Tue, 21st Nov 2017

मोती जयन्तीको अवसरमा कविता प्रतियोगिता

१५२ औं मोती जयन्तीको अवसरमा विद्यालयस्तरीय आशु कविता प्रतियोगिता

भलाकुसारी | Published on 2017-08-20 |

प्रकृति, सकियो एक कोपिला
तेरो कुचाइको कारण ...

उल्लेखित पंक्ति १५२ औं मोती जयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय आशु कविता प्रतियोगिताका एक सहभागीले बाढीको प्रभावका विषयमा लेखेको कविताबाट लिइएको हो । प्रतियोगी विद्यार्थीलाई विभिन्न शीर्षकमा कविता लेख्न दिइएकोमा अधिकांश बाढी-पहिरो र त्यसको प्रभावमा केन्द्रित थिए ।

राजधानीको रिडर्स इन्टरनेशनल मोडल स्कुलको आयोजनामा भएको उक्त प्रतियोगितामा रिपुमर्दिनी सैनिक माविमा अध्ययनरत विद्यार्थी पुष्पा गुरुङले प्रथम स्थान हासिल गरिन् ।

सो प्रतियोगितमा अरुणिमा माविका छात्रा राजेश्वरी मल्ल, विद्या व्यायाम अङ्ग्रेजी माविका छात्र उदय श्रेष्ठ र ग्रीनतारा चाइल्ड हेभनका विशालजंग कार्कीले क्रमश: द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे ।

राष्ट्रगानका रचनाकार व्याकुल माइलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २८ वटा स्कुलका विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । आयोजक विद्यालयका छात्रछात्राबीच भएको आन्तरिक प्रतियोगिता सहभागी ६ जनामध्ये अनुपा बरालको कविता उत्कृष्टमा पर्न सफल भयो । पुरस्कृत विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

जोरपाटीस्थित विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा अतिथि स्रष्टा, सञ्चारकर्मी तथा शिक्षक-विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थितिमा रहेको थियो । अभिनव साहित्य प्रतिष्ठानका अध्यक्ष वेदमणि घिमिरे, जेठा बैरागी, हेम प्रभास, सुदेश सत्याल, नवराज घिमिरे लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कवि व्याकुल माइलाले नेपाली साहित्यको विकासमा मोतीराम भट्टको योगदानको चर्चा गरे । मोतीराम भट्टले भानुभक्तलाई आदिकविको रुपमा प्रकाशमा ल्याएको उनको भनाइ थियो ।

कार्यक्रमका अध्यक्ष तथा आयोजक विद्यालयका प्रधानाध्यापक बालमुकुन्द कार्कीले मोतीराम भट्टको स्मरण गर्दै विद्यार्थीहरुलाई नेपाली साहित्यतर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको बताए । हरेक वर्ष मोती जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमको ११ औं श्रृङ्खलासम्म आइपुग्दा आफु उत्साहित भएको र यसलाई निरन्तरता दिने कार्कीको भनाइ थियो ।

***


© People to People Media 2016. All rights reserved.