Thu, 22nd Jun 2017

नयाँ नेपाल यातायात

"भीड नरुचाउनेले प्राइभेट गाडी चढ्ने गर्नु नि!", खलासी भाइको कटाक्षसँगै गुनासो सुनिन छाड्यो

भद्रगोल शर्मा | Published on 2017-04-05 |

माइक्रोफोन मुखको नजिकै लगेर महिला सिटमा बसेकी क्याम्पसे ठिटी बोल्छे - 'सो, म तिमीलाई नै भेट्न आइरा'छु क्या !'

लगत्तै अर्को आवाज गुञ्जिन्छ, "निरज, त्यो फुच्चीसँग कुरा मिल्लाजस्तो छैन ।" ज्येष्ठ नागरिक सिटमा विराजमान मास्कधारी ठिटो रिपोर्टिङ् गर्दैछ कसैलाई ।

नयाँ नेपालको समावेशी लोकल बसमा यात्रा गर्दैछु म । सिटको मास्तिर भित्तामा महिला, पुरुष, अपाङ्ग अनेक ट्यागहरु छन् । नक्कली परिचयपत्रविरुद्ध जनचेतनाको स्टिकर, 'नो स्मोकिङ्' मेसेज, ढोकामाथि यौटा सदाबहार प्रश्न - तपाईंको सामान छुट्यो कि ?, अगाडि सिसामा टाँसेर राखिएको पशुपतिनाथको मन्दिर, गुरुजीलाई किचकन्याको आतंकबाट राहत दिन राखिएका चुरापोते अनि मन्दिरको ठीक माथितिर गुरुजीपट्टि फर्किएर मस्किएकी ब्रिट्नी स्पेयर्सको पोस्टर । बसभित्र ठेलमठेल भीडमा रङ्गीबिरङ्गी मान्छेहरु । नक्कली आइडी कार्ड नबोक्नेहरुका लागि सरकारले तोकिदिएको न्युनतम भाडादरअनुसार म १५ रुपैयाँ मुल्य बराबरको यात्रु ।

सरकारले तोकिदिएको कुनैपनि दायराको आरक्षणले मलाई छुँदैन । अपाङ्गता, कलेजको नक्कली परिचयपत्रर जनआन्दोलनको घाइतेको परिचय पत्रसमेत नहुनेको लागि त्यहाँ कुनै विशेष व्यवस्था छैन । मेरो लागि त्यो साधनमा कुनै सुविधा छैन । एकहातले सारा जीउको भार थेगेर मुस्किलले एउटा खुट्टाको बलमा उभिँदै सकेसम्म आफुलाई एडजस्ट गर्ने ध्याउन्नमा छु । खलासी भाइले पूर्वतिर फर्किएर पछाडि जाउ भन्छ । म भीडलाई छिचोल्दै पछि सर्छु । आदेशानुसार घरी पूर्व, घरी पश्चिम, घरी अघि, घरी पछि गरिरहेकै छु । यद्यपि ऊ अझै गाली गर्छ, 'दुब्लो मान्छे भएर पनि दुईजनाको ठाउँ ओगट्ने ? अलि मिलेर बस्नु ।' उसले पछाडि बोकेको झोला झिकेर अगाडिपट्टि भिर्ने आदेश दिन्छ । म त्यसै गर्छु । ठेलमठेल भीड बोकेर राजधानीको सवारी घिस्रिँदै छ । अर्को स्टपमा पुग्दानपुग्दै दुईचारजना थपिन्छन् । पछाडिका अरु सवारीको हर्न एकोहोरो बजेपछि बल्ल रोकिएको गाडी अघि बढ्छ । साइड नलगाइकन व्यस्त सडकमा रोकेर यात्रु चढाएको विरोधमा हर्न बजेको रहेछ । न त्यो रोकाइ ठीक थियो, न हर्न बजाउने तरिका । 'राजधानी जो हो यहाँ यस्तै चल्छ', मेरो कानैनेर कोही फुस्फुसायो । 'मान्छे पनि कति कोच्न सकेको हो ?', दोस्रो कोही बोल्यो । "भीड नरुचाउनेले प्राइभेट गाडी चढ्ने गर्नु नि!", खलासी भाइको कटाक्षसँगै गुनासो सुनिन छाड्यो ।

"रत्नपार्क, कमलपोखरी, रातोपुल, गौशाला, चाबहिल...", ऊ करायो । यत्तिकैमा कसैले गाडी रोकिदिन आग्रह गर्‍यो । 'जहाँ पायो त्यहीँ रोक्न मिल्दैन । अगाडि ट्राफिक छ', जवाफमा उसले ट्राफिक र ट्राफिक नियमको टेको लगायो । 'यात्रु चढाउने बेलामा ट्राफिक नियम लाग्दैन, झर्ने बेलामा मात्रै लाग्छ', कोही बुझकीको आवाज सुनियो । "अफिस टाइस हो सर, नत्र रोकिदिन्थेँ", उसको स्पष्टीकरणसँगै गाडीभरि हाँसो छायो ।

यौटी बुढीआमै क्याम्पसे केटी बसेको महिला सिटलाई दह्रोगरी समातेर उभिने अनेक कोसिस गर्छिन् । यद्यपि बुढ्यौली उमेरको दोष, गुरुजीले स्टेयरिङ, क्लच, एक्सिलेटर जेजे चलाउँछन् तदनुरुप आमैको जीउ चलायमान हुन्छ । उनी गुनासो गर्छिन् - कस्तो अड्बाङ्गे डाइबर र'च ? यस्तो गाडीमा जिन्दगी चढेकी थिन । अर्को साइडमा वृद्ध व्यक्ति जेष्ठ नागरिक सिटमा उसैगरी झुलिरहेका छन् । सरकारले सार्वजनिक यातायातमा सजिलोसँग उभिएर यात्रा गर्ने व्यवस्थासम्म गर्न नसकेकोमा बाको ठूलो गुनासो छ । नेताहरुले जेष्ठ नागरिकको अगाडि मिठा कुरा गरेर मख्ख पार्ने गरेकोमा रोष प्रकट गर्दै भन्छन् - यस्ता नेताको के आश गर्नु खै ?

यत्तिकैमा गुरुजीले हरियो गाडी आइपुगेको भन्दै एकछिन ढोका नखोल्ने आदेश दिन्छन् । हरियो गाडीले नभेटाउने गरी दौडिने उपक्रममा सुन्धारा, न्युरोडमा रोक्नुपर्ने गाडी बत्तिँदै वीर हस्पिटल छेउ पुगेर रोकिन्छ । करिब बीस मिनेटसम्म सास्ती भोगेबापतको पन्ध्र रुपैयाँ खलासीको हातमा राखिदिँदै म बसबाट उत्रिन्छु । अस्तु!

***


© People to People Media 2016. All rights reserved.