Fri, 18th Aug 2017

बाढीको बितण्डा, हजारौं प्रभावित

देशका विभिन्न स्थानमा बाढी तथा पहिरोजस्ता प्रकोपबाट हजारौं स्थानीयबासी प्रभावित

भलाकुसारी | Published on 2017-08-12 |

गएरातिदेखिको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोजस्ता प्रकोपबाट हजारौं स्थानीयबासी प्रभावित भएका छन् । खासगरी तराई क्षेत्रमा बाढीको प्रकोप छ भने पहाडी जिल्ला पहिरोबाट प्रभावित भएका छन् । यसबीच प्रकोपका कारण कैंयौ व्यक्तिको ज्यानसमेत गएको छ । बाढी पहिरोको प्रकोपबाट प्रभावित जिल्लाहरु, उद्धार प्रयास तथा क्षतिको विवरण निम्न अनुसार छ:

बाँके

नरैनापुर गाउँपालिका–५ तल्लो भगवानपुरमा राप्ती नदीको बहाव बढेपछि जोगिने क्रममा नेपाल राष्ट्रिय प्राविको छतमा अड्किएका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको छ । ती व्यक्तिको उद्धार गर्न २ जना प्रहरी जवान पौडी खेल्दै गएकोमा तत्काल राप्ती नदीको बाँधमा पानीको बहाव बढेपछि उनीहरु समेत सोही छतमा अड्किएका थिए । ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४ प्रहरी र ६ जना स्थानीय गरी १० जना डुङ्गा चढी गएकोमा उक्त डुङ्गा पल्टिएर टोली पौडी खेली नजिकै रहेको पीपलको रुखमा चढेर बच्न सफल भएका थिए । उक्त टोली करीब ४ घण्टा रुखमा बसेको र पानीको बहाव घट्दै गएपछि ती व्यक्तिको उद्धार गरिएको हो ।

यसैगरी बाँकेकै सोनारी गाउँपालिका–१ स्थित गाभर खोलामा आएको बाढीले खोलाको पुलको पूर्वतिरको भाग कटान गरी पूर्व पश्चिम राजमार्ग पूर्णरुपमा अवरोध भएको छ ।

नवलपरासी

शनिबार परेको अविरल वर्षाको कारण झरही खोलाको बहाव बढी सरावल गाउँपालिका ६ र ७ माप्रहरी चौकी भुजहवास्थित करीब १ सय २० घरहरू डुबानमा परेका छन् । स्थानीय मानिसहरू सरसमान सहित सुरक्षित स्थानमा सरेका छन् । 

विनयीत्रिवेणी गाउँपालिका–६ र ७ शिवपुरगडीस्थित १२ वटा घर अविरल वर्षाको कारण डुबानमा परेका छन्। बर्दघाट नगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, १० र ११ का विभिन्न स्थानमा अविरल वर्षाको कारण गएराति बाढी आई घरहरू डुबानमा परेका छन् । हाल पानीको बहाव क्रमश घट्दै गएको छ ।

धनुषा

जनकपुर उपमहानगरपालिका–८ र ९ रामानन्द चोकस्थित खानेपानी कार्यालय लगायत १४ वटा पसलहरु, गणेशमान चारनाथ नगरपालिका–३ स्थित ८ घर, गणेशमान चारनाथ–२ गंगापुरस्थित मुसहरि टोलमा २०  घर, सबैला नगरपालिका–१२ स्थित टोकी र खैरबाना गाँउका ५० प्रतिशत घर, धनुषाधाम नगरपालिका–२ मखनबाबाकुट्टीस्थित ५० प्रतिशत घर वर्षाको कारण डुबानमा परेका छन् । गणेशमान चारनाथ नगरपालिका–६ सखुवनिस्थित रक्ताही खोलाले गोदार चिसापानी सडकमा कल्भर्ट बगाएको छ । सोही ठाउँ बस्ने रासलाल यादवको फुसको घर, जनकपुर उपमहानरपालिका–२२ भमरपुराचोक बस्ने साबित्रीदेवी ठाकुरको कच्ची घर, मिथिला नगरपालिका–८ बस्ने ज्ञानबहादुर श्रेष्ठको २ वटा घर र सहिदनगर नगरपालिका–७ बस्ने मनोज मण्डलको कच्ची घर भत्किएर क्षति भएको छ ।

