Tue, 17th Jul 2018

पुरुषले धान्दैन समाजको इज्जत ?

तीसको दशकतिर लेखिएको कथादेखि अहिलेसम्म महिला हिंसाको कुरा किन यति धेरै आइरहेको छ ?

भलाकुसारी | Published on 2018-02-17 |

सञ्जीवनी उपन्यास मूलत: यौटी आवाजविहीन पात्र पूजाको आत्मानुभुतिमा केन्द्रित रहेर उसको प्रथम पुरुष लेखनशैलीमा प्रस्तुत आख्यान हो ।

यसमा पूजाको बाल्यकालदेखि ३ दशकको समय समेटिएको छ । स्याङ्जा हुँदै काठमाडौंसम्म र विभिन्न घटनाका सन्दर्भमा कथाको परिवेश विदेशसम्म पुगेको छ । पूजाको बाल्यकालीन जीवनदेखि सधैं हिंसामा बितेको छ ।

नेपाली समाजमा नारी हिंसा किन वृद्धि भइरहेको छ ? साँच्चै यस्तो छ त ? म यस्तो परिवेशमा हुर्किएँ कि पुरुष पात्र त्यस्तो हुन्छ भनेर कहिल्यै कल्पना गर्न चाहिनँ । विवाहपछि पनि घरको सुखद वातावरणले त्यो कल्पना गरिनँ । तर, पत्रपत्रिकामा पढेका खबरहरुले बारम्बार तर्साउँछन् । दिनदिनै होशै गुमाउने गरी खबरहरु आउछन् ।

के साँच्चै समाजमा संवेदना मर्दै गएको हो ? यस्ता कुराहरु हुन त पहिल्यैदेखि थिए । मिडियाले गर्दा बाहिर आइरहेका छन् । यी कुरालाई मत्थर गर्न हामीले आवाज उठाउनै पर्छ । यस्तै कार्यक्रमहरुबाट यस्तै विभिन्न मुद्दाबाट आवाज उठाउनै पर्छ ।

नारी हिंसाको यो रुप एकोहोरो यसरी आइरहेको छ । तीसको दशकतिर लेखिएको कथामा पनि यस्तै हिंसाको विषय छ । त्यहाँदेखि अहिलेसम्म बलात्कारसँग जोडिएको महिला हिंसाको कुरा किन यति धेरै आइरहेको छ ?

उपन्यास लेखन सधैं यही कुरामा किन केन्द्रित भइरहेको छ ? महिलाका अरु समस्याहरु धेरैधेरै अगाडि छन् तरपनि यो समस्या झन्-झन् विकराल हुँदै गइरहेको छ ।

नेपाली समाजा हाम्रा पिताहरुजस्ता, महेश पौड्यालजस्ता युवा पुरुषहरुको पनि समाज हो । तर, किन महिला हिंसा भोग्न बाध्य छन् त ? आज पनि महिलाको अवस्था किन त्यत्तिकै निरीह छ त ?

पूजाको जीवन सधैं हिंसामा छ । पूजाकी आमा आफ्नो पतिको वैवाहिक यौनहिंसामा मजाले परेकी छ । पूजाले सानैदेखि यो कुरा थाहा पाएकी छ । पूजाकी भाउजुको अवस्था पनि त्यस्तै छ । नभएका कुराहरु होइनन् । भएकै कुराहरु किन यसरी बढिरहेका छन् ? किन न्युनीकरण हुन सकिरहेको छैन ? किन संवेदनाहीन हुँदैछ समाज ? कारण मलाई पनि थाहा छैन । यस्तै आवाजहरुले यी कुरालाई मत्थर गराउँदै जालान् भन्ने मेरो अपेक्षा हो ।

लेखकले आवाजविहीन यौटी नारीको आवाज प्रस्तुत गर्ने प्रयास गर्नुभयो । मैले देखेको छु, नेपाली समाजमा अपाङ्ग सन्तान हुनेबित्तिकै बाबु-आमाले निकै चिन्ता लिएको । घर नै झन्डै तहस-नहस भएको । कसैले अति राम्रोसँग स्याहार गरेको पनि देखिन्छ । अब उहाँको लेखन फरक क्षमता भएका व्यक्तिहरुतिर केन्द्रित भए हुन्थ्यो भन्ने मेरो अपेक्षा छ ।

यहाँ पूजाको जीवनसँग जोडिएका अरु महिला पात्र पनि हिंसामा परेका छन् । शिवा उसको पतिबाट बलात्कृत भएकी छ । पूजालाई समाजका सचेत व्यक्तिले मुद्दा दर्ता गर्न जाउँ भनेर कत्ति सम्झाउँछन् तर कुनैपनि हालतमा ऊ तयार हुन्न । त्यो वास्तविकता समाजमा अहिले पनि छ । किन छ त ? किनभने इज्जत भनेको महिलासँग मात्रै छ । उनीहरुको शरीरसँगमात्रै जोडिएको छ । किन ? पुरुषले धान्दैन समाजको इज्जत ?

सधैं यिनै कुराहरु दोहोर्‍याइ रहनुपर्ने कस्तो बिडम्वना । आदरणीय पुरुष पात्रहरुको अगाडि यो कुरा बोलिरहँदा आफैलाई पनि साह्रै नरमाइलो लागिरहेको छ । यो कृतिको सबै खण्डमा नारी हिंसाको विषय छ । हिंसामा जतिसुकै परेपनि मिलेर बस भन्ने जुन दबाव छ महिलालाई, इज्जत तिम्रो कारणले मात्रै धानिन्छ भन्ने जुन दबाव छ, त्यो किन भइरहेको छ ? म बुझ्न सक्दिन । त्यो दबाव पूजाले पनि झेलेकी छ ।

नारी अस्मिताको मात्रै कुरा किन ? इज्जतको मात्रै कुरा किन ? इज्जत बचाउनुपर्छ भन्नेमात्रै कुरा किन ? लेखकले यो नभनेको भएपनि हुन्थ्यो जस्तो लाग्यो ।

कसै न कसैसँग विवाह गर्नैपर्ने । सम्झौता गर्नैपर्ने । के नारीको जीवन विवाह नभए चल्दैन हो ? प्राकृतिक जीवन नचल्ला । सन्तान उत्पत्ति नहोला । तरपनि नारी एक्लै सक्षम त भइहाल्छे नि! कहींकहीं मलाई यस्ता पंक्तिहरुले छोएका छन् । मेरा आदरणीय अभिभावक र मायालु पुरुष आफन्तहरुको चरित्र कहीं नभेट्दा पनि यो कुरा मलाई बिझेको छ ।

(लेखक ढकालले कल्पना श्रेष्ठ 'कलापुञ्ज'को उपन्यास 'सञ्जीवनी' विमोचन कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश)

***


© People to People Media 2016. All rights reserved.