Tue, 21st Nov 2017

राष्ट्रवादको नाममा डर देखाएर राष्ट्रको संरक्षण हुँदैन: गिरी

कुनै गुट विशेषले यही हो राष्ट्रवाद भन्न थाल्यो भने राष्ट्रको सुरक्षाका नाममा उसले विघटन जन्माउँछ

भलाकुसारी | Published on 2017-08-21 |

संविधान संशोधन विधेयकमाथि सोमबार व्यवस्थापिका संसदमा भएको छलफलमा नेपाली काङ्ग्रेसका सांसद
प्रदीप गिरीले व्यक्त गरेको विचार 

सभामुख महोदय,

माइकको साटो क्यामरापट्टि जान थालेको देखेर केही साथीहरु हाँस्नुभयो । अलिकति बुढो त भएको छु, तर त्यति पनि भएको छैन । क्यामेरा ठीक छ कि छैन, बाहिर देखाउने हो कि होइन भनेर निरीक्षण गर्न गएको थिएँ म ।

यहाँ बोलिएका कुराहरु सिङ्गो मुलुकले थाहा पाउन जरुरी छ । क्यामेरा र टेलिभिजन दुरुस्त हुन जरुरी छ । र, दैनिक हामीले आज के-के छलफल गर्दैछौं, सबै कुराको जानकारी सिङ्गो राष्ट्रले पाउन जरुरी छ । संसद वा कुनै पनि विधायिका सरकार बनाउने थलो मात्र होइन । विभिन्न प्रश्नमा संसद र विधायिका बाँडिएको छ, विभाजन छ । एकापट्टि एकथरी, अर्कापट्टि अर्काथरी बस्नुहुन्छ । उहाँहरु सबैका आफ्ना तर्क छन्, मूल्य छन्, मान्यता छन् ।

आजको यस पुस्तामा आफ्नो मूल्य मान्यताका लागि सबैले ज्यान हत्केलामा राखेर हिँडेको समूह पनि छ । उहाँहरु किन विभाजित हुनुहुन्छ ? हामी किन विभाजित छौं ? यो कुरा सिंगो नेपाललाई सुसूचित गराउने यस संसदको दायित्व हो । संविधान संशोधनको प्रश्नमा जुन कुरा हामी सुन्दैछौं, त्यसको खास पृष्ठभूमि पूर्ववक्ता विमलेन्द्र निधिले भनिसक्नु भयो । त्यहाँ कमरेड (केपी) ओलीजीको हस्ताक्षरसमेत छ भनेर देखाइ सक्नुभयो । यो सिंगो देशले हेर्न जरुरी थियो । तर, त्यति मात्र होइन, त्यसै सिलसिलामा राष्ट्रको कुरा आएको छ, राष्ट्रवादको कुरा आएको छ, राष्ट्र विद्रोहको कुरा आएको छ ।

पार्टीगत कुरा राजनीतिमा सधैँ हुनेगरी सत्तासंघर्षको विषय हो । त्यसमा म कहाँ उभिएको छु, मैले सभामुखलाई बताउनु परेन । तर, कुरा त्यति मात्र छैन । बातैपिच्छे राष्ट्र र राष्ट्रवादको जुन कुरा हामी गरिरहेका छौं, त्यहाँ शायद एकोहोरो कुरा गरेर हुँदैन । राष्ट्र भन्ने जुन प्रश्न छ, निश्चय नेपाली काङ्ग्रेसका लागि मात्रै चिन्ताको विषय छैन । एमालेका लागि पनि छ, माओवादी केन्द्रका लागि पनि छ, सबै पार्टीका लागि चिन्ताको विषय छ । राष्ट्र एउटा गतिशील धारणा हो । राष्ट्रका बारेमा अनेकौं विचार बदलिन्छन् ।

