Mon, 25th Sep 2017

युनेस्को क्लब राष्ट्रिय महासंघको अधिवेशन भोलिदेखि

नेपालमा करिब दुईसय युनेस्को क्लब तथा सङ्घ संस्थाहरु क्रियाशील छन्

भलाकुसारी | Published on 2017-07-14 |

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (UNESCO) का निमित्त नेपाल राष्ट्रिय आयोगको साझेदार संस्थामध्ये एक युनेस्को क्लबहरूको राष्ट्रिय महासङ्घको महाधिवेशन असार ३१ गते राजधानीमा हुँदैछ । महासङ्घ युनेस्कोका आदर्शहरुलाई स्थानीय स्तरसम्म पुर्‍याउन क्रियाशील सङ्घ, संस्थाहरुको छाता संगठन हो ।

वि.सं. २०७२ साल चैत्र ३ गते आयोजित भेलाबाट महासंघको तदर्थ समिति गठन भएको थियो । विधान बमोजिम महासङ्घमा अध्यक्ष, २ जना मानार्थ अध्यक्ष र २६ जना सदस्य गरी २९ सदस्यीय कार्यसमिति रहने प्रावधान छ ।

महासङ्घका अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्यालका अनुसार हाल नेपालमा करिब दुईसय युनेस्को क्लब तथा सङ्घ संस्थाहरु क्रियाशील छन् । तीमध्ये १५० भन्दा बढी संस्थाले महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।

महासङ्घ युनेस्कोको आदर्शअनुसार सामाजिक विकासका लागि क्रियाशील युनेस्को क्लब तथा संस्थाहरुलाई परिचालन र एकत्रित गर्दै संगठित रुपमा कार्य गर्न युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगबाट सम्बन्धन प्राप्त संस्था हो । आयोगको सचिवालयले ४ वर्षको लागि महासङ्घलाई सम्बन्धन दिने व्यवस्था छ ।

नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य भएको हो ।  युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले सन् १९५४ देखि काम थालेको थियो । यसको सचिवालय शिक्षा मन्त्रालय अन्तर्गत रहेको छ । आयोगको अध्यक्ष शिक्षामन्त्री रहने व्यवस्था छ ।

विगतमा महासङ्घमा विवाद भई फुटको स्थितिबाट गुज्रिएकोमा सचिवालयले एकभन्दा बढी महासङ्घलाई सम्बन्धन नदिने भएकाले एकीकृत महासङ्घ बनाउन दबाब परेको हो । महाधिवेशनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित महासङ्घका पूर्व पदाधिकारीहरुले युनेस्को आबद्ध संस्थामा विवाद हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै आगामी दिनमा एकढिक्का भई अघि बढ्ने विश्वास व्यक्त गरे। 

***


© People to People Media 2016. All rights reserved.