Tue, 21st Nov 2017

बडादसैँ प्रारम्भ, राष्ट्रपतिद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा शुभ साइतमा घटस्थापना

भलाकुसारी | Published on 2017-09-21 |

नेपालीको महान् पर्व बडादसैँ प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व बिहीबारदेखि सुरु भएको हो ।

बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिनमा घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको दिनदेखि दसैँ घरमा देवी दुर्गाको पूजा आरम्भ हुन्छ ।

घटस्थापनाको दिन नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जमरा राख्ने चलन छ । यसरी राखिएको जमरा दुर्गा देवीलाई चढाएर विजयादशमीको दिन टीकाप्रसादसँगै लगाइन्छ । कुल परम्परा र स्थानीय चलनअनुसार जौसँगै अन्य अन्नसमेत रोपी जमरा बनाउने चलन छ ।

प्रतिपदाका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी देवी दुर्गाको पूजा आराधना गरिने भएकाले यो दिनलाई घटस्थापना भन्ने गरिएको हो । यो दिनमा स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ ।

पञ्चाङ्ग निर्णायक समितिले दिएको शुभ साइतमा बिहान ९ बजेर ४१ मिनेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा घटस्थापना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

***


© People to People Media 2016. All rights reserved.