Mon, 10th Dec 2018

भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

Published on 2018-11-27 |

भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौँै भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ ।


भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ भन्ने विषयमा छलफल हुने समाजका अध्यक्ष भीम रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी शब्दको प्रयोग कसरी गर्ने, खास अर्थमा शब्दलाई कसरी परिभाषित गर्ने भन्नेमा पनि छलफल हुनेछ । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, हङकङ (चीन), अस्ट्रेलिया, अमेरिका, जर्मनी र फ्रान्सका गरी २०० भाषाविद्को सहभागिता छ ।

सम्मेलनमा भाषाविद्ले अनुसन्धान गरी ल्याएका अनुसन्धानमाथि छलफल हुने उहाँले जानकारी गराउनुभयो ।

सम्मलेनको पहिलो दिन राष्ट्रिय भाषा आयोगका उपसचिव गणेश भट्टराई र काठमाडौँ विश्वविद्यालयका प्रा बालचन्द्र लुइँटेलले नेपालको सरकारी कामकाज भाषा निर्धारणका आधारहरु के हुन सक्छन् भन्ने विषयमा, किल विश्वविद्यालयका जर्मनका प्राध्यापक जोन पिटर्सनले पूर्वी दक्षिण एशियाको प्राग–इतिहाससम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

सम्मेलनमा भाषासम्बन्धी १०२ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । समाजले हरेक वर्ष भाषाको प्रयोगबारे छलफल गर्नका लागि सम्मेलन गर्दै आएको छ ।

***


© People to People Media 2016. All rights reserved.