Tue, 21st Nov 2017

बादलको दोस्रो एल्बम 'पानी पानी' (भिडियोसहित)

बादललाई देखेर इर्ष्या लाग्यो: लक्ष्मण शेष

भलाकुसारी | Published on 2017-09-22 |

उदीयमान गीतकार एवं संगीतकार बादल घिमिरे नयाँ एल्बम ‘पानी पानी’लिएर आएका छन् । यो उनको दोस्रो एल्बम हो ।

हालै राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा बादलको एल्बम ‘पानी पानी’सार्वजनिक गरियो । संगीतकार सुरेश अधिकारी , संगीतकार लक्ष्मण शेष गीतकार, डा. नवराज लम्साल , गीतकार रमेश पौडेल लगायतका अतिथिले एल्बम सार्वजनिक गर्दै समीक्षा गरेका थिए ।

सो अवसरमा संगीतकार सुरेश अधिकारीले बादल घिमिरे राम्रो सम्भावना बोकेको संगीतकार भएको बताउँदै उनको भर्सेटाइल व्यक्तित्वको चर्चा गरे । संगीतकार लक्ष्मण शेषले बादलको संगीतप्रतिको लगावको मुक्तकण्ठले प्रसंशा गर्दै बादललाई देखेर इर्ष्या लागेको उल्लेख गरे । गीतकार डा. लम्सालले एल्बममा समावेश गीतहरूले नेपाली मनलाई छुनसक्ने विश्वास व्यक्त गरे । घिमिरेले संगीतकर्मी कल्याणकारी कोषलाई रू. ५०००/- नगद सहयोग हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बादलले आफु संगीतप्रतिको मोहकै कारण नेपालमा अडिएको स्मरण गरे । 'विदेश पलायन हुने हुटहुटी नचलेको होइन', उनले भने, 'तर, मैले संगीतप्रति लहसिएकै कारण देश छोड्ने आँट गरिन ।' वर्तमान परिवेशमा युवाहरु विदेश पलायनको क्रम चलिरहेकोमा अग्रजहरुको प्रेरणाले आफु नेपालमै रहेको उनको भनाइ थियो ।

कार्यक्रममा 'अलि अलि...' र 'तिम्रो तस्वीर…'  बोलका दुई गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरियो । एल्बममा रहेका गीतमा घिमिरेको संगीतमा राजेश पायल राई, राज सिग्देल,रूपक डोटेल, रजिना रिमाल,  गोपाल ज्ञवालीको स्वर रहेको छ । 'डा. सा'ब...' बोलको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । एल्बमको बजार व्यवस्थापन चमेरो म्युजिकले गरेको हो ।

हेर्नुहोस्, भिडियो

***


© People to People Media 2016. All rights reserved.