Tue, 21st Nov 2017

कविता: बाढीको त्रासदी

भलाकुसारी | Published on 2017-08-21 |

- पुष्पा गुरुङ


बाढी है आयो नेपालमा साथी विनाश बोकेर

कस्तो है चोट दिएर गयो दाग नै छाडेर

कतिको मन खुम्चियो होला प्रकोपको डरले

आवाज सानो आँउदा नि तर्स्यो त्रसित मनले

 

खोसेर लगिदियो है सारा आशा र उमङ्ग

सोचेर जब बस्छु ती कुरा हुन्छु है झसङ्ग

अरबौं धन करोडौं जन परे है नेपालमा

के गरी निको हुन्छ है घाउ लागेको छातीमा ।।

 

हिमालबाट आँशुको खोला बग्यो है कसरी

नेपाली दाजुभाइको मुटु काम्यो है बेसरी

बगायो घरबार टुट्यो है मन नेपालवासीको

के आयो ? भन्न नपाउँदै पार्‍यो सखाप धर्तीको ।।

 

फाटेको धर्ती फुटेको मन कसरी जोड्ने हो

जन्मेर हुर्की खेलेको आँगन कसरी छोड्ने हो

मोतीका बाली के गरी अब गह्रामा लाउने हो

रोकेर आँशु ओठमा हाँसो कसरी छाउने हो ।।

 

बगेको छैन मनको आस्था घरबार बगे नि

मेरको छैन जोश र जाँगर शरीरै मरे नि

म मेरो देश बनाउँछु वेश विकासले भरेर

अँध्यारो फाल्ने छु एकदिन प्रकाश छरेर ।।

(रिडर्स इन्टरनेशनल मोडल स्कुलद्वारा १५२ औं मोती जयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय आशु कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कविता । गुरुङ रिपुमर्दिनी सैनिक माविमा अध्ययनरत विद्यार्थी हुन् ।)

***


© People to People Media 2016. All rights reserved.