नेपालमा राष्ट्रवादका लागि बीपी कोइरालाले जस्तो दुःख कसैले पाएनन्, संघर्ष पनि कसैले गरेनन् । अगाडि बीपीका सुपुत्र हुनुहुन्छ, उनै बीपी कोइरालाले राष्ट्रिय कांग्रेसको स्थापना अधिवेशनमा के भौगोलिक, के सांस्कृतिक, के राजनीतिक, के आर्थिक दृष्टिकोणले नेपाल र भारत अभिन्न छ ? भनेर २००३ सालमा भन्नु भएको थियो । उही बीपी कोइराला ५० वर्षपछि आउँदा हाम्रो राष्ट्रिय शक्ति महत्वपूर्ण रहेछ, यसको स्वायत्तता महत्वपूर्ण रहेछ, यसलाई हामी उत्तर, दक्षिण, पूर्व र पश्चिम चारैतिरबाट जोगाउन पर्छ भनेर साङ्केतिक रुपमा भन्न भ्याउनु भएको थियो । यो हामीले बिर्सिनु हुँदैन । त्यसैले राष्ट्रको कुनै निश्चित परिभाषा हुँदैन । राष्ट्रलाई कुनै गुट विशेषले, समूह विशेषले यही हो राष्ट्रवाद भन्न थाल्यो भने राष्ट्रको सुरक्षाका नाममा उसले विघटन जन्माउँछ ।

राष्ट्रका बारेमा कुनै निश्चित परिभाषा हुँदैन । राष्ट्रका लागि भाषा पनि महत्वपूर्ण हुन्छ, संस्कृति पनि महत्वपूर्ण हुन्छ, भूगोल चाहिन्छ । तर, तपाईहरुलाई थाहा छ, भूगोल नभएका पनि राष्ट्र छन् । लामो समयसम्म यहुदीहरुको आफ्नो राष्ट्र नै थिएन । आज पनि यहुदीहरुको संघर्षमा भाग लिएका प्यालेस्टेनीहरुको आफ्नो भौगोलिक राष्ट्र छैन । भूगोलबिना पनि राष्ट्र बाँच्न सक्छ, भाषाबिना पनि बाँच्न सक्छ । भाषाले मात्र पनि बाँच्दैन । पाकिस्तान विघटनको कहानी तपाईंहरुलाई थाहै छ । अब पनि पाकिस्तानमा के हुनेवाला छ, बंगलादेशमा के हुनेवाला छ, हामीलाई थाहा छैन ।

राष्ट्रका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा सिंगो संसदले नोट गरोस् सँगसँगै बस्ने, सँगसँगै बाँच्ने, सँगसँगै डुब्ने र सँगसँगै पार हुने इच्छा हो । राष्ट्रका बारेमा सबैभन्दा पहिलो ऐतिहासिक ग्रन्थ लेख्ने व्यक्तिले आजभन्दा डेढसय वर्ष पहिले लेखेका थिए, सबै परिभाषा दिन्छु, भाषा पनि चाहिन्छ, जाति पनि चाहिन्छ, इतिहास पनि चाहिन्छ, ऐतिहासिक स्मृति पनि चाहिन्छ । तर,सँगसँगै बस्ने तिमीहरुको इच्छा र आकांक्षा छ कि छैन? त्यो सबैभन्दा बढी चाहिन्छ भनेका थिए । म के भन्न चाहन्छु भने यो संशोधन पास हुन्छ, हुँदैन थाहा छैन । म संशोधनको पक्षमा भोट दिन्छु । तर, कांग्रेस तर्फबाट र सरकारका सहयात्रीहरुको तर्फबाट यो संशोधन सिंगो राष्ट्रलाई सन्देश हो । यो सरकार तीन करोड नेपाली जनतासँग सँगै बसेर, सँगै डुबेर, सँगै पौडी खेलेर बाँच्न चाहन्छ । यो संशोधनको अरु अर्थ छैन । यसको धारा धाराको अर्थ छैन । एउटै अर्थ छ, हामी तीन करोड नेपाली छुटि्टन चाहँदैनौं । छुट्याउने शक्ति, छुट्याउने तत्वलाई यो एउटा कडा जवाफ हो ।

