Sun, 27th May 2018

हामी आफुले आफैलाई बिर्सिरहेका छौं-१

ज्योतिषशास्त्र भनेको खगोलको अध्ययन हो । ग्रह, नक्षत्र र ताराहरुको अध्ययन हो

यशु श्रेष्ठ | Published on 2018-02-15 |

मरेको मान्छेको पछि लागेर गएको सातो गाउँकै प्रसाद झाँक्रीले फर्काइदिएपछि रोगबाट मुक्त भएको उच्चशिक्षा हासिल गर्न सम्भव भएको बताउने डा. जगमान गुरुङ आफ्नो धर्म-संस्कृतिप्रति अत्यन्तै आस्थावान हुनुहुन्छ ।हाम्रो संस्कार र परम्परामा विशेष झुकाव राख्ने डा. गुरुङ व्यवहार, व्यक्तित्व र आचरणबाटै राष्ट्र र राष्ट्रियताप्रति हुरुक्क भएको देखिन्छ । एउटै कोणबाट डा. गुरुङको व्यक्तित्वलाई चिन्न गाह्रो छ । कुशल प्रशासक, प्राज्ञ, प्राध्यापक, अनुसन्धाता, लेखक, संस्कृतिविद्, इतिहासकार, फलित ज्योतिषी,धार्मिक गुरुमात्रै नभएर कर्मठ,सरल र उदार हृदयसहितको  स्पष्टवक्ता व्यक्तित्व डा. गुरुङको परिचय हो । धर्म र जातियता बजारको विषयजस्तो बन्न पुगेको यो समयमा आफ्नो पहिचान र राष्ट्रवादको आवाजलाई बुलन्द पार्नुपर्ने उहाँको स्पष्ट विचार छ ।

साबिक लमजुङहाल कास्की जिल्लाको याङ्जाकोट, कोटालेटोलको कोटघर पैतृक थलो रहेका डा. गुरुङको जन्म माली गाउँ कास्कीको लामाडाँडामा भएको हो । आमा जोगमाया गुरुङको कोखबाट वि.सं. २००४ साउन २४ गते शुक्रबार जन्मिएकाउहाँले पिता शेरजङ्ग गुरुङबाट घरैमा कखरा सिक्ने मौका पाउनुभयो । डा. गुरुङले २०३० सालमा प्रधान नेपाली र प्राचीन इतिहास तथा संस्कृति विषयमा बि.ए. पास गरी २०३६ सालदेखि नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा एम.ए अध्ययन गर्दै सन् २००९ मा 'A Study on Sino-Tebetan Astrological System Among the Gurungs of Gandaki Region in Western Nepal' शीर्षकमा विद्यावारिधि गर्नुभयो ।

प्रस्तुत छ, राष्ट्रलाई आ–आफ्नो क्षेत्रबाट केही न केही योगदान दिनु प्रत्येक नागरिकको परम कर्तव्य हो भन्ने डा. गुरुङसँग यशु श्रेष्ठले गरेको भलाकुसारी:

तपाईँ इतिहास र संस्कृति विषयमा कसरी आकर्षित हुनुभयो ?

विभिन्न कारण सुरुमा प्रशासनिक काममा हात हालेको भएपनि मेरो रुचि संस्कार र संस्कृतितिर नै थियो । यसो हुनुमा मेरो पारिवारिक पृष्ठभूमिको ठुलो हात छ । यसैबारे विधिवत् अध्ययन गर्ने निर्णय निकै पछि गरेको भएपनि सोधखोज र चासो पहिलादेखि नै थियो ।

मेरो जेठाबाको घर र हाम्रो घरको धुरी,पाली र आँगन जोडिएको छ । जेठाबा बिहानभरि आफ्नो घरको पिंढीमा बसेर हेरकोर गर्नुहुन्थ्यो । तन्त्रमन्त्र गर्ने र जन्त्र लेख्नु हुन्थ्यो । उहाँको सङ्ग्रहमा मभन्दा आठपुस्ता अघिका हाम्रा पुर्खा चामु क्ह्रोँगि लामा गुरुङले वि.सं. १८५२ मा लेखेको तन्त्रमन्त्रको सङ्ग्रह भएको जन्त्रवती नामक एउटा पुस्तक थियो । त्यसैको आधारमा उहाँले विभिन्न रोग निवारण गर्न मानिस र पशुको लागिसमेत जन्त्र लेख्नुहुन्थ्यो ।

