Fri, 20th Oct 2017

हामी धेरै आधुनिक भइसकेछौं: थुलुङ

विद्यार्थीले लोकगीत बुझ्ने अवसर नपाएकोमा कलाकारको चिन्ता

भलाकुसारी | Published on 2017-08-12 |

नेपाली समाजमा विदेशी संस्कृतिको प्रभाव प्रतिदिन बढ्दै गएकोमा कलाकारहरुले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थी र नयाँ पुस्ताले लोकसंस्कृतिको बारेमा बुझ्ने अवसरमा समेत कमी भएकोले लोकसंस्कृतिको जगेर्नाका लागि विशेष ध्यान दिनुपर्ने अग्रज कलाकारहरुको भनाइ छ । 

संस्थागत विद्यालय संघ (इसान) ले राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय लोक गायन प्रतियोगितामा विद्यार्थीहरुले लोकगीत भन्दै पाश्चात्य शैलीका गीतसमेत प्रस्तुत गरेपछि कलाकारहरु चिन्तित बनेका हुन् । वरिष्ठ कलाकार देउडा गायक नन्दकृष्ण जोशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गायकद्वय ज्ञानु राणा र सूर्य थुलुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले साना भाइबहिनीलाई देशका सबै क्षेत्रका लोकसंस्कृति र लोकगीतको बारेमा जानकारी दिइनुपर्ने बताए । यसले संस्कृतिको संरक्षण र प्रवर्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।

गायिका ज्ञानु राणाले विद्यार्थीहरुले लोकगीतको बारेमा बुझ्ने अवसर समेत कम पाउने गरेको र यसको लागि शिक्षक र अभिभावक जिम्मेवार रहेको बताइन् । गायक सूर्य थुलुङले 'हामी धेरै आधुनिक भइसकेछौं' भन्ने टिप्पणी गर्दै लोकसंस्कृति ओझेलमा पर्न दिन नहुने धारणा व्यक्त गरे ।

१९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पर्ल्स स्कुल प्रथम भएको छ । इसान केन्द्रीय कार्यसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा चार्ल्स डार्बिन एकेडेमीले द्वितीय स्थान हासिल गर्‍यो । सो प्रतियोगितामा गोल्डेन पिक स्कुल र जेनेसिस स्कुल तृतीय स्थान हासिल गर्न सफल भए । त्यसैगरी इस्ट पोल स्कुल र विद्या विकास स्कुललाई सान्त्वना पुरस्कार प्रदान गरियो ।

आयोजक संस्थाका अध्यक्ष बालमुकुन्द कार्कीले कार्यक्रममार्फत विद्यार्थी भाइबहिनीहरुलाई अग्रज कलाकारहरुसँग जोड्ने काम भएको बताए । लोकसंस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको र इसानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो ।

उक्त कार्यक्रममा न्यु इङ्लिस स्कुल र एकता जेम्स स्कुलले नृत्य तथा ब्राइट जोन स्कुलका विद्यार्थीहरुले साङ्गितिक धुन प्रस्तुत गरेका थिए ।

***


© People to People Media 2016. All rights reserved.