Sat, 21st Apr 2018

इसान कप फुटबल-२०७४ फागुन ४ देखि

सातौं इसान कप फागुन ४-७ गतेसम्म राजधानीमा आयोजना हुने

भलाकुसारी | Published on 2018-02-13 |

इसान कप फुटबल प्रतियोगिताको सातौं संस्करण फागुन ४ गतेदेखि हुँदैछ । संस्थागत विद्यालय संघ नेपाल (इसान)ले हरेक वर्ष काठमाडौं जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । इसान कप काठमाडौ जिल्लाव्यापी, माध्यमिक विद्यालयस्तरीय खुला फुटबल प्रतियोगिता हो ।

इसानका अध्यक्ष बालमुकुन्द कार्कीका अनुसार सातौं इसान कप फुटबल प्रतियोगिता फागुन ४-७ गतेसम्म राजधानीमा  आयोजना हुनेछ । यसवर्षको प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फको सहभागितामा वृद्धि हुने आयोजकको भनाइ छ । गतवर्षको सम्पन्न प्रतियोगितामा छात्र र छात्रातर्फ गरी क्रमश: २८, १६ वटा विद्यालय सहभागी भएका थिए ।

यसवर्ष प्रतियोगितामा सहभागी हुने विद्यालयको संख्या चार दर्जनको हाराहारी पुग्ने इसानका महासचिव भीम दर्लामीको अनुमान छ । 'यस संस्थाको गतिविधि संस्थागत विद्यालयहरुको हकहित र विद्यार्थीहरुको क्षमता विकास तथा प्रतिभा प्रस्फुटनमा केन्द्रित छ' महासचिव दर्लामीले भने, 'हामीले इसान कप फुटबल प्रतियोगिता विगत ६ वर्षदेखि निरन्तर गर्दै आइरहेका छौं । विगतमा इसान कपका प्रतियोगी खेलाडीहरु राष्ट्रिय टिमसम्म पुग्न सफल भइसकेका छन् ।' विभिन्न संघसंस्थाको सहकार्यले फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै दर्लामीले यसवर्ष सहकार्य झनै मजबुत र शसक्त हुने विश्वास व्यक्त गरे ।

छैटौं संस्करण च्याम्पियन रिम्स र नेपालय

इसान कपको छैटौं संस्करण (२०७३ फागुन १५ देखि २१) सानो गौचरणस्थित खेल मैदानमा सम्पन्न भएको थियो । सो प्रतियोगिताको फाइनल खेलमा छात्रतर्फ रिम्स स्कुल र छात्रातर्फ नेपालय विजयी भएका थिए । 

छात्रतर्फ रिम्स र एकता जेम्सबीचको प्रतिस्पर्धामा २-१ को गोल अन्तरले रिम्स स्कुल इसान कप-२०७३ च्याम्पियन हुन सफल भयो । छात्रातर्फ नेपालयले र छाहारी स्कुलमाथि १-० को गोल अन्तर बनाउँदै प्रतियोगिताको उपाधि चुम्न सफल भएको थियो ।

***


© People to People Media 2016. All rights reserved.