Sun, 27th May 2018

उपन्यास कृति 'उल्झन'बारे राजेश हमाल

मानिसको जीवन 'सिंगल म्याराथुन रेस' होइन । विभिन्न रेस मिलेको सँगालो हो

भलाकुसारी | Published on 2018-02-15 |

मैले यो कृति मोटामोटी पढेँ । यसमा उहाँले आफ्नो परिवेश, आफुले भोगेको कालखण्ड, आफुसँग ठोकिएका विभिन्न व्यक्तिहरुको भावना परिस्थितिलाई नै चित्रण गर्नुभएको छ । असाध्यै यथार्थ हिसाबले प्रस्तुत गर्नुभएको छ ।

उहाँले जीव र जीवनलाई, भावनालाई, विभिन्न कालखण्डले निम्त्याएको परिस्थितिलाई, समेटेर पुस्तक लेख्नुभएको छ । जीवन 'लिनियरली' चल्दैन । जीवनमा अनेक किसिमका घुम्तीहरु आउँछन् । ती हरेक घुम्तीहरु एकआपसमा नितान्त फरक हुन्छन् । कुनैको पनि एकापसमा 'लिङ्क-अप' हुनु जरुरी छैन ।

मानिसको जीवन 'सिंगल म्याराथुन रेस' होइन । विभिन्न रेस मिलेको सँगालो हो । विभिन्न कथाहरुको कथा हो जीवन । हरेक कथा आ-आफ्नै परिवेशको, आफ्नै किसिमको र परिस्थितिको हुन्छ । आफैमा एउटाको सुरुवात हुन्छ र अन्त्य हुन्छ । उहाँले किताब त्यही हिसाबले लेख्नुभएको छ । कहाँबाट सुरु हुन्छ, कहाँ अन्त्य हुन्छ र बीचमा के हुन्छ ? मान्छे आफैलाई थाहा हुँदैन । त्यो युद्धमा होमिएको योद्धाले कल्पना पनि गरेको थिएन होला उसको लास खाडी मुलुकबाट बाकसमा आउँछ भनेर । अर्को पात्र रेखाको पनि एक ठाउँबाट सुरुवात र अन्त्य अर्कै कारणले हुन्छ । मान्छेको जीवन यस्तै हो । त्यसले जीवनमा रोचकता पनि भरिदिन्छ ।

कहिलेकाहीँ 'एब्स्ट्रयाक्ट' पनि छ । अलिकति 'एब्स्ट्रयाक्ट' किसिमले आफ्नो कुराहरु, भनाइ, दर्शन अगाडि ल्याउनुभएको छ । विभिन परिस्थितिलाई प्रतिबिम्वित गरेका पात्रहरु उभ्याउनुभएको छ । जो पात्रहरु हामी सबैजनासँग घुलमिल नभए तापनि एकदम नजिकको, सामीप्यबाट चिन्ने, आत्मीयता, आदर आदान-प्रदान गर्ने मौका नपाए पनि पुस्तकको माध्यमबाट ती सबै पात्रका भावनाहरु, पात्रहरुमाथि घटेका घटनाहरुको कारणले अपनत्व महसुस गर्दछौं । कहिलेकाहीं आफ्नो विचार, आफ्नै भावना कुनै न कुनै तरिकाबाट प्रतिबिम्वित भएको पनि पाउँछौं । मैले पनि त्यही पाएँ ।

त्यहाँ धेरै परिवेशहरु छन् । जुन परिवेश मलाई प्रत्यक्ष अवगत थिएन । कहिलेकाहीँ हाम्रो परिवेशमा पनि त्यस्तो भइरहेको छ भन्ने महसुस गरेको थिएँ । यो पुस्तकमा जसरी उहाँले विभिन्न पात्रहरुको भावनालाई प्रस्तुत गर्नुभएको छ, त्यो प्रत्यक्ष महसुस नगरेको व्यक्तिले पनि पुस्तक पढिसकेपछि कहिलेकाहीं गएर 'आइडेन्टीफिकेसन' गर्छ र पाठक आफै गहिराइमा गएर डुब्ने सम्भावना धेरै छ ।

उहाँले विभिन्न कालखण्डको प्रतिनिधित्व धेरै राम्रोसँग गर्नुभएको छ । 'नोस्टाल्जिक' तरिकाले विभिन्न भावनाको उतारचढावमा जानुभएको छ । यो बदलिँदो परिवेशमा कतिपय त्यस्ता परिस्थितिहरु, जीवनशैलीहरु लोप हुँदै पनि गइरहेका छन् । आजको 'जेनेरेसन'ले त्यसलाई प्रत्यक्ष महसुस नगरेको पनि हुनसक्छ । ती परिस्थितिहरु एक समयमा नेपाली समाजको, नेपाली जीवनको अभिन्न अङ्ग थियो । त्यो समयबाट गुज्रेको व्यक्तिले महसुस गरेकै हुन्छ र आफ्नो मानसपटलको 'लाइब्रेरी'मा त्यसलाई सुरक्षित हिसाबमा राखेको हुन्छ भन्ने कुरालाई पुस्तकमा राम्रोसँग उजागर गर्नुभएको छ ।

यौटा पाठकको हिसाबले मलाई मनपर्ने कथाहरु यस्तै हुन् । सीधा हिसाबले भन्दा पनि विभिन्न समय, विभिन्न चरित्रको प्रतिनिधित्व गर्दै समाजमा भएका विभिन्न मुद्दालाई उजागर गरेर ती मुद्दाहरुले निम्त्याएको भावनात्मक असरलाई उजागर गरेका कथा मलाई मनपर्छ ।

हेम प्रभासले जीव र जीवनलाई नजिकबाट बुझ्ने प्रयास गर्नुभएको छ । जीवन के हो त ? जीवनको माने के हो ? भन्ने खोजीमा हामी लागिरहेका हुन्छौं र त्यसको एउटा ठोस अर्थ कहीँ पनि पाउँदैनौं । त्यसलाई अर्थ्याउने काम हामी आफैले गर्नुपर्छ । जीव र जीवनको अर्थ गहिराइबाट पहिल्याउने कोशिस पनि उहाँले गर्नुभएको छ ।

(राजेश हमालको मन्तव्यको सम्पादित अंश । फोटो: फेसबुकबाट)


***


© People to People Media 2016. All rights reserved.