Tue, 17th Jul 2018

बुटवल उपमहानगरपालिकाको आधुनिक भवन बन्दै

Published on 2018-06-22 |

बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने भएको छ । करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण हुने सो भवनमा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लक रहनेछ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले बताउनुभयो ।

बेसमेनसहित चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत रु ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको छ । तर निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा आगामी २०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त भवनमा रहेको अन्डरग्राउण्डमा १०६ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्नेछ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटै सिँढी रहने इन्जिनियर गौतम रौनियारले जानकारी दिनुभयो ।

पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले आज उक्त भवनको शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले बुटवलको बुद्धकालीन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताउँदै भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्नुभयो ।

निर्माण कार्यमा नागरिकको निगरानी र खबरदारी जरुरी रहेको बताउँदै उहाँले संविधानले दिएको अधिकारको प्रयोग गरेर नागरिकसँगको छलफलमा योजना बनाउन सुझाव दिनुभयो ।

नेता पौडेलले तीन तहको सरकारको प्रयासमा विकासको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै विकासका लागि सबैको सोचमा एकरुपता कायम हुनुपर्छ भन्नुभयो ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलवासीको संकल्पअनुसार आवधिक र दीर्घकालीन महत्वका काममा उपमहानगरपालिका केन्द्रित रहेको उल्लेख गर्दै बुटवलको विकासमा सबैसँग हातेमालो गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य लीला गिरी, नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद वामदेव क्षेत्री, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरीलगायतले तोकेको समयमा नै निर्माणकार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०१६ मा स्थापना भएको बुटवलको हालको मूल भवन भने २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवन प्रायः जीर्ण र गएको भूकम्पले चर्किएको अवस्थामा छन् ।

प्रजातान्त्रिक आन्दोलनका अगुवालाई सम्मान

यसैबीच प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरे वापत बुटवल उपमहानगरपालिकाले यहाँका तीनजना नागरिक अगुवालाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा टीकाराम घिमिरे, रामप्रसाद न्यौपाने र राधा घिमिरे पौडेल रहेका छन् । उनीहरुलाई जनही रु ५१ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

सम्मानित हुने घिमिरे प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुटवलका ज्येष्ठ नागरिक तथा कम्युनिष्ट अगुवा हुनुहुन्छ । यस्तै न्यौपाने पनि प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पुराना काँग्रेसका नेता हुनुहुन्छ । त्यस्तै राधा पौडेल पनि विभिन्न राजनीतिक आन्दोलनका सक्रिय नेत्री हुनुहुन्छ । उहाँ हाल अर्बुद रोगबाट ग्रसित हुनुहुन्छ ।

ज्येष्ठ नागरिकको योगदानबाटै बुटवलको समृद्धिको अभियान सफल हुने प्रमुख सुवेदीले बताउनुभयो । (तस्वीर उपलब्ध छ)
–––

***


© People to People Media 2016. All rights reserved.