Mon, 11th Dec 2017

'शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन' कार्यक्रम सुरु

प्रहरी र नागरिकको समन्वयको लागि महत्वपूर्ण कार्यक्रम: आइजिपी अर्याल

भलाकुसारी | Published on 2017-09-22 |

‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ कार्यक्रम प्रारम्भ भएको छ । गृहमन्त्री जनार्दन शर्माद्वारा उदघाटन गरिएको सो कार्यक्रममार्फत मानव बेचबिखन, ठगी, लागूपदार्थ दुर्व्यसनजस्ता अपराधको बारेका पूर्व जानकारी लिई त्यसलाई नियन्त्रण गर्न सजिलो अवस्था सिर्जना हुने बताइएको छ ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले राज्यले जनताको सेवा गर्ने दायित्व पुरा गर्ने पहिलो औजार प्रहरी संगठन भएको धारणा व्यक्त गरे । समाजमा घटने लागूऔषध कारोबार, गुण्डागर्दी, महिला हिंसा, लुटपाट लगायतका घटनामा प्रहरीले निरन्तर कार्य गरे पनि यस्ता घटना अझै भइरहेको सन्दर्भमा पूर्वसूचना प्राप्त गरी अपराध नै हुन नदिने वातावरण सिर्जना कुरालाई प्राथमिकतामा राखी ‘प्रहरी हाम्रो टोलमा’ भन्ने नाराकासाथ सो  कार्यक्रम तयार पारिएको शर्माको भनाइ थियो ।
सामुदायिक प्रहरीको विकसित स्वरुपमा लागू गर्न खोजिएको यो कार्यक्रम शहरी क्षेत्रमा महत्वपूर्ण र सफल हुने समेत गृहमन्त्री शर्माको विश्वास छ ।

गृहसचिव लोकदर्शन रेग्मीले प्रहरीको कार्यशैलीमा नयाँ प्रयोग गरी जनता र प्रहरी दुवैले जित्ने अवस्था सिर्जना गर्नुपर्ने र त्यसका लागि उक्त कार्यक्रम तयार पारिएको उल्लेख गरे । कार्यक्रमका लागि आवश्यक साधनस्रोतको व्यवस्था गृह मन्त्रालयले गर्ने सचिव रेग्मीको भनाइ थियो ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सामुदायिक प्रहरी सेवामा नयाँ आयाम थपिएको बताउँदै प्रहरी र नागरिकको समन्वयको लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताए । सकारात्मक राय सुझावले सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्नेमा अर्यालको जोड थियो ।

यस कार्यक्रम अन्तर्गत एक प्रहरी एक टोल वा एक निश्चित क्षेत्र नक्साङ्कन सहितको कार्यक्षेत्र तयार पारिने र सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रहरी चौकी तथा उक्त स्थानमा रहेका जनप्रतिनिधि लगायत समुदायसहितको समाजमा हुने घटनाहरुको पूर्वसूचना प्राप्त गर्नका लागि नागरिक प्रहरीको संयुक्त संयन्त्र ‘नागरिक सुरक्षा समन्वय समिति’ निर्माण गरिनेछ ।

***


© People to People Media 2016. All rights reserved.