कहिलेकाहीँ बिहानै र प्रायःजसो खाना खाएपछि दिउँसो आँगनमा कचहरी हुन्थ्यो । यो परम्परा पहिलेदेखि नै थियो । उहाँ गाउँको प्रधानपञ्च पनि हुनुभयो । त्यसपछि त कचहरी र लेखापढीको काम अझ बढ्यो । ठुल्ठुला कचहरीहरु गाउँको चौतारामा गरिन्थ्यो । बेलुका खाना खाएपछि इतिहासको कुरा चल्थ्यो । सरकारी कर्मचारीहरु आएमा ऐन, कानून र मुद्दा मामिलाका कुराहरु हुन्थे। जेठाबाको घर परिवार नभई एउटा संस्था जस्तो थियो । मैले चाहेर पनि नचाहेर पनि ती कुराहरु सुनेँ, देखें । यसरी त्यसप्रति मेरो पनि चासो बढ्दै गयो ।

पछि मैले प्राचीन इतिहासविषय लिएर बीएपढेँ । बीएको जाँच दिएर रिजल्ट नहुँदै मैले गुरुङ गाउँको अध्ययन गर्ने मौका पनि पाएँ । राविसे लागू हुनुभन्दा पहिले सामाजिक सेवा अन्तर्गततत्कालीन श्री ५ को सरकारले विश्व विद्यालयलाई कहिले-कहिले पैसा दिँदो रहेछ । त्यतिखेर क्याम्पस हैन कलेज भनिन्थ्यो । विश्व विद्यालयले विभिन्न कलेजहरुलाई त्यो पैसा पठाउँदो रहेछ ।

कलेजका शिक्षकहरुले त्यहाँका विद्यार्थीलाई लिएर सामाजिक सेवाका लागि गाउँ-गाउँ जानुपर्ने रहेछ । सामाजिक सेवामा मलाई माया गर्ने शिक्षक हुनुहुन्थ्यो, गणेशमान पालिखे । उहाँले मलाई पनि लिएर जानुभयो । हामी गुरुङ गाउँ सिक्लेसमा गयौं । त्यसबेला मैले गरेको कामले शिक्षक अत्यन्तै प्रभावित हुनुभयो ।

आफ्नो वंशपरम्परादेखि चल्दै आएको ज्योतिषशास्त्र र तन्त्रविद्याको अपुताली पार्न भएन, पितृले सराप्ला भनेर त्यस दिशातिर बढी चासो राख्न थालेँ ।

बीएपास गरेपछि म उहाँसँगै काम गर्दै थिएँ । यसै सिलसिलामा वि.सं. २०३१ मा पृथ्वीनारायण क्याम्पस, शिक्षा सङ्कायको सहायक प्रशासक पदमा नियुक्त भएँ । केहीपछि विकेन्द्रीकरणको नीति लागू भयो । त्यसैअनुसार मानविकी सङ्कायको डीन कार्यालय पोखरामा स्थापना भयो । प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना मानविकी तथा सामाजिकशास्त्र अध्ययन संस्थानको डीनमा नियुक्त भएर पोखरा आउनुभयो ।

प्रशासकको नाताले डीन कार्यालयको लागि कर्मचारी नियुक्त गर्दा मैले उहाँलाई सहयोग गरेको थिएँ । मेरो व्यवहार र अनुसन्धानप्रतिको रुचिबाट उहाँ प्रभावित हुनुभएछ । त्यसकारण उहाँले मलाई तपाईँ अनुसन्धानमा रुचि भएको मान्छे,नेपाल र एशियाली अनुसन्धान केन्द्रमा मेरो साथी प्रा. डोरबहादुर विष्ट हुनुहुन्छ, तपाईँ काठमाडौं गएर अनुसन्धान गर्नुहोस् भनेर काठमाडौं पठाइदिनुभयो ।

२०३५ सालको चैत्रमा म काठमाडौं आएँ । नेपाल र एशियाली अनुसन्धान केन्द्रमा आएपछि कार्यकारी निर्देशक प्रा.डोरबहादुर विष्टले मलाई इतिहासविद् धनबज्र बज्राचार्यको मातहतमा रहेर अनुसन्धानको काम गर्न लगाउनुभयो । मेरो अध्ययन अगाडि बढाउन पनि मद्दत गर्नुभयो । मैले वि.सं. २०३६ देखि नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा एमए पढ्न थालेँ । यसरी म इतिहास र संस्कृतिको विषयमा गहिरिँदै गएँ ।

फेरि ज्योतिषशास्त्रको अध्ययन चाहिँ किन ?