चितवन

माडी नगरपालिका–६ वसन्तपुरस्थित ५० घरमा स्थानीय रिऊ खोलाको बाढी आई पानी पसेको, माडी–१ स्थित कल्भर्ट बाढीले बगाएको कारण माडीबाट चल्ने सवारीसाधन अवरोध भएको छ।वसन्तपुरकै सत्यनारायण शाह, लक्ष्मण साह, बाहुन महतो, रिता महतोको घरका भाँडा वर्तन, अन्नपात लगायतका  विभिन्न धनमाल बगाएर क्षति भएको छ ।
यसैगरी माडी नगरपालिका–१, २, ४ र ६ का विभिन्न स्थानमा अविरल वर्षाको कारण खोलामा पानीको बहाव बढी घरहरु डुबानमा परेका छन्। माडी नगरपालिका–४ का २  घर उच्च जोखिममा रहेका छन् । सो स्थानमा मानिसहरु सुरक्षित स्थानमा सरेका छन् ।

मोरङ

सुनवर्षी नगरपालिका–७ सुकुम्बासी बस्तीमा गएराति बक्राहा खोलाको पानी पसेर ५० घर डुबान परेकाछन् । धनपालथान गाउँपालिका ५, ६ र ७ वडामा लोहोन्द्रा खोलाको पानी बस्तीमा पस्दा करीब ३ सय घर डुबानमा पर्नुका साथै रतुवामाई नगरपालिका–१ सोनापुरमा बक्राहा खोलाको बाँध फुटेर करीब३० घर विस्थापित भएका छन् । 

मोरङकै लेटाङ नगरपालिका–६ लामीटार बस्ने राजेन्द्र चेम्जोङको गोठ, घर, १५ वटा चौपाया, मकै, भाँडावर्तन, धानखेत, बाँसघारी सहितको जमिन पहिरोले पुरिएर करीब ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । सोही ठाउँ बस्ने खगेन्द्र सिलवालको घर जमीन भासिएर बस्न नमिल्ने भई करीब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
कटहरी गाउँपालिका–४ स्थित नयाँबजारमा गएराति लोहन्द्रा खोलाको पानी पसेर करीब ८० घर विस्थापित भई स्थानीयले नजिकै रहेको हनुमान मन्दिरमा आश्रय लिएका छन् ।
उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा गएराति बक्राहानुनसरी खोलाको बाढीपसेर करीब१५ घर डुबानमा परेका छन् । मिक्लाजुङ गाउँपालिका–६ खाबेझोडामा स्थानीय खोलाको बाढीले करीब १८ घर डुबानमा परेका छन् । मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालयको कम्पाउण्ड वाल शुक्रबार रातिदेखिको अविरल वर्षाको कारण भत्किएको छ । विमानस्थल सुरक्षा गार्डको ब्यारेक भवन तथा कार्यालयमा पानी पसेको छ । रतुवामाई नगरपालिका–५ स्थित प्रहरी चौकी गोबिन्दपुरमा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर पानी पसेको, विराटनगर महानगरपालिकाका ४, ५, ६, ११ र १२ नम्बर वडामा बाढी पसेर करीब ६ सय घर बस्न नमिल्ने भएको, रतुवामाई नगरपालिका–७, ८, ९ र ५ स्थित रतुवा खोला र बक्राहा खोलाको बाँध फुट्दाबस्तीमा खोलापसेर करीब७ सय घरपरिवार विस्थापित भएका छन् । धनपालथान गाउँपालिका–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुट्दा बस्तीका १ सय ५० घर डुबानमा परेकाछन् । रंगेली नगरपालिका–३ आमतोलामा ४ घरमा पानी पसेर क्षति पुगेको छ ।
बुढीगंगा गाउँपालिका–२ बौराहा टोलमा अविरल वर्षाको कारण बुढीखोलाको बाढी पसेर करीब१ सय ५० घर, सोही गाउँपालिका–३मुडेरी टोलस्थित करीब १ सय ५० घर र सोही गाउँपालिका–५ दिपुटोलमा करीब५० घरसमेत डुबानमा परेका छन् । पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
यसैगरी मोरङकै बेलबारी नगरपालिका–५ स्थित लोहन्द्र खोलामा रहेको पक्की पुल र पुलको छेउमा रहेको कसेनी एरियातर्फ पानी लाने नहरको सुरुङसमेत गएराति अविरल वर्षाको कारण आएको बाढीले बगाएको छ ।

