Thu, 22nd Jun 2017

'ब्याचलर लेभलमा रिजल्ट यस्तै हुन्छ भन्न मुस्किल हुँदोरहेछ'

विद्यार्थीमा जति पढेपनि आखिर रोजगारीको लागि विदेशिनु पर्छ भन्ने सोच हाबी भएको छ

योगेश काफ्ले | Published on 2017-03-31 |

प्रदीप महर्जनसँग शिक्षण पेशाको करिब तीन दशक लामो अनुभव छ । सुरुमा इन्जिनियरिङ विषयको विद्यार्थी भए तापनि शिक्षण र खेलकुदमा रुचि भएकै कारण इन्जिनियरिङ छाडेका महर्जन हाल कीर्तिपुरस्थित मङ्गल बहुमुखी क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ, शिक्षण सिकाइ र वर्तमान शैक्षिक प्रणालीका सन्दर्भमा प्रदीप महर्जन र योगेश काफ्लेको भलाकुसारी :

सरले कुन स्कुल पढ्नुभयो ?

मैले पढ्ने बेला कीर्तिपुरमा एकमात्र माध्यमिक विद्यालय थियो, कीर्तिपुर माध्यमिक विद्यालय । विद्यालय तहको शिक्षा मैले त्यही स्कुलबाट पूरा गरेको हुँ ।

पढाई कस्तो थियो रुचिको विषय के थियो ?

विद्यालय तहमा अध्ययन गर्दा ‘टप टेन’ भित्र पर्थें । सानैदेखि खेलकुदमा मेरो रुचि थियो तर म सबैभन्दा सानो विद्यार्थी भएको कारण खेल्ने अवसरचाहिँ पाएको थिइनँ ।

विद्यालय तहमा खेल्न नपाएपनि मैले क्लबमा खेल्दै गएँ । पछि विद्यालयको खेलकुद प्रतियोगिता हुँदा दाइहरुले क्लबको खेल हेरेर मलाई छनोट गर्नुभयो । गोलकिपरको रुपमा खेलाउनुभयो ।

बिस्तारै खेलतर्फ लगाव बढ्दै गयो । ए डिभिजनको खेल खेलेँ। तेस्रो राष्ट्रिय खेलकुदमा फुटबलमा मैले सहभागिता जनाएँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभागीय प्रतियोगितामा खेलेँ। टेबलटेनिस, फूटबल, बास्केटबल आदि खेल मेरो रुचिमा पर्छन् ।

खेलकुदमा रुचि भएको मान्छे कसरी शिक्षक हुनुभयो ?

विद्यालय शिक्षा पूरा भएपछि पुल्चोक क्याम्पसमा इन्जिनियरिङमा भर्ना गरेको थिएँ । खेलमा रुचि भएकै कारण त्रिभुवन विश्वविद्यालयमा स्वास्थ्य तथा शारीरिक शिक्षामा भर्ना भएँ । त्यसै आधारमा इन्जिनियरिङ पेसा छोडेर शिक्षणतिर प्रवेश गरेँ।

शिक्षण पेसा कसरी सुरु गर्नुभयो ?

२०४३/०४४ सालमा मेरो इन्जिनियरिङको पढाइ सकिएको थियो । त्यसबेला एकजना रामभक्त महर्जन दाइले तिमीहरुजस्तो युवा खेलेर मात्रै हिँड्ने होइन । विद्यालयमा आएर पढाउनुपर्छ । विद्यालय राम्रो बनाउनुपर्छ भनेर पढाउनको लागि यहाँ ल्याउनुभयो । यसरी मैले मङ्गल स्कुलमा पहिलोपटक पढाएँ । त्यतिबेला पिरियडको ३ रुपैँया तलब लिएर पढाउन सुरु गरियो । सुरुमा नीजि स्रोतमा 'पार्ट-टाइम' काम गरेँ ।

तपाईँ प्रवेश गर्दाखेरिको मंगल स्कुल कस्तो थियो ?

विद्यार्थीहरु सुकुलमा बसेर पढ्नुपर्थ्यो । स्कुल एकान्तमा भएकोले फर्निचर, सामानहरु चोरिने, यताउता हुने अवस्था थियो । शिक्षक र विद्यार्थीका लागि सजिलो वातावरण थिएन । यो २०४४ सालतिरको कुरा हो ।

यति लामो समयसम्म शिक्षण र्नुयो । लामो समयसम्म विद्यालयको प्रधानाध्यापक पनि हुनुभयो । तपाईंको विचारमा एउटा प्रधानाध्यापक कसरी सफल हुनसक्छ ?

