Mon, 11th Dec 2017

हेमप्रभासको 'उल्झन' सार्वजनिक

उपन्यासमा मान्छे, माटो र देशको कुरा गरिएको छ', लम्साल

भलाकुसारी | Published on 2017-08-12 |

साहित्यकार हेमप्रभासको उपन्यास कृति 'उल्झन' सार्वजनिक भएको छ । 'उल्झन' शसक्त युवाकविको रुपमा परिचित हेमप्रभासको पहिलो उपन्यास कृति हो । राजधानीमा आयोजित कार्यक्रममा पत्रकार युवराज घिमिरे, अभिनेता राजेश हमाल, कवि एवं सञ्चारकर्मी डा. नवराज लम्साल र साहित्यकार महेश पौड्यालले कृति सार्वजनिक गरेका हुन् ।

यस कृतिमा देशमा एक दशकसम्म चलेको युद्धबाट प्रभावित युवाको मानसिक अवस्थाको चित्रण गरिएको छ । 'उल्झन'मा द्वन्द्वका कारण विस्थापित युवाहरुको कथा र तिनका नमरेका सपनाहरु रहेको घिमिरेको भनाइ थियो। अभिनेता हमालले हेमप्रभासको उपन्यास वर्तमान समाजको प्रतिविम्ब भएको उल्लेख गरे । उपन्यासमा आफ्नो परिवेश, आफूले भोगेको कालखण्डको यथार्थ चित्र प्रस्तुत गरिएको बताउँदै हमालले नेपाली जनजीवनका विभिन्न कालखण्डलाई उपन्यासमा उतारेर मानव जीवनलाई अर्थ्याउने प्रयास गरिएको धारणा व्यक्त गरे । डा.  लम्सालले उपन्यासमा शब्दभन्दा पनि संवेदना उतारिएको तर्क गरे । 'उपन्यासमा मान्छे, माटो र देशको कुरा गरिएको छ', लम्सालको भनाइ थियो । समालोचक महेश पौड्यालका अनुसार उपन्यास युवा पात्रहरुको मनोविज्ञानमा केन्द्रित रहेको छ । दशक लामो राजनीतिक द्वन्द्वले युवाहरुमा पारेको प्रभावमा उपन्यास केन्द्रित रहेको पौड्यालले बताए ।

लिपि बुक्सले प्रकाशन गरेको कृति 'उल्झन'को मूल्य ३५० रुपैयाँ रहेको छ । यो उपन्यास २ सय ८८ पृष्ठ समेटिएको छ ।

***


© People to People Media 2016. All rights reserved.