छुट्याउँछु भन्ने मान्छे पनि छन् । नामै लिन्छु, गोइतजी हुनुहुन्छ, राउतजी हुनुहुन्छ । यसलाई छुट्याउन दिन्नौं, छुट्याउन दिन्नौं भनेर छुटि्टन नचाहने शक्तिलाई पनि त्यही समूहमा गाभ्न चाहने शक्ति पनि राष्ट्रवादको खेल खेलिरहेका छन् । जल्ले छुटि्टन चाहन्छु भने भने, हामीलाई मतलब छैन । शान्तिपूर्ण ढंगले तिनको पनि समना गरौंला । ए बाबा, हामी छुटि्टन चाहँदैनौं, हामी सँगै बस्न चाहन्छौं भन्ने समूहलाई राष्ट्रवादको नाममा औलो देखाउने समूहलाई यो संशोधन जवाफ हो । संशोधनको मर्म मैले यसरी बुझेको छु । सत्ता संघर्ष त चलिरहन्छ, शेरबहादुरजी पनि गर्नुहुन्छ, कम हुनुहुन्न । प्रचण्डजी झन् सिपालु हुनुहुन्छ, अल्पमत भएर बहुमतको नेतृत्व गर्नुभयो । ओलीजी किन पछि हट्ने ? यसमा मलाई आप्पत्ति छैन । तर, राष्ट्र, राष्ट्रवाद र राष्ट्रघातको नाममा डर देखाएर, खतरा देखाएर, आतङ्क देखाएर एउटा ठूलो समूहलाई झन् पर बनाएर राष्ट्रको संरक्षण हुँदैन । राष्ट्र विनाशपट्टि जान्छ ।

जाँदा जाँदै एउटा कुरा भन्न चाहन्छु, अहिले  यहाँ बाँधको कुरा उठ्यो । भारतले आफ्नो पक्षमा बाँध लगाएकाले नेपाल डुबानमा परेको छ भनिन्छ । मलाई त्यसको प्राविधिक पक्षको ज्ञान छैन । हो होइन, म यसै भन्न सक्दिनँ । तर, त्यो हुँदै होइन, भारतले त्यसै गरेको छैन भन्ने जरुरत कांग्रेसलाई छैन । त्यो हो भने प्रधानमन्त्रीले जिम्मेदारीपूर्वक बुझेर त्यसका तथ्य बुझेर अवश्य भारत सरकारसँग कुरा उठाउनुपर्छ, उठाउनुहुन्छ भन्ने मलाई विश्वास छ । तर, राष्ट्रवादका नाममा भारतले हात्ती पठाइदियो,भारतले गोमन साँप पठाइदियो, भारतले भुइँचालो पठाइदियो भन्ने प्रवृत्ति गरेर राणाकालीन र महेन्द्रकालीन राष्ट्रवादले कल्याण गर्दैन ।

चीनले पनि कल्याण गर्दैन, भारतले पनि कल्याण गर्दैन । यो जिम्मेदारीपूर्वक हामीले आज बुझ्नुपरेको छ । हाम्रो यो मजबुरी छ । हामी भारतको छिमेकमा छौं । चीनको छिमेकमा छौं । यदि हामीले चाहेको भए अमेरिकाकै छिमेकमा बस्थ्यौं होला, त्यो पनि क्युबा जस्तो कि ब्राजिल जस्तो बस्थ्यो आज भन्न सकिँदैन । त्यसको पनि तपाईंलाई पनि थाहा छ । त्यसैले प्रत्येक विपत्तिलाई अवसर बनाउनु पर्छ । महान राजनीतिज्ञ त्यो हो, जसले विरोधीले फ्याँकेको ढुङ्गालाई जम्मा गरेर घर बनाउँछ ।

यदि भारतले आज विपत्ति दिएको छ, चीनले आज बाटो तोडेको छ भने यस अवसरबाट हामीले फाइदा उठाउनु पर्छ ।

***


© People to People Media 2016. All rights reserved.