Tue, 21st Nov 2017

दुई देशको नियति एक आपसमा जोडिएको छ: मोदी

भारतलाई नेपालको विकास र आर्थिक प्रगतिको प्रयासमा साझेदारी गर्ने सौभाग्य प्राप्त छ

भलाकुसारी | Published on 2017-08-27 |

हिज एक्सिलेन्सी राइट अनरेवल प्राइम मिनिस्टर शेर बहादुर देउवा, विशिष्ट अतिथिगण, मिडियाका साथीहरु,

"भारतको छिमेकी मित्रराष्ट्र नेपालको प्रधानमन्त्री राइट अनरेवल शेर बहादुर देउवाजी र अन्य नेपाली अतिथिगण तपाईंहरुका भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुशी लागेको छ ।"

प्रधानमन्त्री देउवालाई भारतमा स्वागत गर्ने अवसर पाउनु मेरो सौभाग्य हो ।

एक्सिलेन्सी,

तपाईंको यो यात्रा एक यस्तो ऐतिहासिक अवसरमा भइरहेको छ, जतिबेला हामी राजनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छौं । जबकि हाम्रो सम्बन्ध हिमालय जत्तिकै पुरानो हो ।

एक्सिलेन्सी,

हामी दुई देशको नियति एक आपसमा जोडिएको छ । एकआपसको समृद्धि र सुखमा दुवै देशको भागिदारी हुन्छ । हामी एकअर्काको उपलब्धिमा गर्व गर्छौं । ठीक त्यसैगरी, जसरी हामी एकअर्काको पीडाको अनुभव पनि गर्छौं । एक नजिकको छिमेकी मित्रराष्ट्रका हिसाबले भारत नेपालमा शान्ति, स्थायित्व र आर्थिक समृद्धिप्रति हरदम सजग रहन्छ । भारतलाई नेपालको विकास र आर्थिक प्रगतिको प्रयासमा साझेदारी गर्ने सौभाग्य प्राप्त छ ।

एक्सिलेन्सी,

लोकतन्त्रबाट प्राप्त उन्नति, शान्ति स्थापना र सर्वाङ्गीण विकासको लागि नेपाली नागरिकको उपलब्धिको म प्रशंसा गर्दछु । सराहना गर्दछु । म नेपाल सरकारलाई बधाई दिन चाहन्छु, स्थानीय निकायको चुनाव दुई चरणमा सफलतापूर्वक सम्पन्न गरेकोमा । नेपालमा लोकतान्त्रिक व्यवस्था मजबुत बनाउनको लागि यहाँले जसरी व्यक्तिगत तवरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । त्यसको म प्रशंसा गर्दछु । मलाई पूरा विश्वास छ, तपाईंको कुशल र अनुभवी नेतृत्वमा समाजका सबै वर्गसँग वार्ता गर्ने प्रक्रिया जारी राखेर नेपालले आफ्ना सबै नागरिकको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागु गर्न सक्छ ।

साथी हो,

आज प्रधानमन्त्री देउवा र मैले दुई देशको साझेदारीको असीम सम्भावनाबारे निकै व्यापक र सकारात्मक कुराकानी गर्‍यौं । हामीले विभिन्न स्तरमा अलग अलग क्षेत्रमा दुवै देशको सम्बन्ध अघि बढाउन नयाँ मार्ग र नयाँ अवसरप्रति विशेष ध्यान दियौं । म खुशी छु कि नेपालमा भारतको सहयोगमा चलिरहेका विकास परियोजना जस्तै हुलाकी रोड, ट्रान्सबोर्डर पावर ट्रान्समिसन लाईन, इन्टिग्रेटेड चेकपोष्टमा काम भइरहेको छ । आज हामीले संयुक्त रुपमा कटैया-कुशाहा, रक्सौल-परवानीपुर ट्रान्समिसन लाईनको उद्‌घाटन गर्‍यौं । यसबाट भारतले नेपाललाई दिइरहेको लगभग ३५० मेगावाट बिजुलीमा १०० मेगावाट अरु जोडिनेछ । हामीले आर्थिक साझेदारीको विविध आयाममा जस्तै उर्जा, जल संसाधन, कनेक्टिभिटी प्रोजेक्ट र भूकम्पपछिको पुनर्निर्माण कार्यक्रममा सँगै काम गरिरहेका छौं । प्रधानमन्त्री देउवा र म यस कुरामा सहमत भएका छौं कि पहिलेदेखि चलिरहेका हाइड्रोपावर प्रोजेक्टको निर्धारित समयसीममा पूरा गर्न हाम्रो प्रयास अरु बढाइने छ । म खुशी छु, देउवाजीले मलाई बताउनुभयो अरुण-३ को लागि नेपालमा भूमिको मामिला सुल्झिएको छ । म देउवाजीलाई धन्यवाद दिन चाहन्छु । त्यसको शिलान्यासका लागि मलाई निमन्त्रणा दिएकोमा म धेरै आभारी छु । हामी यो कुरामा सहमत भयौं कि पञ्चेश्वर परियोजनाको डिपीआरको अन्तिमरुप दिने प्रक्रियामा पनि तीव्रता आउनेछ ।