प्रअ सफल हुनको लागि सबैभन्दा पहिलो कुरा दुरदृष्टि हुनुपर्‍यो । विद्यालयलाई कुन तहसम्म पुर्‍याउने कसरी अगाडि बढाउने भन्ने योजना उसँग हुनुपर्‍यो ।

सबैलाई समेटेर लैजाने योजना बनाउनुपर्छ । विद्यार्थीहरुलाई कसरी लैजाने भन्ने विषयमा पनि योजना गर्नुपर्‍यो । अभिभावकहरुसँग भेटघाट, छलफल, समुदायका मानिसहरुसँग छलफल गर्ने । यी सबै कुराहरु मिलाएर अगाडि बढ्यो भने एउटा प्रधानाध्यापक सफल हुनसक्छ ।

अहिले क्याम्पस प्रमुखको भूमिकामा हुनुहुन्छ, क्याम्पसको स्तरवृद्धिका लागि ध्यान दिनुपर्ने कुराहरु केके हुन् ?

क्याम्पसलाई अगाडि बढाउनको लागि हामीले धेरैपक्षमा ध्यान दिनुपर्ने हुन्छ । मुख्यतया विद्यार्थी संख्या, शिक्षकको वृत्तिविकास र क्याम्पसको वातावरण यी तीन कुरामा ध्यान दिएनौँ भने क्याम्पस अगाडि बढाउन सकिँदैन ।

विद्यार्थी केन्द्रित कार्यक्रमहरु ल्याउनुपर्छ । पढाइमा फोकस त गर्नैपर्छ । त्योबाहेक अतिरिक्त क्रियाकलाप, खेलकुदका क्रियाकलाप, बौद्धिक विकासका क्रियाकलाप, शैक्षिक भ्रमण आदि ।

त्यसैगरी प्राध्यापकहरुको लागि अनुसन्धानमुखी कार्यक्रमहरु सञ्चालन गर्ने । त्यसबाट आएका कुरालाई क्याम्पसहरुले 'जर्नल'मा प्रकाशन गर्नेजस्ता क्रियाकलापले पक्कै पनि क्याम्पसलाई गति दिन सक्छन् ।

अहिले विद्यार्थीहरुले पढाइमा त्यति रुचि देखाइराखेको अवस्था छैन । क्याम्पसहरुले पेशागत सीप हासिल हुने खालको शिक्षा दिइरहेका छैनन् 

शिक्षण संस्थाहरु धेरै छन् । तिनका आआफ्नै चुनौतीहरु न् । प्राय: प्राइभेट र सामुदायिक क्याम्पसमा विद्यार्थीसंख्या  न्यून देखिन्छ । यसको कारण के हो ? विद्यार्थीहरु पढाइबाट विमुख हुँदै गइरहेका हुन् ?

अहिले वास्तवमा विद्यार्थीहरुले पढाइमा त्यति रुचि देखाइराखेको अवस्था छैन । किनभने पढेर उनीहरुले राम्रोसँग रोजगारी पाउने वातावरण छैन । क्याम्पसहरुले पेशागत सीप हासिल हुने खालको शिक्षा दिइरहेका छैनन् । त्यसैले विद्यार्थीले पढाइलाई महत्व नदिएका हुन् कि । जहाँसम्म विद्यार्थी संख्या न्युन भएको कुरा छ, त्यसको प्रमुख कारण प्रतिस्पर्धा हो । हिजोआज राजधानीबाहिर हरेक जिल्लामा उच्च शिक्षाको अवसर प्राप्त छ । यही कारणले राजधानीका निजी र सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या न्यून देखिएको हो ।

अर्कोतर्फ, विद्यार्थीवर्गमा जति पढेपनि आखिरमा रोजगारीको लागि विदेशिनु पर्छ भन्ने सोच हाबी भएको छ । यसले गर्दा उनीहरु पढाइमा भन्दा काम र करिअरमा फोकस गरिराखेको अवस्था छ । धेरैविद्यार्थीहरु कलेजमा भर्ना हुन्छन् । तर,जागिरको लागि अनेक कोसिस गरिरहेका हुन्छन् । कोहीचाहिँ विदेश जानको लागि तयारीमा लागिरहेका हुन्छन् ।

मंगल बहुमुखी क्याम्पसलाई घि बढाउन तपाईंको भावी योजना के छ ?