बर्दिया

बाँसगढी नगरपालिकामा गएरातिको वर्षाको कारण विभिन्न वडामा गरी १ सय ३६ घरमा डुबानमा परेकोले स्थानीय सबैजना सुरक्षित स्थानमा सरेका छन् ।

सप्तरी

सप्तरी सदरमुकाम राजविराज र सदरमुकाम आसपास देउरी भरुवा, खर्साल टोल, कञ्चनपुर रोड, बिरौल चोकमा डुबान भएकोछ ।शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा पर्ने फापी खोलाको कटानले पुल जोखिममा रहेको छ । देउरी भरुवा भन्ने स्थानमा खाडो खोलाको पानीको बहाव बढी बाँध फुटेको तथा ४० घरमा डुबान भएको र ६ वटा घर उच्च जोखिममा रहेका छन् ।
पोर्ताहास्थित महुली खोलाको बाँध फुटेर विभिन्न स्थानका १ सय घर डुबानमा परेका छन् भने महुली खोलामा आएको बाढीले कटान गरी कृष्णसवरण गाउँपालिका–१ जण्डोल हेडाङ बस्ने मोहन मगरको घर र घुम्ती किराना पसल, सुर्य मगरको घर, सिँचाइ शाखा कार्यालयको भवन गरी करीब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शम्भुनाथ नगरपालिका–१ स्थित भोला साहको कुखुराको फर्म बगाएको, रुपनी गाउँपालिका–५ माबसोबास गर्ने २५ घर तथा शम्भुनाथ–१ र २ मा पर्ने मुसरी टोलमा बसोबास गर्ने ४० घर पूर्णरुपमा डुबानमा परेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रम्पुरामल्हनियामा बसोबास गर्ने करीब १ सय ५० घर खाडो खोलाको पानी पसेर डुबानमा परेका छन् । छिन्नमस्ता गाउँपालिका–१ फकिरामा मुर्ति नदीबाट पानी आई करीब ५ सय घरमा पानी पसेको छ ।
राजविराज नगरपालिका–१५ स्थित खाडो खोलामा बाँध बाँध्दै गरेको ठाउँमा पानीको बहाव बढ्न गई स्थानीयको घर आँगनमा करीब ३ फिट पानी जमेको छ ।  बालबालिका तथा बृद्ध–बृद्धाहरुलाई प्रहरीले उद्धार गरी सामुदायिक भवनमा राखिएको छ ।
तिलाठी कैलाडी गाउँपालिका–१ मा गएराति परेको अविरल वर्षाको कारण खाडो खोला बढ्न गई तिलाठी, कैलाडी र सखरपुराका गाउँमा करीब ४ फिट पानी जमेको छ ।