नेपालमा आएको बाढीको विषयमा भएको छलफलमा भारतको तर्फबाट हरसम्भव सहायताको प्रस्ताव फेरि दोहोर्‍यायौं । हामी सीमावर्ती इलाकामा बाढी नियन्त्रणको लागि कोअर्डिनेसन र कन्सल्टेसन अरु मजबुत पार्नेछौं । र, एकअर्काको हितलाई ध्यानमा राखी यसको दीर्घकालीन समाधानबारे सोच्ने छौं । दुई देशबीच व्यापार र लगानी बढाउनेबारे पनि सहमति भयो । यो केवल दुई देशको नागरिकको हितको लागि मात्रै नभएर क्षेत्रीय समृद्धिको लागि समेत धेरै आवश्यक छ । नेपाली जनता र नेपाल सरकारको प्राथमिकतालाई ध्यानमा राख्दै नेपालको विकासमा आफ्नो साझेदारी बढाउन भारत पूर्ण प्रतिबद्ध छ । यस उदेश्यप्राप्तिको लागि हामी इकोनोमिक कनेक्टिभिटी अथवा डेभलपमेन्ट प्रोजेक्टबारे सहमत भयौं । जसमा नेपालको राष्ट्रिय प्राथमिकता छ । भारतको अनुदान सहायता अन्तर्गत धनगढीमा टेक्निकल इन्स्टिच्युट, जीपी कोइराला नेसनल सेन्टर फर रेस्पिरेटरी डिजिजको स्थापनाको लागि सैद्धान्तिक सहमति भयो । मलाई खुशी छ, आज जुन सहमति भयो त्यसमध्ये चारवटा भुकम्पपछि पुनर्निर्माण कार्यको लागि भारतको तर्फबाट भएको १ बिलियन डलर सहयोगको प्रतिबद्धता अनुसार अघि बढ्नेछ । रक्षा क्षेत्र र सुरक्षामा सहयोग हाम्रो साझेदारीको एक महत्वपूर्ण पहेलु हो । हाम्रो सुरक्षा हित एकआपसमा निर्भर र जोडिएको छ । हाम्रो खुला सीमानाको दुरुपयोग रोक्नको लागि दुवै देशको सुरक्षाको लागि डिफेन्स र सेक्युरिटी एजेन्सीको बीचमा क्लोज कोअपरेसन अहम् विषय हो । हामी यस विषयमा सहमत भयौं कि बौद्ध अथवा रामायण टुरिजम सर्किट विकास गरी स्किल डेभलपमेन्ट र क्यापासिटी-बिल्डिङ इनिसियटिभ्सको माध्यमले पिपुल टु पिपुल रिलेसनको अझै बिस्तार गर्नुपर्छ ।

एक्सिलेन्सी,

तपाईंको यो यात्राले परस्परको सहयोगको हाम्रो प्रयासलाई अरु गतिशीलता दिनेछ । मलाई विश्वास छ हाम्रो आजको छलफल र सम्झौता (जसमा हामीले सहमति जनायौं)ले हाम्रो दुईपक्षीय सम्बन्धमा एक नयाँ उर्जाको सञ्चार गर्नेछ ।

यिनै शब्दका साथ एक्सिलेन्सी, म तपाईं र तपाईंको साथमा आएका शिष्टमण्डलको भारतमा पुन: एकपटक स्वागत गर्दछु । मलाई आशा छ, तपाईंको भारत भ्रमण सुखद रहनेछ ।

धेरै धेरै धन्यवाद!

(भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दिएको मन्तव्यको अनुवाद)

***


© People to People Media 2016. All rights reserved.