Thu, 27th Jul 2017

'धनपति' अपेक्षाभन्दा कमजोर

चलचित्र अपेक्षाकृत शसक्त हुन नसकेको दर्शकको गुनासो

भलाकुसारी | Published on 2017-07-14 |

गतवर्षको सफल चलचित्रमध्येको एक 'पशुपति प्रसाद'का निर्देशक र नायकले सहकार्य गरेको चलचित्र 'धनपति' गतहप्ता रिलिज भएको छ । निर्देशक दिपेन्द्र के खनाल र नायक खगेन्द्र लामिछानेको सहकार्यले नेपाली दर्शकबीच बेग्लै किसिमको छाप छोडेको छ । गतवर्ष यी दुईको सहकार्यमा तयार भएको चलचित्रले विभिन्न अवार्डहरु हात पार्नुका साथै व्यावसायिक सफलता समेत प्राप्त गरेको थियो ।

'धनपति'को कथा,पटकथा र संवादको लेखन खगेन्द्र लामिछानेले गरेका हुन् । विगतमा खगेन्द्रको लेखन र खनालको निर्देशनको चलचित्र हेरेका दर्शकहरुले नयाँ चलचित्रमा बढी अपेक्षा गर्नु अस्वाभाविक होइन । यद्यपि 'धनपति'ले त्यो अपेक्षा पूरा गर्न नसकेको अनुभव दर्शकले गरेका छन् ।

धनपतिको सन्दर्भमा धेरै चलचित्र समीक्षक र दर्शकहरुको एकै किसिमको टिप्पणी छ – 'अपेक्षाभन्दा कमजोर ।' सामान्य गरीब परिवारको अभावपूर्ण जीवनशैलीको विषयवस्तुमा आधारित चलचित्रको कथानक अपेक्षाकृत शसक्त हुन नसकेको दर्शकको भनाइ छ ।

पहिलो हाफमा उत्साह जगाउन नसकेपनि दोस्रो हाफले समेत त्यसलाई मेट्न नसकेको गुनासो दर्शकहरुले गरेका छन् । समग्रमा दर्शकको अपेक्षालाई पूरा गर्न नसके तापनि दर्शकले यसबाट चलचित्रबाट लिन सक्ने विषय भने धेरै छन् ।

आशा गरौं, चलचित्रका नायक र निर्देशकले 'धनपति'को 'फिडब्याक'बाट आगामी दिनमा प्रस्तुतिलाई जोडदार बनाउने कोशिस गर्नेछन् ।

***


© People to People Media 2016. All rights reserved.