Mon, 10th Dec 2018

फेसबुकभित्र, फेसबुकबाहिर

हामी फेसबुकमा बाहिरका सारा कुरा अटाइदिन्छौं । बाहिर हुँदा फेसबुककै कुराले दिन कटाइदिन्छौं ।

भद्रगोल शर्मा | Published on 2018-02-22 |

आधुनिक युगमा विज्ञान-प्रविधिको विकाससँगै अनेक रङ्ग र ढङ्गका आविष्कारहरु भएका छन् । तिनैमध्येको यौटा अद्‌भुत चीज इन्टरनेट हो भन्दा कोही रिसाउनेवाला छैन ।

इन्टरनेटको विकाससँगै टिम बर्नर्स ली नाम गरेका महोदयले डब्लुडब्लुडब्लुको विकास गरिदिएपछि उल्का भयो । यसैको उपयोग गर्दै इन्टरनेटको दुनियाँमा काइदा काइदाका चीजहरु विकास भएका हुन् । इन्टरनेट चलाएरै लाहुरेहरुले मुग्लानबाट, परदेशीहरुले परदेशबाट, एनआरएनहरुले एबोर्डबाट उतिखेरै आफ्ना कुरा परिवार, इष्टमित्रसम्म पुर्‍याउन पाएका छन् ।

कहिल्यै सोचेको न सम्झेको । हामी चिठीपत्रको जमानाबाट एक्कासि यता हुत्तिन पायौं । हाम्रो जिन्दगी यति छिट्टै यता हुत्तिएला भन्ने कसैले सोचेकै थिएन । साइँली आमैले अम्रिकामा जन्मेको नातिको मुख हेर्न रहर गर्दा इन्टरनेटले नै देखाइदिन्छ । उता न्वारान गराउने पण्डित नहुँदा यतैबाट काम चल्छ गजबै भएको छ ।

परदेशबाट चिठी आउने कुरा कथा भैसक्यो । टेलिफोनमा ज्वाइँसा’बलाई स्वस्ति गरेका किस्सा इतिहास भैसके । याहु मेसेन्जर समेत एकादेशको भैसक्यो । जनमानसमा त्यसको धुमिल सम्झनामात्रै बाँकी छ । यो फेसबुक भन्ने जिनिस बनेपछि अचेल मान्छे यसैको वरिपरि फनफनी घुमिरहेजस्ता लाग्छन् । एक प्लेट चिकेन चाउमिन खायो, फेसबुकमा । एक डेढ किलोमिटर यता-उता गर्‍यो फेसबुकमा ।

उता पश्चिमतिर केके हुन्छ कुन्नि हाम्रातिर भने यौटा पोस्ट सेयर गरे करोडपति भइने खबरदेखि मनाकामना माताको सन्देशसमेत फेसबुककै बाटो भएर आउँछन् । कसैको तुजुक हेर्नुपर्‍यो फेसबुकमा चियाए पुग्छ । कसैको मजबुरी, दु:खेसो, गथासो बुझ्नुपर्‍यो, फेसबुक हाजिर छ । केटाकेटी जन्मिन नभ्याउँदै फेसबुकमा टाँस्नको हतारो हुन्छ ।

हामी नेपालीले घरमा चोर बोलाउनेदेखि पिज्जा र नाना-चाचासम्म अर्डर गर्ने बाटो यही फेसबुक भएको छ । कसैको शक्ति हेर्नुपरे यतै हेर्दा हुन्छ । फेसबुकमा ‘पङ्खा’को सङ्ख्या र भक्तको भीड गनेर मान्छेको हैसियत सित्तैमा बुझ्न पाइन्छ ।

मान्छे दिनभर फेसबुककै निमित्त मसलाको शिकारमा हिँडेजस्ता देखिन्छन् । यसकै ध्याउन्नमा समाजमा अनेक घटना, दुर्घटना र परिघटनाहरु घटिरहेकै छन् । पुलिसको टाउको खाने फेसबुक, सज्जनको टाउको दुखाउने फेसबुक । नामीहरुले नाम कमाउने थलो यही । क्या काइदाको चीज!

समाजका सामान्यजनदेखि मै हुँ भन्ने सज्जन, विद्वान-पढन्तेसम्मका हाउ-भाउ, साथी-संगत, हैसियत, ल्याकत-औकात, पद-प्रतिष्ठा, कर्म-कुकर्म, आनी-बानी, चाल-चलन, रङ्ग-ढङ्ग, खान-पान सबैथोक यतै अटाउने ।

फेसबुक चलाउने मामलामा हामी नेपालीलाई दुनियाँको कसैले भेटाउन सक्दैन । नेपालमा फेसबुक चलाउन सक्ने एकडेढ करोडमात्रै भए तापनि बाँकी दुनियाँको भन्दा धेरै लगाव र मेहनत नेपालीको परेजस्तो देखिन्छ । अचेल हामी फेसबुकमा बाहिरका सारा कुरा अटाइदिन्छौं । बाहिर हुँदा फेसबुककै कुराले दिन कटाइदिन्छौं ।

***


© People to People Media 2016. All rights reserved.