ईलाम

चुलाचुली गाउँपालिका २ र ३ मा पर्ने चाजुखोलामा आएको बाढीले पेल्टीमारी बस्ने अनु राईको ८ कठ्ठा जमिन, तारबहादुर राईको २ कठ्ठा खेत कटान गरेकोरदुवैको घर जोखिममा रहेको छ ।
चुलाचुली गाउँपालिका–२ र ३ को बीचमा पर्ने चाजु खोलाको झोलुङ्गे पुलको जग शुक्रबार बाढीले बगाएको छ । उक्त पुलमा आवतजावतमा रोक लगाइएको छ ।

झापा

अविरल वर्षाको कारण बिर्तामोड नगरपालिका शान्ति टोलमा ५० घर, भद्रपुर–५ शान्ति टोलमा ३५ घर, कन्काई नगरपालिका–८ सुकुम्बासी बस्तीमा १० घर, कचनकवल गाउँपालिका–५ पानमारीमा करीव ५ सय घर डुबानमा परेको, सोही गाउँपालिका–४ मा १ सय ५० घर, गौरादह नगरपालिका–५ र ६ मा १ सय ७० घर, गौरीगन्ज गाउँपालिका–६ खजुरगाछीमा १४ घर, २ नम्बर वडामा १ सय ७० घर, कनकाई नगरपालिका–१ र ३ मा ३ घर, अर्जुनधारा नगरपालिका–८ मा ४० घर डुबानमा परेकोले स्थानीयहरु आफन्तको घरमा गई बसेका छन् ।

रौतहट

दुर्गाभगवती गाउँपालिका–१ भलोहियास्थित १५ वटा कच्ची घर डुबानमा परेकोले करीब २ सय स्थानीयलाई भलोहिया माविमा उद्धार राखिएको छ ।
परोहा गाउँपालिका–५ बसन्तपट्टि बस्ने शिवपुजन राउत लगायत ४ जनाको घर शुक्रबार भत्किँदा करीब ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 

महोत्तरी

मनरा गाउँपालिका–२ ईटहर्वाकट्टी बस्ने दिनेश चौधरीको कच्ची घर अविरल बर्षाको कारणले शनिबार लड्दा घरभित्रको अन्नपात, लत्ताकपडा गरी २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 

सिरहा

लहान नगरपालिका–१९ छर्रापट्टी बस्ने ५५ वर्षीय मिश्री सदाय र सखुवानन्कारकट्टी गाउँपालिका–४ बस्ने ६५ वर्षीय रामबृक्ष यादवको घर शनिबार ढल्दा करीब ६० हजार रुपैयाँको क्षति भएको छ । लहान नगरपालिका–२० बस्ने ४५ वर्षीय पुजेन्द्र यादव, ४५ वर्षीय लखनदेव यादव र ५० वर्षीय सत्यनारायण गुप्ताको घरमा पानी पस्दा करीब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सुनसरी

गएराति परेको अविरल वर्षाको कारण बुढिखोलामा आएको बाढीले ईटहरी आसपास गैरीगाउँ र  तरहरा पानीपियामा ५ रुख ढलेर कोशी राजमार्ग अवरोध भएको छ । दुहबी–४ महलहट्टीस्थित करीब ४० घर र रामधुनी नगरपालिका–६ बक्लौरीमा सेउती खोलाको पानीले डुबान भएको छ ।
ईटहरी उपमहानगरपालिका वडा ३ मा गएराति परेको अविरल वर्षाको कारण १ सय ५० घर, वडानम्बर ४ मा ४० घर, ईटहरी–१० मा २० घर, इटहरी–२० मा २० घर डुबानमा परेका छन् । डुबानमा परेकालाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ । धरान उपमहानगरपालिका–४ निसाने डाँडामा कोशी राजमार्गको करीब ४० मिटर सडकमा पहिरो खसेर पूर्णरुपमा अवरोध भएको छ ।

ईटहरी उपमहानगरपालिका–१७ लवीपुरमा पूर्वपश्चिम राजमार्ग करीव ९ मिटर भासिएर सवारी आवागमनमा अवरोध भएको छ ।

***


© People to People Media 2016. All rights reserved.