Sat, 21st Apr 2018

'राष्ट्रिय स्रष्टा सम्मान' राजेन्द्र थापालाई

'वर्ष गीत पुस्तक पुरस्कार' स्थगित । यसै वर्षदेखि ‘प्रवासमा स्रष्टा–डायस्पोरा’ सम्मान प्रदान गरिने ।

भलाकुसारी | Published on 2017-08-21 |

गीतकार संघ नेपालले यसवर्षको 'राष्ट्रिय स्रष्टा सम्मान' गीतकार राजेन्द्र थापालाई प्रदान गर्ने भएको छ । भदौ १३ गते आयोजना हुने कार्यक्रममा थापालाई नगद १ लाख १ रुपैया सहित सम्मान गरिने छ ।

संघका अध्यक्ष चुडामणी देवकोटाका अनुसार सोही दिन ५ औँ 'राष्ट्रिय स्रष्टा सम्मान', वर्ष गीत पुरस्कार तथा डायस्पोरा सम्मान पनि प्रदान गरिने छ । वर्ष गीत पुरस्कारका लागि संघमा दर्ता भएका गीत मध्येबाट उत्कृष्ट १० वटा गीत छनोट गरिएको छ । उत्कृष्ट १० गीतहरुमा विरेन्द्र पाठकको 'आज फेरि', बिरही कार्कीको 'आमाको तस्वीर', डि.आर.को 'उदासी मनलाई', अन्जन किराँतीको 'एउटा सत्य', सुवास संगम राइको 'ऋणै ऋणको', शंकरदेव कँडेलको 'जति नजिक', किरण टी लिम्बुको 'बगी जाने', विमला तुलाचनको 'म मुस्कुराँउछु', नृपध्वज खड्काको 'हातको ठेला', र प्रभा बर्तौलाको 'हिमाल हल्लाउन' रहेका छन् । दशमध्ये एक उत्कृष्ट गीतलाई ५१ हजार नगदसहित वर्ष गीत पुरस्कार प्रदान गरिने छ ।

प्रवासमा बसी नेपाली गीत लेखनमा सक्रिय रहेका गीतकार मध्येबाट एक जनालाई यसै वर्षदेखि ‘प्रवासमा स्रष्टा–डायस्पोरा’ सम्मानबाट नगद ११ हजार सहित सम्मान गरिने संघले जनाएको छ । यसवर्षको 'वर्ष गीत पुस्तक पुरस्कार' भने स्थगित भएको छ । न्यूनतम ३ वटा पुस्तक प्राप्त हुनुपर्नेमा आवश्यक संख्यामा प्राप्त नभएकाले पुरस्कार स्थगन गरिएको संघको भनाइ छ ।

***


© People to People Media 2016. All rights reserved.