ने बित्तिकै हतार हतार दुईतिर बाँडिने हामी साना मान्छे वरीयताको विषयमा टाउको नदुखाई बस्ने कुरै भएन । त्यसैले सकी नसकी, जानी नजानी, कनीकुथी बहसमा होमिन्छौं ।

पछिल्लो समय वरीयताको लफडामा मुलुक फसेको छ । नेपाल प्रहरीको प्रमुख नियुक्तिमा वरीयताको विवाद सर्वोच्च अदालतसम्म पुग्यो । अदालतको फैसलापछि पनि यो विषय टुङ्गो लागिसकेको छैन । सरकार, अदालत र आम मान्छेले फरक फरक व्यक्ति अब्बल भएको दाबी गरेका छन् ।

सरकारमा नयाँ डेपुटी पीएम नियुक्तिसँगै फेरि वरीयताको पिरलो थपिएको छ । प्रधानमन्त्रीपछि दोस्रो नम्बरको मन्त्री को ? भन्ने विवाद भुसको आगोझैं फैलिएको छ ।

जागिरे, पेशाकर्मी र राजनीतिकर्मीको हकमा वरीयता निकै महत्वपूर्ण चीज हो । यसमा कहिलेकाहीं तलमाथि, यताउता पनि हुन सक्छ । त्यस्तो खालको गडबडीले कसैलाई बेमौसममा उँभो लगाउने र कसैलाई ठेगान लगाउने प्रचलन नेपालमा सदियौंदेखि चलिआएकै छ । त्यसैले यो मामिलामा सबै सतर्क हुनुपर्ने अवस्था जो छ ।  

जुनसुकै मौसममा पनि वरीयताको टन्टोले देशलाई नछोड्ने भयो ।

***


© People to People Media 2016. All rights reserved.