Mon, 10th Dec 2018

विकासमा नागरिकको चासो जरुरी

Published on 2018-11-27 |

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विकास निर्माणका हरेक क्रियाकलापमा नागरिकको चासो हुनुपर्ने बताउनुभएको छ ।


दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ स्थित भैरव मावि डौँसुरको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नगरपालिका र प्रदेश सरकारको साझेदारीमा डौँसुरवासीले भोग्दै आएका खानेपानीको समस्यालाई समधान गरिनेछ ।”

सभामुख शाहीले भैरव माध्यमिक विद्यालयलाई नमूना विद्यालय निर्माण गर्न प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न व्यावसायिक शिक्षाको खाँचो रहेको बताउनुभयो । पूर्वसांसद ललिता रेग्मीले सो विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउन सुझाव दिनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाहले स्थानीय सरकारले सीपमूलक शिक्षातर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले चरित्रवान् र श्रमलाई सम्मान गर्ने जनशक्ति उत्पादनका लागि नगरपालिकाले स्थानीय पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गर्न लागिएको जानकारी दिदैं गुणस्तरीय शिक्षाका लागि शिक्षकले लिएको कक्षा सङ्ख्या, अनुशासन, नियमितता, विषयगत उत्तीर्णाङ्कका आधारमा पारदर्शीरुपमा दण्ड तथा पुरस्कारको नीति अवलम्बन गर्ने नीति नगरपालिकाले अगाडि सारेको धारणा व्यक्त गर्नुभयो ।

यस क्षेत्रमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न कर्णाली नदीबाट पानी तान्नका लागि डिपिआर तयार भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

***


© People to People Media 2016. All rights reserved.