Fri, 14th Dec 2018

पोखरामा ‘नथिया’

माघ २० गते काठमाडौँमा सार्वजनिक भएको कृतिको दोस्रोपल्ट पोखरामा 'गृह विमोचन' गरिएको हो ।

Published on 2018-02-13 |

सरस्वती प्रतीक्षाको पहिलो उपन्यास कृति ‘नथिया’पोखरामा सार्वजनिक गरिएको छ । माघ २० गते काठमाडौँमा सार्वजनिक भएको कृतिको दोस्रोपल्ट पोखरामा 'गृह विमोचन' गरिएको हो ।

कविका रुपमा स्थापित साहित्यकार प्रतीक्षाको उपन्यास कवि तीर्थ श्रेष्ठले 'गृह विमोचन' गरे । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले अध्यक्षता गरेको कार्यक्रममा कृतिको समीक्षा गर्दै लक्ष्मण श्रेष्ठले नथियाले नेपाली साहित्यमा लामो समयसम्म प्रभाव जमाउन सक्ने धारणा व्यक्त गरे । वादी समुदायको विवशतालाई उपन्यासकारले गहिराइमा पुगेर अध्ययन गरी प्रस्तुत गरेको श्रेष्ठको भनाइ थियो । पत्रकार जमुना शर्माले नथियाले पाठकलाई एकतमासले तान्ने बताइन् । पोखराले सरुभक्तको पागलबस्तीपछिको उत्कृष्ट कृतिको रुपमा नथिया पाएको प्रमुख अतिथि तीर्थ श्रेष्ठको भनाइ थियो ।

उपन्यासकारले वादी महिलाहरुको विद्रोहबाट प्रभावित भएर कृतिको सिर्जना गरेको बताइन् । वादी महिलाहरुले सिंहदरबारअघि ब्रा र पेटीकोट लगाएर गरेको आन्दोलनबाट प्रभावित भएर १० वर्षअघि नै कृतिको गर्भाधान भएको उनको भनाइ थियो । उपन्यासकार बन्ने सपना पूरा गर्न नथिया लेखेको बताउँदै प्रतीक्षाले उपन्यास यौटा कृतिमात्र नभई प्यासनको दस्तावेज पनि भएको उल्लेख गरिन् । ‘यो लेखनलाई लिएर मेरो पागलपन मिसिएको छ, केही अठोट र इरादाहरु मिसिएका छन्, एउटी स्वास्नीमान्छेले लेखनका लागि जुन उत्सर्ग गर्न सक्छे, त्यो मिसिएको छ, चाहेर नचाहेर मैले चुकाएका मूल्यहरु मिसिएका छन् र समर्पणभाव र प्रेमका कोलाजहरु मिसिएका छन्’ प्रतीक्षाले भनिन्, ‘यसअघि नथिया मेरी मात्र थिई, तपाईँहरु सबैको भयाकी छे ।’

कृतिका प्रकाशक भूपेन्द्र खड्काले आफूले प्रकाशन गरेका कृतिमध्ये नथिया आफूलाई सबैभन्दा मन परेको बताउनुभयो । सरस्वती प्रतीक्षाका ३ ओटा कविता सङ्ग्रह प्रकाशित छन् ।

***


© People to People Media 2016. All rights reserved.