Mon, 11th Dec 2017

बडादसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाअर्चना

विजयादशमीको टीका-प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा

भलाकुसारी | Published on 2017-09-23 |

आज बडादसैंको तेस्रो दिन । आश्विन शुक्लपक्षको पन्ध्र दिन मनाइने यो पर्व प्रतिपदाका दिन घटस्थापना गरी  देवी दुर्गाको आव्हान र पूजासँगै प्रारम्भ हुन्छ ।

नौ दिनसम्म देवी दुर्गाको नौवटा रुपको पूजा आराधना गरी दशमीको दिन टीकाप्रसाद ग्रहण गर्ने चलन अनुरुप विजयादशमीअघिका नौवटा तिथिलाई नवरात्री वा नवदुर्गासमेत भन्ने गरिन्छ ।

आश्विन शुक्ल पक्षको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजाअर्चना गरिन्छ । नवरात्रीको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाअर्चना गरिन्छ ।

देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या, बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसवर्ष घटस्थापना असोज ५ गते, फूलपाती असोज ११ गते, महाअष्टमी असोज १२ गते, विजया दशमी असोज १४ गते र  कोजाग्रत पूर्णिमा असोज १९ गते परेको छ ।

विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी बिसर्जन गर्ने शुभ साइत रहेको छ भने टीका-प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा छ ।

***


© People to People Media 2016. All rights reserved.