यसलाई अगाडि बढाउनको लागि हामीले ४/५ वटा काम गर्ने योजना बनाएका छौं । यो क्याम्पसमा शिक्षा संकायतर्फ बीएड पढ्ने विद्यार्थीहरुको शिक्षण सीपको विकासको लागि वर्षैभरि शिक्षण अभ्यास गराउने वातावरण तयार गर्दैछौं । भिजिटिङ प्रोफेसरहरु ल्याएर लेक्चर दिने व्यवस्था गर्दैछौं । शिक्षणमा सूचनाप्रविधिको प्रयोगका लागि काम भइरहेको छ । व्यवस्थापन संकायतर्फ अन्य विषयहरु थप्ने र आगामी वर्षदेखि अतिरिक्त कक्षाहरु सञ्चालन गरी शैक्षिक उपलब्धि हासिल गर्ने योजना गर्दैछौं ।

लघुअनुसन्धान गराउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग सहकार्य गरेर विद्यार्थी आदानप्रदान गर्ने कार्यक्रमहरु, गोष्ठी सञ्चालन गर्ने आदि काम आउने वर्षमा गर्दैछौं । यसले कलेजको शैक्षिक वातावरण राम्रो बन्दै जान्छ भन्ने आशा गरेका छौं ।

अहिलेको शिक्षाप्रणाली बेरोजगार जनसंख्या उत्पादन गर्नेजस्तो भइराखेको छ । पाठ्यक्रम सैद्धान्तिक कुरामा बढी फोकस छ

हालसम्मको उपलब्धि कस्तो छ ?

हामीले विद्यार्थीको राम्रो प्रतिक्रिया पाएका छौं । यद्यपि अहिले देशैभरि बीएड पढ्ने विद्यार्थीको संख्या घट्दै गइरहेको अवस्थामा हाम्रोमा पनि गतवर्षको तुलनामा त्यो संख्या घटेको छ । आगामी  १/२ वर्षमा क्याम्पसमा विद्यार्थी संख्या यथेष्ट मात्रामा रहन्छ भन्ने आशा छ ।नतिजाको आधारमा भन्नुपर्दा हालैको नतिजामा बीएड तेस्रो वर्षमा ७०/७५ प्रतिशत विद्यार्थी पास भएका छन् । त्यस्तै बीबीएस तेस्रो वर्षमा ५० प्रतिशत विद्यार्थी पास भएका छन् । राष्ट्रियस्तरको नतिजामा २०/२५ प्रतिशतमात्रै पास भएको अवस्थामा हामीकहाँ तुलनात्मक रुपमा राम्रो भइरहेको छ ।

धेरै विद्यार्थीहरु परीक्षामा विषय ड्रप गरेरआउने रहेछन् । यो तहका विद्यार्थीले जागिरलाई बढी महत्व दिने भएकोले परीक्षा दिनै नजाने अवस्था पनि हुँदोरहेछ । ब्याचलर लेभलमा रिजल्ट यस्तै हुन्छ भन्नलाईअलि मुस्किल हुँदोरहेछ ।

एउटा क्याम्पस प्रमुखको दृष्टिकोणमा हाम्रो शिक्षा प्रणालीका समस्या र समाधान केके हुन् ?

अहिलेको शिक्षाप्रणाली बेरोजगार जनसंख्या उत्पादन गर्नेजस्तो भइराखेको छ । पाठ्यक्रम सैद्धान्तिक कुराहरुमा बढी फोकस छ । अहिले प्राविधिक शिक्षा र व्यावसायिक शिक्षाको बारेमा धेरै नै बहस भइरहेको छ । प्रयोगात्मक शिक्षामा ध्यान दिएर पाठ्यक्रम निर्माण गर्ने नीति बनायौं भने शिक्षामा राम्रो फड्को मार्न सकिन्छजस्तो लाग्छ ।

***


© People to People Media 2016. All rights reserved.