माथि भनिएझैँ यसमा पनि मेरो पारिवारिक पृष्ठभूमिको ठुलो हात छ । मेरा जेठाबाकहाँ कास्की, मान्द्रेढुङ्गाका रुद्र गिरी गुरु बराबर आइरहनु हुन्थ्यो । रुद्र गिरी गुरु ज्योतिष, तन्त्र र आयुर्वेदका ज्ञाता हुनुहुन्थ्यो । घरमा ठुलाबडा, नाता-कुटुम्ब र इष्टमित्रहरु आएमा रीति-थिति  र त्यही अनुसारको कुरा हुन्थ्यो । मलाई यी सब कुराहरुले गहिरो प्रभाव परिरहेको थियो ।

राशिफल हचुवाको भरमा बताइने फल होइन । हिसाब गरेर, अध्ययन गरेर बताइने फल हो । यदि यी सबै कुराहरुलाई विचारेर बताइन्छ भने सही हुन सक्छ ।

मेरा बा २०३९ सालमा दिवङ्गत हुनु भयो । जेठाबा पनि वृद्ध भइसक्नु भएको थियो । मैले पनि एमए उत्तीर्ण गरिसकेको थिएँ । आफुले पढेको विषय, घरको परम्परा र आफ्नो इच्छा सबै कुरा मिल्यो । त्यस कारण आफ्नो वंशपरम्परादेखि चल्दै आएको ज्योतिषशास्त्र र तन्त्रविद्याको अपुताली पार्न भएन, पितृले सराप्ला भनेर त्यस दिशातिर बढी चासो राख्न थालेँ ।

पत्रपत्रिकामा राशिफल छापिन्छन्, रेडियो-टीभीमा सुनाइन्छ । बाह्रवटा राशिको फल यति धेरै व्यक्तिहरुका निमित्त सही हुन सक्छ ?

व्यक्तिको जन्मसाल, महिना, दिन, तिथि, मिति, घडी, पला आदिआदि सम्पूर्ण कुराहलाई अध्ययन गरिसकेपछि राशि तोकिन्छ । व्यक्ति जन्मँदा कसरी जन्मेको छ ? यसले पनि राशिफलमा असर गर्छ । अचेल त अस्पतालमा बच्चा जन्माइन्छ, खाटमा जन्माइन्छ, बच्चाले भूस्पर्श गर्नै पाएको हुँदैन । यसले पनि राशिफलमा असर गरिरहेको हुन्छ ।

ज्योतिषशास्त्र भनेको खगोलको अध्ययन हो । ग्रह, नक्षत्र र ताराहरुको अध्ययन हो । त्यसको भुईँमा कस्तो असर परिरहेको छ ? त्यसले बालकमा कसरी असर गरिरहेको छ ? आदि कुराहरुले अत्यन्तै प्रभाव पारिरहेको हुन्छ । फेरि राशिफल बताउने व्यक्तिको सिद्धिले पनि फरक पर्न सक्छ ।

राशिफल हचुवाको भरमा बताइने फल होइन । हिसाब गरेर, अध्ययन गरेर बताइने फल हो । यदि यी सबै कुराहरुलाई विचारेर बताइन्छ भने सही हुन सक्छ ।

राशिफलमा विश्वास राख्नु त आफ्नो जीवन भाग्यको भरमा छोड्नुजस्तो भयो होइन र?

राशिभनेको भाग्य होइन । यसले त भएको कुरा बताउने हो । मैले माथि नै भनिसकेँ, यो खगोलको अध्ययन हो । खगोलको भूगोलमा, भूगोलको प्राणीमा, वनस्पति, जड पदार्थ आदिमा कस्तो प्रभाव पर्छ? भन्ने अध्ययन र फलादेश हो । तिम्रो जीवनमा यस्तो यस्तो हुँदै छ भन्ने कुरो यसले बताउँछ । कतिखेर गर्भाधान भएको छ ? मानिस जन्मँदा पूर्व क्षितिजमा कुन लग्नको उदय भएको छ ? यस्ता कुराहरुले चाहिँ यसमा प्रभाव पर्दछ । मानिसको जीवनका भूत, वर्तमान र भविष्यलाई चिरफार गरेर ज्योतिष विज्ञानले बताउन सक्छ । तर, यो बताउने मानिसको सिद्धि, त्यसप्रतिको आस्था, लगनशीलता, इमान्दारी सबैकुरामा भर पर्छ ।

(क्रमश...)

***


© People to People Media 2016. All rights reserved.